मुख्य समाचार
अझै बढ्न सकेन घरजग्गा कारोबार
अझै बढ्न सकेन घरजग्गा कारोबार

— जग्गा कित्ताकाटमा सहजीकरण गरेको चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीले बताउँदै आएका थिए । तर साउन ३० मा सरकारले भू–उपयोग नियमावली, ०८० संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति अपनाएको थियो ।

लगत्तै मंसिरदेखि घरजग्गा कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो । तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार अपेक्षाकृत रूपमा बढेको देखाउँदैन ।

नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले समेत मंसिरको तथ्यांकले घरजग्गा व्यवसायीलाई निराश बनाएको बताए । ‘मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा थियो । तर निराशाजनक भयो,’ उनले भने, ‘असोजको तुलनामा मंसिरमा राजस्व र कारोबार दुवै घट्यो ।’ चालु आर्थिक वर्षको अन्य महिनाको तुलनामा मसिंरमा १ लाख १० हजार ८३ पटक कित्ताकाट भएको छ । यसअघि चालु वर्षको असोजमा १ लाख ६ हजारसम्म भएको थियो ।

विभागको तथ्यांकअनुसार गत मंसिरको तुलनामा यो मंसिरमा समग्र कारोबार, कित्ताकाट र राजस्व बढेको देखिएको छ । तर अघिल्लो मंसिरको तुलनामा भने कम नै हो । सरकारले अघिल्लो मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत मंसिरमा २ अर्ब ६४ करोड राजस्व उठाएको सरकारले यो मंसिरमा २ अर्ब १६ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ । कारोबार पनि अघिल्लो मंसिरको तुलनामा यो मंसिरमा ४२ हजार १६१ ले कम हो ।

विभागका अनुसार अघिल्लो मंसिरमा १ लाख ६९ हजार ८ सय पटक कारोबार हुँदा गत मंसिरमा ८९ हजार २४६ पटक कारोबार भएको थियो । यो मंसिरमा १ लाख २७ हजार ६३९ पटक कारोबार भएको थियो । कित्ताकाट अघिल्लो मंसिरमा १ लाख ५८ हजार ३१० पटक कित्ताकाट हुँदा यो मंसिरमा १ लाख १० हजार ८३ पटक कित्ताकाट भएको छ । गत मंसिरमा ३० हजार ७२८ पटक मात्रै कित्ताकाट भएको थियो ।


गत वर्षको जेठ २३ मा भूउपयोग नियमावली, ०७९ जारी भइसकेपछि पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्रै कित्ताकाट गर्न पाइन्थ्यो । त्यसकारण साउनदेखि नै घरजग्गाको समग्र काम घटेको थियो । पालिकाले कृषि र गैरकृषि छुट्याई नसकेपछि मंसिरदेखि कित्ताकाट ठप्प भएको थियो । त्यसैलाई सुल्झाउन गत वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।तर वैशाख १२ मा मन्त्रिपरिषद्ले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको थियो । त्यसपछि निर्णयलाई अन्तिम रूप नदिई पुनः जग्गा कित्ताकाटसम्बन्धी विषयमा अध्ययन गर्ने प्रक्रिया अघि बढेको थियो । उक्त अध्ययन तथा सिफारिसका आधारमा साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

भू–उपयोग नियमावली, ०८० संशोधन गरी आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइन्नथ्यो ।

प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो । सरकारले नियमावली संशोधन गरेर जग्गा कित्ताकाटमा लचिलो नीति अपनाए पनि अपेक्षित रूपमा घरजग्गा कारोबार बढ्न सकेको छैन ।

मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा गरे पनि राष्ट्र बैंकको नीतिगत कठिनाइका कारण अझै बढ्न नसकेको महासंघका अध्यक्ष लोहनी बताउँछन् । ‘बैंक तथा वित्तीय संस्था ऋण दिन तयार रहँदा पनि राष्ट्र बैंकको नीतिका कारण ऋण ठप्प छ,’ उनले भने । मौद्रिक नीतिको संशोधन गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ । यसअघि मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशत थियो । यसलाई बढाएर शतप्रतिशत नै पुर्‍याउनुपर्ने लोहनीको माग छ ।

साउनमा राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । यसअघि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था थियो । रियल स्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशत पुर्‍याए पनि यसलाई सय प्रतिशत पुर्‍याउनुपर्ने उनको माग छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार व्यक्तिगत आवासीय कर्जा प्रवाह बढ्दा रियल स्टेट कर्जा ऋणात्मक देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा २८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा (दुई करोडसम्म) प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा रियल स्टेट कर्जा ७ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । चालु आर्थिक वर्षको साउन–कात्तिकसम्म रियल स्टेट कर्जा ४ अर्ब ६८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । चालु आर्थिक वर्षको चार महिनामा १.९ प्रतिशतले ऋणात्मक देखिएको राष्ट्र बैंकको तथ्यांक छ ।

रियल स्टेट कर्जाअन्तर्गत व्यावसायिक कम्प्लेक्स १६.५, अन्य रियल स्टेट (प्लटिङ तथा जग्गा खरिद) ४.२, ५ लाखसम्म वा उद्देश्य नखुलाइएको २.२ र अन्य १९.२ प्रतिशतले ऋणात्मक छ । बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा लगानीभन्दा प्रवाह गरिएको रकम बढी उठाउँदा ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा पर्याप्त कर्जा प्रवाह हुन नसक्दा ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...