। हालै अर्जेन्टिनामा भएको राष्ट्रपतीय निर्वाचनमा उग्रदक्षिणपन्थी विचारधाराका टेलिभिजन स्टार हाबिए मिले निर्वाचित भए। दुई साताअघि नेदरल्याण्ड्समा भएको निर्वाचनबाट पनि त्यही विचारधाराका हिएर्ट विल्डरको उदय भयो। अमेरिकामा डेमोक्र्याटलाई विस्थापित गर्दै शासन सत्ता पुन: हातमा लिन उग्रदक्षिणपन्थी विचारधाराकै रिपब्लिकन लागिपरेको छ।
भारतमा हालै सम्पन्न राज्यसभा चुनावमा समान विचारधाराकै भारतीय जनता पार्टीले महत्वपूर्ण तीन राज्यमा जित निकाल्दै लोकसभामा ह्याट्रिकतर्फ उन्मुख छ। सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएयता विश्वभर उग्रदक्षिणपन्थी तथा लोकप्रियतावादी शक्तिप्रति आकर्षण बढेको हो। ल्याटिन अमेरिका, युरोप, एशिया सबैतिर उग्रदक्षिणपन्थी विचारधाराप्रति लोकप्रियता बढिरहेछ।
स्थिर लोकतन्त्र भएको नेदरल्याण्ड्सले यसअघि राजनीतिक अतिवाद स्वीकार गरेको थिएन। उग्रवामपन्थी होस् वा उग्रदक्षिणपन्थी दुवै अतिवाद त्यहाँ अनुमोदन हुँदैनथ्यो। हाल त्यहाँ पनि लोकप्रियतावाद अनुमोदन भयो।
विश्वका धेरै भूभागमा अहिले लोकप्रियतावाद हाबी भइरहेको छ। उदार लोकतन्त्र, धार्मिक सहिष्णुता, राजनीतिक बहुलवादप्रति अविश्वास गर्दै उनीहरू लोकप्रियतावादतर्फ फर्किरहेका छन्। मतदाताको रुझान हेर्दा यस्तो लाग्छ विश्वमा सन् १९३० को दशकको पुनरुत्थान हुँदैछ। दोस्रो विश्वयुद्धपछिको यो समयमा आर्थिक सँगसँगै राजनीतिक संकट निकै गहिरिएको थियो।
विश्वभर उग्रदक्षिणपन्थी विचारधारा तीन कारणले उदाइरहेको अमेरिकन विश्वविद्यालयकी प्राध्यापक सिन्थिया मिलर इद्रिसको बुझाइ छ। ‘उग्रराष्ट्रवाद, आप्रवासनको विरोध र मुस्लिमविरोधी जगमा उग्रदक्षिणपन्थी विचारधारा फस्टाइरहेछ’, उनले अमेरिकन युनिभर्सिटीको वेवसाइटमा उल्लेख कुराकानीमा भनेकी छिन् ।
आर्थिक संकट र चरम निराशाबाट गुज्रिरहेको समाजमा यसले छिट्टै प्रभाव छोड्ने भएकाले विश्वभर उग्रदक्षिणपन्थी विचारधारा अनुमोदनको क्रम बढिरहेको उनको बुझाइ छ। ‘उग्रदक्षिणपन्थी विचारधाराले समग्र आर्थिक संकटको दोष सरकारमाथि थोपर्दै सम्भ्रान्त वर्गलाई साधारण मानिसका विरुद्ध खडा गर्छ। एक्लोपन र निराशाबाट गुज्रिरहेका युवापुस्तासँग उसले छिट्टै सम्बन्ध गाँस्छ र उनीहरूलाई मुलुकका लागि योगदान गर्न भन्दै आफ्नो विचारधाराप्रति आकर्षित गराउँछ’, उनी भन्छिन्।
कतिपय विश्लेषकहरूका अनुसार परम्परागत दलप्रति भ्रम सिर्जना गर्दै उग्र-दक्षिणपन्थीहरू शासनमा उदाएको तर्क पनि गर्छन्। युरोपेली नीति केन्द्रमा कार्यरत जेन इम्यानुल्यस युरो न्युजसँग भनेका छन्-‘आप्रवासनसँग सरोकार नराख्ने मुलुकहरूमा मूलभूत रूपमा परम्परागत दलहरूले गर्न नसकेको आर्थिक सुधारको एजेण्डा समात्दै उनीहरूले मतदातालाई रिझाउँछन्।’
