मुख्य समाचार
मार्जिन प्रकृतिको कर्जा बढ्दो
मार्जिन प्रकृतिको कर्जा बढ्दो

: बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर मार्जिन प्रकृति कर्जाको आकार बढ्न थालेको छ। अझ ब्याजदर घट्ने क्रममा रहेको र नेपाल राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि यस्तो प्रकृतिको कर्जा लिन प्रोत्साहन मिलेको छ। उक्त प्रोत्साहनले पछिल्लो समय सेयर बजारले राम्रो गति पनि लिएको देखिन्छ।


यद्यपि राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ कात्तिकसम्मको तथ्यांकअनुसार मार्जिन प्रकृतिको कर्जा ८१ अर्ब १६ करोड ८ लाख रुपैयाँ प्रवाह भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा ७५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ प्रवाह भएको थियो।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो। अहिले यस्तो कर्जा गत असारको भन्दा ४ अर्ब ८५ लाख २५ लाख रुपैयाँभन्दा बढी प्रवाह भएको छ।

करोडमाथिको मार्जिन कर्जा अधिक सामान्यतया बैंक तथा वित्तीय संस्थाबाट पछिल्लो व्यवस्थाअनुसार व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बराबरको मार्जिन कर्जा लिन पाइन्छ। तथ्यांकअनुसार लगानीकर्ताले १ करोड रुपैयाँभन्दा बढी कर्जा लिने अधिक देखिन्छ। कुल मार्जिन कर्जामा ५९.३३ प्रतिशत कर्जा करोड रुपैयाँभन्दा माथिका छन्।

चालू आवको ४ महिनामा अर्थात् कात्तिकसम्ममा १ करोड रुपैयाँभन्दा माथिको ऋण ४८ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ। यसपछि ५० लाखदेखि १ करोड रुपैयाँभन्दा माथिको ऋण ११ अर्ब ८३ करोड ३६ लाख रुपैयाँबराबरको प्रवाह भएको छ। यो कुल मार्जिन कर्जाको १४.५८ प्रतिशत हो।

यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको ऋण १३ अर्ब ८० करोड १५ लाख रुपैयाँबराबरको प्रवाह भएको छ। यो कुल मार्जिनको १७.०१ प्रतिशत हो। यसपछि कुल मार्जिन कर्जाको सबैभन्दा कम २५ लाख रुपैयाँभन्दा कम ऋण रहेको छ। जसमा कुल मार्जिन कर्जाको ९.०८ प्रतिशत अर्थात् ७ अर्ब ३७ करोड ३२ लाख रुपैयाँबराबर प्रवाह भएको छ।

मार्जिन कर्जा प्रवाहको प्रवृत्ति, कुन वर्ष कति ?

पछिल्ला केही वर्षको प्रवृत्ति हेर्दा दुई आर्थिक वर्ष यता बैंक तथा वित्तीय संस्थाको मार्जिक प्रकृतिको कर्जा प्रवाह घटेको थियो। केन्द्रीय बैंकले कडाइ गर्नुअघि आर्थिक वर्ष २०७६/७७ मा ५० अर्ब ४० करोड ९६ लाख रुपैयाँ बराबरको मार्जिन प्रकृति कर्जा प्रवाह भएकोमा आव २०७७/७८ मा ११०.८४ प्रतिशतले बढेको थियो। उक्त प्रतिशतले कर्जा वृद्धि हुँदा वार्षिक १ खर्ब ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो।

तर, राष्ट्र बैंकको ४/१२ करोडको सीमाले कसेसँगै आव २०७८/७९ मा २४.२५ प्रतिशतले घटेर ८० अर्ब ५० करोड ७७ लाख रुपैयाँ मात्रै प्रवाह भएको थियो। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएर सेयर बजारलाई नियन्त्रण गरेपछि सेयर बजार प्रभावित भएको थियो। जसमा मार्जिन प्रकृतिको कर्जामा एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोडको सीमा लागू गर्‍यो।

यसको प्रभावले पुँजीबजार माथी उठ्नै सकेन। २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९८ मा पुगेको नेप्से करिब १४ सय अंकले घटेर १८१८ अंकमा झर्‍यो। यसबीच लगानीकर्ताले धेरै सम्पत्ति गुमाए। राष्ट्र बैंकको सीमाप्रति लगानीकर्ताबाट टिकाटिप्पणी भयो। यसपछि ४ संस्था हटाएर जुनसुकैबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गर्‍यो। अझ पछिल्लो समय केन्द्रीय बैंकले व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड रुपैयाँ बनायो। तर लगानीकर्ता यस्तो क्याप हटोस् भन्ने चाहन्छन्।

