— इजरायली सेनाकै गल्तीका कारण हमासले बन्धक बनाएका ३ जना इजरायली नागरिक मारिएका छन् । इजरायली डिफेन्स फोर्स गाजाको सेजैयामा भएको लडाइँका क्रममा हमासले बन्धक बनाएका ३ जना मारिएको बताएको छ ।
इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षीय योतम हैम, २२ वर्षीय समीर तलाल्का र २६ वर्षीय एलोन समरिजको मृत्यु भएको हो । उनीहरूलाई 'खतरा' का रूपमा पहिचान हुँदा सेनाले कारबाही गरेको जनाएको छ । इजरायली सेनाले यस घटनालाई अफसोचपूर्ण भनेको छ ।
तीनै जनाको शव इजरायल लगिएको पनि सेनाले जनाएको छ । इजरायली सेनाले बन्धक बनाइएका सबै जनालाई फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी सयौंलाई बन्धक बनाएको थियो । त्यसमध्ये अझै पनि सय जनाभन्दा बढी उनीहरूको कब्जामै गाजामा रहेका छन् । जसमा नेपालको कञ्चनपुरका विपिन जोशी पनि रहेको बताइएको छ ।
हमासको आक्रमणमा परी इजरायलतर्फ १ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै इजरायली आक्रमणमा १८ हजार ८ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। त्यस्तै द्वन्द्वका कारण गाजा क्षेत्रका ५० हजारभन्दा बढी घाइते भएका छन् ।