यसको उदाहरण भारतमा हालै सम्पन्न राज्यसभा चुनावमा पनि देखियो। भारतीय कंग्रेस नेतृत्वको सरकार भएका राज्यमा मोदीले डबल इन्जिन सरकारका फाइदाबारे मतदातालाई बुझाए भने उनले त्यहाँ आर्थिक र सामाजिक कल्याणका ‘ग्यारेन्टी’ पेश गरेका थिए। समाज कल्याण कार्यक्रममा ‘ग्यारेन्टी’ पेश गरेर मोदीले मतदातालाई रिझाउन सफल भए।
अर्जेन्टिनामा निर्वाचित मिलेले त राष्ट्रिय मुद्रालाई कमजोर बनाउँदै मुलुकको अर्थतन्त्रलाई डामाडोल बनाउने सबैलाई फाल्नुपर्ने नारा नै तय गरेका थिए– ‘सबैलाई फालौं। एउटालाई पनि नछोडौं’, उनको चुनावी नारा थियो।
जनता गरिब हुँदै जाने तर त्यहाँ लिथियम उद्योग चलाउने विदेशीहरू अर्बपति बनिरहने एजेण्डालाई उनले समाते। अर्जेन्टिनालाई गरिबीबाट उठाउने र सबै ऋण तिर्ने उनको घोषणा थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको बैठकमा उनले भनेका छन्, ‘आन्तरिक ऋण होस् वा बाह्य राष्ट्रको सबै ऋण हामी चुक्ता गर्नेछौं। कुनै पनि ऋण बक्यौता हुने छैन।’
युरोपमा उग्रदक्षिणपन्थको बढ्दो बहाव
उग्रदक्षिणपन्थको बहाव सबैभन्दा बढी युरोपमा छ। कोही राष्ट्रवादका कारण, कोही जातिवाद र कोही युरोपेली युनियनबाट बाहिरिने नारा दिंदै सत्तामा आएका छन्। विगतमा राजनीतिक मञ्चमा किनाराकृत उग्रदक्षिणपन्थी दल अहिले मूलधारमा छन्। इटालीमा फासीवादको अन्त्य भएपछि उग्रदक्षिणपन्थी विचारधाराकी जर्जिया मेलोनी प्रधानमन्त्री बनिन्। नेदरल्याण्ड्समा समान विचारधाराकी हिएर्टस् प्रधानमन्त्री बने। अष्ट्रियामा उग्रदक्षिणपन्थी विचारधाराको फ्रिडम पार्टीले लोकप्रिय मत ल्यायो। फिनल्याण्डमा गठबन्धन मार्फत फिन्स पार्टी सत्तामा पुग्यो।
जर्मनीमा एफडीले २० प्रतिशत मत पायो। उग्रदक्षिणपन्थीले यो संख्यामा मत पाएको दशक यताकै पहिलो हो। सन् २०२२ को आम चुनावमा स्विडेनमा उग्रदक्षिणपन्थी विचारधाराको स्विडेन डेमोक्याट्सले २० प्रतिशत मत ल्याउँदा गठबन्धन सरकार निर्माणमा सघायो। फ्रान्समा गत वर्ष भएको राष्ट्रपतीय चुनावमा ३९ प्रतिशत मत सहित उग्रदक्षिणपन्थी विचारधाराकी मरिन लु पेन दोस्रो भइन्।
यता, स्पेनकै कुरा गर्ने हो भने पनि भोक्स पार्टीले सन् २०२३ मा ३४ प्रतिशत मत पाएको थियो। हंगेरीमा पनि उग्रदक्षिणपन्थी विचारधाराका भिक्टर अर्बन सन् २०१० देखि सत्तामा छन्। पोल्याण्डमा पनि समान विचारधाराका डोनाल्ड टस्क सत्तामा उदाए।
