सामान्यतः एक जना व्यक्तिले दिनमा औसत कति समय मोबाइलको स्क्रिन हेरिरहेको हुन्छ ? कति समय ल्यापटप वा कम्प्युटरको स्क्रिन अघिल्तिर बस्छन् ? यसको ठ्याक्कै हिसाबकिताब नहोला । यद्यपि, अहिले अधिकांश व्यक्ति कुनै न कुनै रुपमा स्क्रिनसँग नजिक छन् ।
चाहे फोन गर्दा होस् वा युट्युब, टिकटक चलाउँदा मानिसहरु मोबाइलको स्क्रिनमा जोडिएकै हुन्छन् । कोरोना महाव्याधिपछि विद्यालयको पठनपाठनसमेत मोबाइलको माध्यमबाट भयो । यसरी बालबालिका पनि स्क्रिनको सम्पर्कमा आए । डिजिटलाइज्डको यो युगमा धेरैजसो मान्छे कम्प्युटरबाटै आफ्नो दैनिक काम-व्यवहार चलाइरहेका छन् । यी सबैको एकमुष्ट निचोड के हो भने हामी कुनै न कुनै रुपमा स्क्रिनमा जोडिएका छौं ।
स्क्रिनको सोझो प्रभाव आँखामा पर्ने नै भयो । स्क्रिनमा लामो समय काम गर्ने, मोबाइलमा हेरिरहने, लामो समय टीभी हेर्ने र कम्प्युटरमा लामो समय बिताउनेलाई कहिलेकाहीं आँखा बिझाउने, आँखा धमिलो भए जस्तो हुने, रिंगटा लाग्ने, आँखाबाट आँशु आउने र आँखा पोल्ने जस्ता लक्षण पनि देखिन थालेको छ, जसलाई कम्प्युटर आई सिन्ड्रम भनिन्छ ।
हामीले सामान्यतः एक मिनेटमा १५ देखि २० पटक आँखा झिमझिम गरेका हुन्छौं । यो एउटा प्राकृतिक प्रक्रिया हो । आँखा झिम्काएको बेलामा आँखाको माथि भएको आँशुले नानीलाई भिजाउँछ, जसले गर्दा आँखालाई चलाउन सजिलो हुन्छ । यसले आँखाको नानीलाई अक्सिजन पनि दिन्छ । तर स्क्रिनमा हेरेको बेलामा भने हामीले एक मिनेटमा दुई तीन पटक मात्र आँखा झिम्काउँछौ । यति थोरै पटक आँखा झिम्काउँदा आँशुको कमी हुन्छ र आँखा सुख्खा हुन्छ । लामो समय स्क्रिनमा बिताउँदा आँखामा देखिने असर भनेको सुख्खापन हो । यो सुख्खापनले आँखामा त्यस्तो डरलाग्दो असर भने गरेको देखिएको छैन ।
स्क्रिनले आँखा खत्तम बनाउँछ ?
विभिन्न प्रकारका किरणहरू जस्तै पराबैजनी किरण र स्क्रिनबाट निस्कने निलो किरणहरूले केही मात्रामा सामान्य असर गर्छ । तर यसबारे केही भ्रमहरू पनि छन् । स्क्रिनमा धेरै समय बिताउने व्यक्तिहरूमा आँखाको रोग देखापर्छ भन्नु गलत हो । स्क्रिनमा लामो समय बिताउँदा सुख्खापना बढ्न सक्छ, स्क्रिनकै कारण आँखा कमजोर हुने होइन ।
धेरै अभिभावकहरू आफ्नो बालबालिकालाई लिएर मेरो क्लिनिकमा आउँछन् । बच्चामा चस्मा लगाउनुपर्ने समस्या देखापर्यो भने उनीहरू भन्ने गर्छन्, ‘मेरो बच्चा धेरै समय कम्प्युटर र मोबाइलमा टाँसिएको हुन्छ, यसले आँखा खत्तम पारिसक्यो ।’ तर स्क्रिनमा धेरै समय बिताएको कारणले आँखाको पावरमा कुनै असर गर्दैन यो कुरामा सबै जना क्लियर हुनुपर्छ । आँखाको पावर प्राकृतिक रूपमा परिवर्तन हुने गर्छ स्क्रिनसँग यसको खासै विशेष नाता छैन ।
लामो समय मोबाइलको प्रयोगले उमेर बढ्दै जाँदा आँखाको पछाडि पर्दामा (म्याकुलर डिजेनरेसन) आँखा कमजोर हुने रोग लाग्छ कि भन्ने कुराको अनुमान गरिएको छ । तर यो पनि अनुसन्धान भइरहेको विषय हो, प्रमाणित भइसकेको छैन ।
स्क्रिनले अन्धोपन ल्याएको छैन
स्क्रिनको लामो समय प्रयोग गर्ने व्यक्तिहरूलाई पछि गएर कुनै समस्या देखियो भनेर अहिलेसम्म प्रमाणित भएको छैन । (म्याकुलर डिजेनरेसन)को बारेमा अध्ययन भइरहेको छ । तर अन्धोपन नै ल्याउने खल्को वा भनौं आँखामा गम्भीर खालको रोग लाग्छ भनेर कुनै अनुसन्धानले पत्ता लगाएको छैन ।
