मुख्य समाचार
कोलोराडोमा उम्मेदवारी दिन नपाउने फैसलाले ट्रम्पलाई कस्तो असर पर्ला ?
कोलोराडोमा उम्मेदवारी दिन नपाउने फैसलाले ट्रम्पलाई कस्तो असर पर्ला ?

। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोको अदालतले कोलोराडोभित्र राष्ट्रपतीय निर्वाचनका लागि हुने प्रारम्भिक निर्वाचनमा उम्मेदवारी दिन अयोग्य रहेको फैसला गरेको छ । संविधानमा रहेको हिंसात्मक गतिविधि सम्बन्धका प्रावधानमा टेकेर अदालतले उनी कोलोराडो राज्यमा राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न अयोग्य रहेको फैसला सुनाएको हो ।

अमेरिकी संविधानको धारा ३ को १४ औँ संशोधनमा उल्लिखित प्रावधानलाई टेकेर अदालतले ट्रम्प उम्मेदवारीका लागि अयोग्य रहेको बताएको हो । अमेरिकी संविधान रक्षाको शपथ लिएका पदाधिकारीले संविधान विपरीत विध्वंस वा विद्रोह गरेमा त्यस्ता व्यक्तिलाई सार्वजनिक पद धारणका लागि प्रतिबन्ध लगाउन सक्ने उक्त धारामा व्यवस्था छ ।

‘अमेरिकी संविधान अनुसार नियुक्त भई संविधानको समर्थन र रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेका सिनेटर, राष्ट्रपति वा उपराष्ट्रपति, सैन्य वा अन्य सेवाका कर्मचारी जो कोहीले संवैधानिक मूल्य र मान्यता विपरीत विध्वंस वा विद्रोह गरेमा वा त्यसका लागि कसैलाई उक्साएमा त्यस्ता व्यक्ति सोही पदमा पुन: रहनका लागि योग्य हुने छैनन् । सदनको दुई तिहाइ मतले पारित गरेको अवस्थामा त्यस्ता व्यक्ति समान पदमा रहन सदाका लागि अयोग्य हुनेछन्’, अमेरिकी संविधानमा उल्लेख छ ।

संविधानको यस धाराको प्रयोग पहिलोपटक कोलोराडो अदालतले पूर्व राष्ट्रपति ट्रम्पमाथिको मुद्दामा प्रयोग गरेको हो ।



संविधानमा यसको जिम्मेवारी सदनलाई दिइएपनि अदालतले नै अयोग्य घोषणा गरिदिएको हो । ७ जना न्यायाधीशको इजलासमा रहेको यस मुद्दाको फैसला बहुमतका आधारमा भएको हो । ७ मध्ये ४ न्यायाधीश यस फैसलाको पक्षमा रहेको अदालतको फैसलामा उल्लेख छ । अदालतको फैसला उल्लेख गर्दै न्युयोर्क टाइम्सले लेखेको छ-‘संयुक्त इजलासमा संविधानको धारा ३ को १४ औँ संशोधनमा उल्लेख प्रावधान अनुसार राष्ट्रपतीय निर्वाचनका लागि उम्मदेवार बन्न ट्रम्प योग्य छैनन् भन्ने फैसलाको पक्षमा बहुमत छ ।’

मुख्य न्यायाधीश ब्रायन डी, मारिया बर्ककोटर, कार्लोस समओरले संवैधानिक विवादका मुद्दा निकै जटिल हुने र यसको समाधान राज्य तहका अदालतबाट हुन नसक्ने मत दिए । फैसलालाई न्यायाधीशहरु रिचर्ड गाब्रियल, मेलिसा हार्ट, वलियम वुड र मोनिका मार्क्वेजले समर्थन जनाएका थिए ।

समर्थन जनाएका न्यायाधीशहरुले भनेको कुरालाइ उद्दृत गर्दै द वासिंटन पोस्टले लेखेको छ, ‘हामीले यो फैसला हलुका रुपमा गरेका होइनौँ । फैसलापछि हामीमाथि आउने प्रश्नको वजन र त्यसपछिको परिस्थितिबारे हामी सचेत छौँ । कानुनको रक्षा गर्ने हाम्रो कर्तव्यप्रति हामी दृढ छौँ । कानुनले हामीलाई दिएको सुविधा र संवैधानिक परिधिभित्र रहँदै कुनै पक्षपात र विना कुनै त्रास हामीले यो फैसला गरेका हौँ ।’