युरोपमा युवाहरू उग्र दक्षिणपन्थीप्रति निकै आकर्षित छन्। अष्ट्रिया, जर्मनी, नेदरल्याण्ड्स र स्विडेनका युवाहरूमा उग्रदक्षिणपन्थीप्रति निकै रुझान देखिएको विभिन्न अध्ययनले देखाएको छ। आफूहरूले भन्दा आप्रवासीले बढी सुविधा पाएकोप्रति युवाहरू निकै रुष्ट छन्। त्यसैले आप्रवासीहरू प्रति कठोर नीति लिने प्रतिबद्धता जनाउनेहरूप्रति उनीहरू आकर्षित छन्।
नेदरल्याण्ड्समा विल्डरलाई मत दिएकी एक मतदाताले द गार्डियनसँग भनिन्, ‘मैले विल्डरलाई मत दिनुको अर्थ म जातिवादी होइन। यहाँका नागरिकले भन्दा बढी आप्रवासीले सरकारबाट धेरै सहयोग पाउँदा हामी निकै निराश छौं। विल्डरले भने झैँ मस्जिद प्रतिबन्ध लगाउनुपर्छ भन्ने मेरो मान्यता छैन। तर आप्रवासन नीति भने सुधार हुनैपर्छ भन्ने मान्यता मेरो छ र विल्डरले यसमा कदम चाल्नेछन् भन्ने विश्वास निराश रहेका आम युवा मतदातामा छ।’
युरोपेली परिषद्की जेर्का द गार्डियनसँग भन्छिन्, ‘पूर्वी र दक्षिण युरोपको एजेण्डा फरक–फरक होला तर दुवैतर्फका युवाहरू उग्रदक्षिणपन्थीहरू प्रति आकर्षित रहेको कुरा सत्य हो।’
खराब आर्थिक अवस्थाका कारण निराश युवाशक्तिलाई आर्थिक अवस्थाको सुधार र रोजगारी लगायत आकर्षित नारा दिएर विश्वभर उग्रदक्षिणपन्थीहरू उदाइरहेका छन्। मतदातासँग प्रतिबद्धता जनाए अनुरूप काम गरेमा उनीहरूले केही हदसम्म सुधार समेत ल्याउन सक्छन्। तर अधिकांश उग्रदक्षिणपन्थीहरू लोकतान्त्रिक विधिबाट उदाएर अधिनायकवादी उन्मुख भएका उदाहरण प्रशस्तै छन्। मतदातालाई आकर्षक नारामा लोभ्याएर सत्तामा उदाएका उग्रदक्षिणपन्थीलाई योजना कार्यान्वयनका लागि दबाब नदिने हो भने यसले कालान्तरमा उदारवादी लोकतन्त्र, बहुलवादी राजनीति र सहिष्णु समाजलाई असर पुर्याउने विज्ञहरू बताउँछन्।
ओस्लो विश्वविद्यालयकी प्राध्यापक क्यार्थिनले द रियल न्युजसँग भनेकी छिन्-, ‘उग्रवामपन्थीहरू नारामा मात्रै सीमित भएको अवस्थामा यसले लोकतन्त्रलाई नै सर्वाधिक हानि पुर्याउँछ। लोकतान्त्रिक विधिबाट उदाएका उग्रदक्षिणपन्थीहरू कालान्तरमा अधिनायकवादी भएकै छन्।’
हंगेरीको उदाहरण दिंदै उनी थप भन्छिन्, ‘उदार लोकतन्त्र भएको हंगेरीमा अहिले अधिनायकवादी शासन छ। अल्पसंख्यकको अधिकारमा खलल पुर्याइएको छ। शक्ति सन्तुलनको सिद्धान्तलाई पूर्ण बेवास्ता गरिएको छ। परम्परागत राजनीतिक शक्तिहरू लोकप्रियतावादी दलसँग गठबन्धन गरेर सरकारमा बसिरहेका छन्। परम्परागत दलले उग्रदक्षिणपन्थीलाई नियन्त्रण गर्न नसक्दा लोकतन्त्र र मानवअधिकारलाई सबैभन्दा बढी असर परिरहेछ।’
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा