मुख्य समाचार
झापा एफसीले जितेपछि थपियो रोमाञ्च
झापा एफसीले जितेपछि थपियो रोमाञ्च

— फुटबलमा यस्तो दृश्य बिरलै देखिन्छ, एउटै टिमका खेलाडीबीच झगडाको स्थिति । झापा एफसीका गोलरक्षक स्टेफन कुपिच र फरवार्ड जोर्गे सान्चेजबीच बुधबारको खेलका क्रममा भनाभन चलेको देखियो । के यो टिमभित्रको चिरा बाहिर ह्वाङ्ग देखिएको हो त ?

नेपाल सुपर लिगमा बुधबार धनगढीविरुद्ध गोल गरेपछिको खुसी, अञ्जन विष्टसहित झापाका खेलाडी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर


‘त्यस्तो होइन, जस्तो बाहिरबाट देखिन्छ,’ झापाका स्पेनी प्रशिक्षक ओरियल मोहेडानोले भने । उनको आशय थियो, यो त टिमलाई अझ आक्रामक बनाउन दुई खेलाडीबीच चलेको सकारात्मक द्वन्द्व पो हो ।


सायद होला । उनको यो दाबी किन पनि विश्वास गर्न सकिन्छ भने झापा टिम नेपाल सुपर लिगमा बुधबार प्रभावशाली जित निकाल्न सफल रह्यो । यो जितले सुपर लिग थप रोमाञ्चक मोडमा पुगेको छ । धनगढीले खेल जितेको भए प्लेअफ खेल्ने निश्चित हुन्थ्यो । तर, हारले टिम ढुक्क हुनसक्ने स्थितिबाट टाढिएको छ । यसपल्टको प्रतियोगितामा धनगढीको यो पहिलो हार हो । अब त्यस्तो कुनै टिम रहेन, जसले आफूलाई अविजित कायम राख्न सक्यो ।

धनगढी ७ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ । टोलीको अन्तिम खेल शीर्षमा रहेको पोखरा थन्डर्सविरुद्ध छ । पोखरा नै यस्तो एकमात्र टिम हो, जसको प्लेअफ खेल्ने निश्चित भइसकेको छ । पोखरासँग १४ अंक छ । झापाको १० अंक भएको छ । यससँगै टोली शीर्ष चारमा उक्लेको छ । झापाको अन्तिम खेल भने एफसी चितवनविरुद्ध हुनेछ । झापा जितेपछि चितवनको अर्को चरण खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

चितवन प्लेअफको समीकरणबाट बाहिरिने स्पोर्टिङ इलामपछि दोस्रो टिम भएको छ । त्यही खेलमा केन्द्रित भएर प्रशिक्षक मोहेडानोले भने, ‘चितवनको चुनौती समाप्त भए पनि हामी आफ्नो प्रतिद्वन्द्वीलाई पूर्ण सम्मान दिएर खेल्नेछौं । यो हाम्रा लागि कप फाइनलजस्तै हुनेछ ।’ उनले आफ्नो टिमले धनगढीविरुद्ध गरेको प्रदर्शनमा खुसी र गर्व रहेको बताए ।


झापाका कप्तान अञ्जन विष्ट भने फेरि एकपल्ट गम्भीर मुद्रामा मिडियासामु प्रस्तुत भए । उनले गरेको तर्क भने ठीकै थियो । उनको भनाइ थियो, ‘हामी यो जितमा खुसीयाली मनाउने पक्षमा छैनौं, किनभने केही पनि निश्चित भएकै छैन । अहिलेका लागि आफ्नो टिम चौथो स्थानमा पुगेको छ । यसक्रममा हामीले आफ्नो टिम यसको हकदार छौं भनेर भने प्रमाणित गर्‍यौं ।’ झापाले उनकै गोलले अग्रता लिएको थियो ५३ औं मिनेटमा । छिरिङ लामाले निकालेको क्रसलाई अञ्जनले हेडबाट ‘फ्लिक’ गर्दै गोल गरे । यो आफैंमा आर्कर्षक गोल रह्यो ।

उनले सातौं खेलमा आएर झापाका लागि पहिलो गोल गरेका हुन् । दोस्रो गोल भने ७७ औं मिनेटमा सम्भव भएको थियो । यो गोल सब्स्टिच्युट खेलाडी समिराज थोकरको नाममा रह्यो । सायद सान्चेजले गरेको सुरुआती प्रहार पोस्टको दिशातर्फ अग्रसर थियो । त्यसैलाई समिराजले निश्चित गोलमा परिणत गरे । अञ्जन नै प्लेयर अफ द म्याच रहे । तर तिनै गोलरक्षक कुपिचले दाबी गरेको देखियो, ‘खेलको उत्कृष्ट खेलाडी त म नै हुनुपर्ने हो ।’

उनको दाबीमा ‘दम’ थियो । कुपिचले ‘क्लिन सिट’ राखेको यो लगातार पाँचौं खेल रह्यो । उनले यसै खेलको क्रममा आफू उत्कृष्ट गोलरक्षक रहेको पनि प्रमाणित गरे । उनले पूरा प्रतियोगितामै गोल नखाएको लगातार ५ सय २१ मिनेट पुगेको छ । सम्भवतः घरेलु नेपाली फुटबलमा यो कोही पनि गोलरक्षकको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । पोखरासँग कुपिचले अन्तिम पटक गोल खाएका थिए । त्यसपछि उनले काठमाडौं, वीरगन्ज, बुटवल–लुम्बिनी र ललितपुर सिटीसँगको खेलमा कुनै गोल खाएका छैनन् ।

खेलको अन्तिम मिनेट झापाले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । डरलाग्दो ट्याकल गरेका कारण धीरज थतालीले सिधा रातो कार्ड खाए । यसमा उनी भावविह्वल देखिए । अर्कोतर्फ धनगढीका प्रशिक्षक युगलकिशोर राईले पनि हारमा ठूलो मन देखाए । उनले भने, ‘यो खेलमा झापा जितको पूर्णतः हकदार देखियो । झापाले सुरुआती केही खेलमा राम्रो खेल्न सकेन । तर, त्यसपछि उसको प्रदर्शनमा व्यापक सुधार आएको छ ।’

अझ उनले त झापा ७–८ खेलाडीमा सीमित भएको भए पनि हार धनगढीकै हुने समेत बताए । प्रशिक्षक राईले झापाको टिममा अञ्जन फर्केपछि सबै खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव परेको माने । उनले थपे, ‘खेलमा हार जित त हुन्छ नै । आज हाम्रो भागमा हार लेखिएको थियो । अब हाम्रो काम भनेको अन्तिम खेलमा राम्रो गर्ने नै हो । हामीसँग तयारीलाई पर्याप्त समय पनि छैन । पर्सि नै खेल्नु छ । चुनौतीको सामना गर्नु नै एकमात्र विकल्प हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...