सन् २०२० को ६ जनवरीमा राष्ट्रपतीय निर्वाचनको परिणाम अस्वीकार गर्दै ट्रम्पले सदनमा हमलाका लागि समर्थकलाई उक्साएका थिए । ट्रम्पका समर्थकले संसदमा हमला समेत गरेकाले यही प्रकरणलाई लिएर उनीमाथि विभिन्न अदालतमा मुद्दा परेका थिए ।

ट्रम्पका कानुनी सल्लाहकारले यस फैसलाविरुद्ध अर्को निवेदन दिने तयारी गरेका छन् । ५ जनवरीदेखि राष्ट्रपतीय निर्वाचनका लागि प्रारम्भिक निर्वाचनको मतपत्र छापिने भएकाले त्यसअघिनै पुनरावेदनको फैसला आइसक्नुपर्नेछ ।

यसअघि मिनिसोटा र मिचिगनका अदालतले समान धारालाई उद्दृत गर्दै ट्रम्पविरुद्ध परेको मुद्दा खारेज गरिदिएका थिए । मिचिगनको अदालतले कारणबारे भनेको थियो, ‘यो काम अदालतको नभएर संसदको हो ।’

ट्रम्पलाई कस्तो असर पर्ला ?

सन् २०२० को राष्ट्रपति निर्वाचनमा ट्रम्प कोलोराडो राज्यमा १३ प्रतिशत मत अन्तरले हारेका थिए । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा त्यस राज्य उनका लागि निर्णायक छैन । तर यही धारालाइ उद्दृत गर्दै ट्रम्पविरुद्ध विभिन्न राज्यमा दर्जनौँ मुद्दा परेकाले अन्यत्रका अदालतले पनि कोलोराडोको नजिर पालना गर्दै फैसला गर्नसक्ने हुँदा ट्रम्पलाई कठिनाइ हुनसक्छ ।

संविधानको धारा ३ को १४ औँ संशोधनमा आधारित रहेर ट्रम्पविरुद्ध परेका मुद्दा नियालिरहेका कानुन विषयका प्राध्यापक देरेक मुलरले टाइम म्यागेजिनसँग भनेका छन्, ‘ट्म्पविरुद्ध विभिन्न राज्यमा मुद्दा परेका छन् । कोलोराडोको नजिर पालना गर्दै फैसला भएको अवस्थामा उनको उम्मेदवारी जोखिममा पर्न सक्छ ।’

कोलोराडो अदालतको यस फैसलालाई रिपब्लिकनले लोकतन्त्रमाथिको प्रहार भनेका छन् । यस फैसलालाई त्रुटिपूर्ण भन्दै ट्रम्पका चुनावी अभियानका प्रवक्ता स्टेभन चेङले राज्य अदालतको फैसलाविरुद्धमा सर्वोच्च जाने बताएको टाइमले लेखेको छ ।

‘यो फैसला निकैनै त्रुटिपूर्ण र गैर लोकतान्त्रिक छ । यसका विरुद्ध हामी छिट्टै सर्वोच्चमा अपिल गर्नेछौँ’, उनले भनेका छन् ।

संवैधानिक विवादसम्बन्धी मुद्दाको निर्क्यौल अमेरिकामा सर्वोच्च अदालतलेनै हेर्ने गर्छ । संविधानको रक्षाको शपथ खाएकाहरुले संविधान विपरीत विद्रोह वा विध्वंश मच्चाएमा त्यस्तालाई सबै सार्वजनिक पदमा प्रतिबन्ध लगाउनका निम्ति सदनमा मतदान हुनुपर्ने व्यवस्था भएपनि अदालतले ट्रम्पलाई उम्मेदवारी बन्न अयोग्य घोषणा गरेको हो ।

मिनिसोटाको अदालतले यो जिम्मेवारी संसदको रहेको भनेपनि कोलोराडो अदालतले भने ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा कोलोराडोमा उम्मेदवारीका लागि अयोग्य भन्ने फैसला गरेको हो ।

यो संवैधानिक विवादको निर्क्यौल ५ जनवरीभित्र गरिसक्नुपर्ने भएकाले यथाशीघ्र सर्वोच्च जाने तयारीमा ट्रम्पका कानुनी सल्लाहकार छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...