चिनियाँ कम्युनिस्टसँग भन्नका लागि धेरै कुरा छन्, त्यसभन्दा बढी देखाउनका लागि धेरै काम छन् । त्यसैले अहिले तपाईं कुनै औपचारिक कार्यक्रममा चीन जानुहुन्छ भने तपाईंका लागि मुख्य कार्यक्रमजत्तिकै समय अवलोकन र अध्ययन भ्रमणमा छुट्याइएको हुन्छ ।
नोभेम्बर २८–३०, २०२३ मा चीनको राजधानी बेइजिङमा चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गरेको १३ औं विश्व समाजवाद मञ्चमा भेला भएका ३७ देशका ८० प्रतिनिधिका लागि आयोजकले जति औपचारिक कार्यक्रममा व्यस्त राखे, त्यति नै अनौपचारिक कार्यक्रमम सहभागी गराए । राजधानी बेइजिङदेखि पूर्वी तटीय राज्य फुचियानको फुचाओ र सियामन सहरसम्मका कार्यक्रममा अभिन्न अंग नै थिए– विश्वविद्यालय भ्रमण, इतिहास संग्रहालय अवलोकन, पुरातात्त्विक संग्रहालय भ्रमण, पार्टी निर्माणको इतिहाससम्बन्धी जानकारी ।
चिनियाँ कम्युनिस्ट पार्टीले १०० बर्ष पूरा गरेको अवसरमा बेइजिङमा पार्टीको विशाल संग्रहालय खोलिएको छ । यस संग्रहालयले प्रथमदेखि २० औं महाधिवेशनसम्मका श्रव्य–दृश्य सामग्रीका साथै चिनियाँ कम्युनिस्ट पार्टीको संघर्ष, निर्माण र सत्ताको इतिहासलाई जीवन्त रूपमा देखाउँछ । साथै, अन्तिममा देखाइने अहिले चीन कहाँ छ र अब के चाहन्छ भन्नेबारेमा थ्रीडी भिडिओले संक्षेपमा चीनको महत्त्वाकांक्षा बुझ्न सघाउँछ । पुराना दस्ताबेज, भिडिओ र अडियो सुन्न पाउँदा हामीलाई अर्कै अनुभूति हुन्छ ।
पार्टी संग्रहालय त एउटा उदाहरण मात्रै हो । चिनियाँहरू यतिबेला नयाँ पुस्तालाई आफ्नो संघर्ष र इतिहास बुझाउन चाहन्छन् । चीन निर्माण कति दुःखले भएको थियो भन्ने बुझाउनुलाई उनीहरूले चुनौती ठानेका छन् । अध्यक्ष माओले पौडी खेलेर कसरी याङसे नदी तरे ? लङ मार्चका क्रममा कसरी काम भयो ? सांस्कृतिक क्रान्तिका दौरानमा कसरी ज्यादती भयो ? आजको स्मार्ट पुस्तालाई थाहा हुने कुरै भएन । त्यसैले चिनियाँहरू भन्छन्, ‘हामीले यो बुझाउन सकेनौं भने इतिहास सर्दैन, मर्छ । त्यसैले अबको चुनौती यही हो ।’ ९ करोड ८० लाख सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीलाई हाँकिरहेको ७ सदस्यीय स्थायी समिति, २४ सदस्यीय पोलिटब्युरो र ३ सय ७६ सदस्यीय केन्द्रीय कमिटीको ध्यान नयाँ पुस्तामा केन्द्रित छ ।
यस पटक चीन भ्रमणका क्रममा फुचाओ विश्वविद्यालय, फुचियान पोलिटेक्निक नर्मल विश्वविद्यालय, सियामेन विश्वविद्यालय र हुवासियो विश्वविद्यालयका पार्टी कमिटीका नेता, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीसँग अन्तर्क्रिया गर्दा उनीहरूमा बढिरहेको भावनाबारे नवीकृत हुन पाइयो । चीन धेरै लामो संघर्ष गरेर यहाँसम्म आइपुगेको छ र अब यसले विश्वको नेतृत्व गर्ने बेला आएको छ भन्ने भावना जताततै देखिन्छ । प्रायः बाह्य विषयमा मुख नखोल्ने र आन्तरिक विषयहरूमै कुरा गर्न चाहने बौद्धिक वर्ग खुलेर बोल्न थालेको छ । सी चिनफिङ राष्ट्रपति भएपछि पाठ्यक्रम र पाठ्यपुस्तक बदलिएका छन् ।
हुवासियो विश्वविद्यालयकी प्राध्यापक लिउ वेइवेईले एक्काइसौं शताब्दीमा विश्व समाजवादी प्रवृत्तिमाथि प्रस्तुत गरेको कार्यपत्रमा भारत र नेपालको कम्युनिस्ट आन्दोलनमा यति सटीक टिप्पणी गरिन् कि त्यसबाट उनीहरूमा रहेको गहिरो ज्ञानको दायरा बुझ्न सकिन्थ्यो । आफ्नै भाषामा रमाउने, संस्कृतिको प्रवर्द्धन गर्ने र बाहिरी विश्वबाट अलि टाढा रहने चिनियाँ प्रवृत्तिमा काफी परिवर्तन देखापर्छ । विदेश गएर पढेर फर्किने, आफ्नै देशमा काम गर्ने र विश्वको पहिलो नम्बर हुने आकांक्षामा काम गरिरहेका युवाहरूको संख्या चीनमा बढिरहेको छ ।
चिनियाँहरूले सोच्ने तरिका बदलिएको छ, चिनियाँहरूका आकांक्षा बदलिएका छन् । एकध्रुवीय भनिएको विश्वमा चीन नयाँ ध्रुवका रूपमा उदाएको छ । कुनै बेला युरोपमा र पछि अमेरिकामा सरेको विश्वको केन्द्र चीनकै कारण एसियातिर सर्दै छ । त्यसैले होला, चीनमा पनि विश्वलाई अध्ययन गर्ने, बुझ्ने र नीति बनाउने प्रयोजनका लागि संस्थाहरूको दायरा क्रमशः फराकिलो बनेको छ । साथै, विश्वका प्रायः सबै मुलुक र विख्यात् संस्थामा चीनसम्बन्धी अध्ययन नगरी उनीहरूको अध्ययन पूरा हुने सम्भावना सकिएको छ । बीचमा कोभिडले रोकिएका अन्तर्राष्ट्रिय कार्यक्रमहरू चीनले सुचारु गरेसँगै छलफल, बहस र अन्तर्क्रियाहरू बढेका छन् ।
यसै वर्ष मैले दुईवटा महत्त्वपूर्ण कार्यक्रममा भाग लिन चीन भ्रमण गरें । अघिल्लो पटक अप्रिल र अहिले नोभेम्बरमा दुबै पटक जोड दिइएको विषय हो– जनसमर्थन र जनविश्वासबिना कम्युनिस्ट पार्टी बाँच्न सक्दैन । चीनमा कुनै महत्त्वपूर्ण कार्यक्रम हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले होसियारीपूर्वक नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई बोलाउँछ । यस पटक एमालेका तर्फबाट प्रदीप ज्ञवाली र म थियौं भने माओवादीका तर्फबाट राम कार्की थिए ।
नेपालको सन्दर्भ विश्वका धेरै कम्युनिस्टका लागि आकर्षक छ । तर, पर्याप्त मात्रामा हामीले उनीहरूलाई कुरा बुझाउन सकेका छैनौं । स्वयम् चिनियाँ कम्युनिस्ट र नेपाली कम्युनिस्टले अपनाएको बाटो मिल्दैन । तर, लक्ष्यमा समानता भएकाले यसलाई कार्यनीतिक पृथकताका रूपमा बुझिएको छ । मैले बेइजिङ, फुचाओ र सियामेनमा नेपालको सन्दर्भ राख्दा धेरैले कान ठाढा पारेको पाएँ र त्यसपछि भेट्ने र कुरा गर्नेहरूको जिज्ञासा नै फरक पाएँ । पुस्तकालयमा, साइनबोर्डमा, सीमित व्यक्तिका घरमा र क्लबहरूमा कम्युनिस्ट पार्टी सीमित भइरहँदा दक्षिण एसियाको एउटा कुनामा कम्युनिस्टहरूले आर्जन गरेको जनविश्वासले उनीहरूलाई रोमाञ्चित नगर्ने कुरा भएन ।
समाजवादका बारेमा आआफ्ना व्याख्या छन् । जसरी मार्क्सवादको एक मात्र मोडल हुन सक्दैन, त्यसैगरी समाजवादको पनि एक मात्र मोडल वा तरिका हुन सक्दैन । पक्कै पनि समाजवाद आज रक्षात्मक अवस्थामा छ । कुनै वेला विश्वको आधा जनसंख्या र आधा भूगोलमाथि पकड भएको विचारधारा आज सीमित स्थानमा छ । सन् १९७५ मा लाओसमा जनवादी क्रान्ति सम्पन्न भएयताको करिब आधा शताब्दीमा कुनै पनि मुलुकमा सशस्त्र क्रान्ति सफल भएको छैन, बरु भइरहेका क्रान्तिहरूको पनि दुःखान्त भएको छ । अर्कातर्फ प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीबाट पनि सत्तामा जान सकिन्छ र जनताको हितमा काम गर्न सकिन्छ भनेर जननेता मदन भण्डारीले नेपालमा अघि सारेको जनताको बहुदलीय जनवादअन्तर्गत नेपालबाहेक अन्यत्र निर्वाचनबाट पनि सफलता प्राप्त हुन सकेको छैन ।
यसबीचमा सोभियत संघलगायतका पूर्वी युरोपका देशहरूबाट कम्युनिस्ट सत्ताहरू ढलेका छन् । शान्तिपूर्ण प्रतिस्पर्धाको कार्यनीति लिँदा पनि ती देशहरूमा कम्युनिस्ट पार्टी फस्टाउन सकेनन् । यसबारे ६ महादेशका ३७ मुलुकबाट आएका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले आ–आफ्ना अनुभव सुनाउनु नै पर्याप्त होइन । हाम्रो जोड के रह्यो भने सबैभन्दा पहिले देशभित्र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन सके मात्रै अरूसँग बाँड्नका लागि अनुभवहरू समृद्ध हुन्छन् । यस मामिलामा चिनियाँहरू अगाडि छन् । कम्युनिस्ट पार्टी स्थापनाको १ सय २ बर्ष पार गर्दै गर्दा उनीहरूले चीनको बागडोर सम्हालेको ७५ बर्ष बितिसकेको छ । सन् २०३५ सम्म मध्यमस्तरको समृद्ध चीन बनाउने र कम्युनिस्ट सत्ता आएको सय बर्षमा २०४९ सम्म पूर्ण समाजवादी मुलुक बनाउने ध्येयमा उनीहरू केन्द्रित छन् । त्यसैको एक पाटोका रूपमा उनीहरू विश्वसँग सघन अन्तर्क्रियामा छन् ।
सन् १९६९ अप्रिल १ मा चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ‘चेयरम्यान माओज् क्लोज कमरेड–इन–आर्म्स भाइस चेयरम्यान’ लिन प्याओले ‘एक युगमा एक नेता जन्मिन्छ, यस युगको नेता अध्यक्ष माओ हुनहुन्छ’ भनेर लेख्दा माओ स्वयम्ले सोधेका थिए, ‘यो युग भनेको कसरी छुट्याउने ? हजारौं वर्षको विकासक्रममा कति समयलाई युग भन्ने ? के आधारमा कसैलाई त्यस युगको नेता भन्ने ?’
१ सय ५० ठाउँमा ‘अध्यक्ष माओ’ लेखिएको १ सय ७ पृष्ठ लामो उक्त प्रतिवेदनबाट माथि उल्लिखित प्रसंग हटाइए पनि सय बर्षको कालखण्डलाई एक युग मान्दा आज चीनमा तीन जना नेताको नाम छ– माओत्सेतुङ, देङ स्याओपिङ र सी चिनफिङ । १ सय २ वर्ष पुरानो चिनियाँ कम्युनिस्ट पार्टीले १९ औं महाधिवेशनबाट अघि सारेको र २० औं महाधिवशेनबाट समृद्ध बनाएको नयाँ युगका लागि चिनियाँ विशेषतासहितका समाजवादका सम्बन्धमा सी चिनफिङ विचारधारा (सी चिनफिङ थट अन सोसलिज्म विथ चाइनिज क्यारेक्टरस्टिक्स् फर अ न्यु एरा) आज चीनको मुख्य विषय बनेको छ ।
खडेरीमा वर्षा हुने माटोले पानी मागेझैं समृद्ध हुँदै गएको चीनले बलियो नेतृत्व मागेको छ । जसरी चीनलाई विदेशी उपनिवेश र सामन्तवादबाट मुक्त गर्न माओ र गरिबीबाट मुक्त गर्न देङ महत्त्वपूर्ण सावित भए, त्यसैगरी विश्वको पहिलो शक्ति बनाउन सी सफल हुनेछन् भन्ने आत्मविश्वास चिनियाँहरूमा छ । हरेक क्षेत्रमा चीन कसरी पहिलो हुने भन्ने प्रमुख उद्देश्यसहितको २० औं राष्ट्रिय महाधिवेशनको दस्ताबेज कार्यान्वयन गर्ने योजनामा उनीहरू जुटिसकेका छन् ।