पछिल्लो नीतिगत व्यवस्थाले अझै उत्साह बढ्ने

पछिल्लो समय राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक नीतिमा संशोधन गर्दै ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गर्ने घोषणा गर्‍यो। जबकि यसअघि जोखिम भार १५० प्रतिशत थियो। यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई थप ४० अर्बदेखि ५० अर्ब रुपैयाँसम्म कर्जा दिने क्षमता सिर्जना हुने देखिन्छ। केन्द्रीय बैंकले विशेष उक्त नीति लिँदा सेयर कारोबारमा ऊर्जा थपिएको लगानीकर्ता बताउँछन्।

राष्ट्र बैंकको पछिल्ला व्यवस्थाले सेयर बजारमा उत्साह जगाएको नेपाल स्टक एक्सचेञ्ज (नेप्सेको) गत साताभरको कारोबारले देखाउँछ। जबकि कोभिडमा एक्कासि उकालो लागेको सेयरबजार यसपछि क्रमशः अपेक्षाअनुसार नभएपछि लगानीकर्ता केही निरुत्साहित हँुदै आएका थिए। जसले गर्दा लगानीकर्ताले नियामकीय निकाय नेपाल राष्ट्र बैंकको नीतिलाई दोष दिँदै आएका थिए। तर, सोही राष्ट्र बैंकले केही लचिलो नीति लिँदा सेयर बजारमा सकारात्मक सन्देश गएको छ। यसको नतिजा एक साता अघिको आइतबारको अत्याधिक सेयर खरीद मागले पनि देखाएको थियो। नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेल बजारमा सेयर धितो प्रकृतिको मार्जिन कर्जाको क्याप यथावत् भए पनि अन्य नीतिमा सहजीकरण गर्दा लगानीकर्ता उत्साहित भइरहेको बताउँछिन्।

घट्दो ब्याजदरले सेयर धितो कर्जामा प्रोत्साहन

महिनै पिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएपछि ऋणीलाई सहज हुने भएको छ। यसले अहिले पर्याप्त लगानीयोग्य पुँजी भइरहेको तर कर्जाको माग अपेक्षाअनुसार हुन नसकेको बैंकरहरूले बताउँदै आएका छन्। नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा वाणिज्य बैंकहरूसँग पर्याप्त कर्जा प्रवाह गर्ने क्षमता भएको बताउँछन्। उनी भन्छन्, ‘ब्याजदर घट्ने क्रममा रहेको छ।

यसबीच पछिल्लो ३ महिनामा घटेको ब्याजदर पुस मसान्तको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधार दरमा देखिन्छ। यसपछि ऋणको घटेको ब्याजदरअनुसार कर्जा प्रवाह हुन्छ।’ यसैले अब कर्जाको ब्याजदर घट्ने छ भन्ने आशाले पनि सेयर बजारमा उत्साह छाएको अनुमान गर्न सकिन्छ। किनभने सेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जामा घटेको ब्याजदरले प्रोत्साहन मिल्नेछ। अहिले वाणिज्य बैंकहरूले पुस महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर घटाएकाले बैंकलाई ब्याजदर घटाउन दबाब पनि पर्‍यो। यसैले अहिले बैंंकहरूले ब्याजदर घटेको सूचना सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरूले सूचना प्रकाशन गरेअनुसार बैंकहरूको पुसको ब्याजदर मंसिर महिनाको भन्दा कम छ।

सबै वाणिज्य बैंकको औसत ब्याजदर ०.६२ प्रतिशत बिन्दुले घटेको देखिन्छ। बैंकहरूको पुस महिनामा औसत ब्याजदर ८.९९ प्रतिशत पुगेको छ। जबकी मंसिर महिनामा ९.९१ प्रतिशत थियो। यो महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। यसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत रहेकोमा २ प्रतिशत बिन्दु घटेर ८.६० प्रतिशतमा सीमित छ।

यसैगरी, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ«्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन्। यसबाहेकका अधिकतम ब्याजदर ९ प्रतिशत रहेको प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई नै कायम राखेका छन्।

के हो मार्जिन प्रकृतिको कर्जा ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरूको सेयर किन्ने प्रयोजनका लागि लगानकिर्ताले आफूसँग भएको सेयरलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी लिने कर्जालाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ।

पछिल्लो समय राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जा ग्राहकले सुरक्षणबापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। यसअघि १२० कार्य दिनको मूल्यांकन गर्न पाइन्थ्यो। अर्थतन्त्रले अधिकांश क्षेत्र अस्तव्यस्त रहँदा सेयर कारोबार भने प्रत्येक दिन अर्बौं रुपैयाँको हुने गरेको छ।

सेयर धितो राखेर के प्रयोजनका लागि कर्जा लिन मिल्छ ?

सेयरमा लगानी गर्नेका लागि सेयर मार्जिक प्रकृति कर्जा लिन सकिन्छ भने यसबाहेक पनि लगानीकर्ताले आफूसँग भएको सेयर धितो राखेर अन्य शीर्षकमा समेत कर्जा लिन पाउने व्यवस्था छ। उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइन्छ।

बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोका रूपमा सेयरसमेत धितोका रूपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा १५/२० करोड लागू हुँदैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...