काठमाडौं : सामाजिक सञ्जालमार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादलाई प्रहरीले दुबईमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमद रहेको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।
व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान हुँदा अहमदले
नाबालिकामाथि दुर्व्यवहार गरेको पुष्टि हुन आएकाले पक्राउ गरिएको जानकारी दिए।
अहमदले पीडित नाबालिकासँग सामाजिक सञ्जाल फेसबुकबाट साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापबाट दु:ख दिने तथा मानसिक यातना दिएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा उजुरी दिएका थिए।
उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा २०७९ माघ १० गते मुद्दा दर्ता गरेको थियो। खोजतलासका क्रममा प्रतिवादी वैदेशिक रोजगारीका लागि दुबई गएको पत्ता लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयले इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी गरी आज दुबईबाट नियन्त्रणमा लिएको हो।