अहिलेको डिजिटल वर्ल्डमा आफ्नो बालबालिकालाई आँखा बिग्रन्छ भनेर कम्प्युटर, मोबाइल जस्ता डिजिटल डिभाइसबाट टाढा राख्छु भन्नु गलत हो । डिजिटल डिभाइसबाट नै उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन् । उनीहरूको जमानामा यसको ज्ञानबिना उनीहरू प्रतिस्पर्धामा जान सक्दैनन् । त्यसैले मोबाइल बन्द गर, टीभी बन्द गर भन्नुभन्दा उनीहरूलाई ठूलो मान्छेलाई सम्झाए जसरी नै सम्झाउनुपर्छ । स्क्रिनमा लामो समय बिताउँदा आँखाको साथसाथै दिमागमा पनि केही असर पर्छ, त्यसैले बिस्तारै उनीहरूको स्क्रिन टाइमलाई घटाउनु उपयुक्त हुन्छ ।
स्वस्थ आँखाको लागि २०-२०-२० नियम
लामो समय मोबाइल तथा कम्प्युटरमा काम गर्ने व्यक्तिहरूले २० को नियम लागु गर्नु एकदमै उपयुक्त हुन्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।
कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिले दुईदेखि तीन घण्टाको अवधिमा कम्तीमा २० मिनेट जति ब्रेक लिन पनि जरुरी छ । बेलाबेलामा आँखा झिम्काउन पनि बिर्सन हुँदैन ।
स्क्रिनले सुख्खापन
आँखा बिझाउने, थकान महसुस हुने, आँखा धमिलो हुने, आँखा पोल्ने, टाउको दुख्ने, रिंगटा लागे जस्तो हुने र आँखा धमिलो भएर एउटा कुरालाई दुईवटा देख्ने जस्ता लक्षण आँखा सुख्खा हुने सुरुवाती लक्षण हुन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ । त्यसैले आँखालाई सुख्खापनबाट बचाउन २०-२०-२० नियम अपनाउनुपर्छ । दुई घण्टामा एकपटक ब्रेक लिनुपर्छ ।
कुर्सीमा बसेर लामो समय कम्प्युटरमा काम गर्ने व्यक्तिहरूले कुर्सीको पोजिसनमा ध्यान दिनुपर्छ । कम्प्युटर स्क्रिनलाई आँखाभन्दा अलिकति तलको लेबलमा राख्नुपर्छ र कम्प्युटरलाई एक हातको दूरीमा राख्नुपर्छ । अर्को महत्वपूर्ण कुरा कम्प्युटरको ब्याग राउण्ड लाइट धेरै चम्किलो धेरै मधुरो बनाउनु हुँदैन, ठिक्क बनाउनुपर्छ ।
स्क्रिनको प्रयोगले आँखा एकदमै सुख्खा भयो भने हामीले डाक्टरको सल्लाह लिएर राम्रो गुणस्तरको नक्कली आँशुको प्रयोग पनि गर्न सक्छौं । स्क्रिनमा लामो समय काम गर्ने व्यक्तिले ब्लु कट चश्माको पनि प्रयोग गर्न सक्छन् । ब्लु किरणहरूलाई त्यसले रोक्ने भएकाले चश्मा लगाउनु फाइदाजनक नै हुन्छ ।
प्रदूषणको असर आँखालाई
आँखा सुख्खापनको समस्या अहिले सबै उमेर समूहलाई देखिएको छ । आँखामा देखिने सुख्खापन लगायतका विभिन्न समस्या स्क्रिनको कारणले मात्र हैन वातावरण प्रदूषणको कारणले पनि बढिरहेको छ । प्रदूषणको कारणले पनि आँखा पोल्ने, बिझाउने लगायतका समस्या देखिन्छन् ।
आँखाको लागि स्वस्थ खानपान
हाम्रो सम्पूर्ण स्वास्थ्यको लागि खानपान एकदमै महत्वपूर्ण हुन्छ । आँखाको लागि पनि सन्तुलित आहार एकदमै महत्वपूर्ण हुन्छ । पोषणयुक्त सन्तुलित आहार नै आँखाको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । विशेषगरी हरियो सागपात र हरियो तथा पहेंलो फलफूल आँखाको स्वास्थ्यका लागि राम्रो हुन्छ । हरियो सागपात र फलफूलमा भिटामिन ए, लुटेन, र जेक्सानथिन जस्ता धेरै पोषक तत्वहरू हुन्छन्, जुन आँखाको लागि राम्रो हो ।
(वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर