मुख्य समाचार
पाँच सय विकेट क्लबमा लियोन
पाँच सय विकेट क्लबमा लियोन

सबैभन्दा पहिले खेलाडीको एउटा सूची– मुथैया मुरलिधरन, सेन वार्न, जेम्स एन्डरसन, अनिल कुम्बले, स्टुआर्ट ब्रोड, ग्लेन म्याकग्रा र कर्टन वाल्स । यिनीहरूको नाम सुन्नेबित्तिकै क्रिकेट पारखीको मुखबाट ठ्याक्कै निस्कनेछ, ‘ओहो, यी महान् खेलाडीहरू !’ क्रिकेटका यी सात महान् खेलाडी खासमा त्यस्ता बलर हुन्, जसले टेस्ट क्रिकेटमा पाँच सयभन्दा बढी विकेट लिए ।

टेस्ट क्रिकेटमा यो जत्तिको ठूलो उपलब्धि विरलै होला, यही क्लबमा एक अर्को बलर पनि थपिएका छन् । उनी हुन्– नेयथन लियोन । भनेपछि उनी पनि भए, विश्व क्रिकेटले पाएका एक अर्को महान् खेलाडी । अरू धेरैले लेखेजस्तै, लियोनबारे यो लेख एक वर्ष अगाडि नै आउनुपर्ने थियो । यी अस्ट्रेलियाली अफ स्पिनर बलर पाँच सय विकेटको संघारमै थिए । यो थियो, इंग्ल्यान्डविरुद्धको एसेज सिरिजका बेला । लर्डसमा भएको सिरिजको दोस्रो टेस्टका क्रममा उनी घाइते भए । उनले सिरिजका बाँकी खेल खेल्न पाएनन् । त्यो सिरिज २–२ को बराबरीमा टुंगेको थियो ।


यदि लियोनले त्यो सिरिज पूराको पूरा खेलको भए, त्यसको नतिजा बेग्लै हुने थियो भन्नेहरू अझै छन् । तर, यो भयो एक प्रकारको कल्पनाको कुरा । लियोनले एक वर्ष त कुरे, तर पाँच सय विकेट पनि हात पारिछाडे । अहिले पाकिस्तान अस्ट्रेलिया भ्रमणमा छ र पर्थमा भएको पहिलो टेस्टका क्रममा लियोन पाँच सय विकेटको क्लबमा छिर्न सफल रहे । फाहिम असरफको विकेटसँगै लियोनको पाँच सय विकेट पूरा भएको थियो । यसरी उनी यो कोसेढुंगा उपलब्धि छुने मात्र आठौं बलर बने ।

उनको यो यात्रा आफैंमा गज्जबको छ र त्यसमा त्यस्ता धेरै कथा मिसिएका छन्, जसलाई सुन्दा पनि स्वयं टेस्ट क्रिकेटजस्तै मन्द–मन्द मीठो लाग्छ । अहिले अस्ट्रेलियाली टिममा जति पनि सिनियर खेलाडी छन्, अथवा जतिले पछिल्लो समय अस्ट्रेलियाका लागि खेल्न पाए, उनीहरू सबैले लियोनलाई सुरुमा चिनेको खेलाडीका रूपमा होइन । सुरुमा यी लियोन थिए, पिच क्युरेटर । त्यो भनेको क्रिकेट खेल्नका लागि चाहिने पिच बनाउने र स्याहार गर्ने विशेषज्ञ ।

एडिलेड ओभलको केही ग्राउन्ड स्टाफमध्ये उनी पनि एक थिए । सन् २०१०–११ को एसेज सिरिज खेल्न इंग्ल्यान्ड अस्ट्रेलिया आएको थियो र त्यसका कप्तान थिए, एन्ड्र्य स्ट्रस । त्यति भ्रमणकारी टिमका प्रमुख बलर थिए, ग्रेम स्वान । अस्ट्रेलियालाई नेटमा अभ्यास गर्दा स्वानजस्तै एक स्पिनर चाहिएको थियो । त्यसका लागि एक दुब्लो पातलो बलरलाई चुनिएको थियो, जो अरू कोही होइन, लियोन नै थिए । त्यही बेला पनि उनी पिच क्युरेटरकै काममा थिए । अनि खेलाडी हुने सपना पनि बोकिरहेका थिए । एक प्रकारले उनी दोधारमा थिए, खेलाडी बनौं कि क्युरेटर ! यो दोधार किन पनि थियो भने खेलाडीका रूपमा उनको प्रदर्शन ठीकठाक चलिरहेको थिएन । तर, नेटमै पनि कहलिएका खेलाडीलाई बलिङ गर्दा उनको हाउभाउ टेस्ट खेलिरहकै जत्तिको थियो, अहिले पनि यस्तै सम्झन्छन्, यो जमानाका खेलाडी । त्यसमध्ये एक थिए, माइक हस्सी । ‘त्यही बेला लियोनमा केही खास भने थियो,’ उनी भन्छन् ।

लियोन त्यही बेला २३ वर्षका भइसकेका थिए, तर साउथ अस्ट्रेलियाको ‘बी’ टिममा पनि परिरहेका थिएनन् । ‘ए’ को कुरै अर्को । सम्भवतः त्यसैले हुन सक्छ, उनी सुरुमै पहिलो श्रेणीको क्रिकेटबाट चम्केका होइनन्, बरु ट्वान्टी-ट्वान्टी क्रिकेटबाट हुन् । सन् २०११ बिग ब्यासमा उनको प्रदर्शन उम्दा रह्यो । यसबीच उनले चार प्रथम श्रेणीको क्रिकेट भने खेलिसकेका थिए । एक दिन उनले खबर पाए, श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि उनलाई चयन गरिएको छ ।

त्यसपछि त धेरैले भन्ने गरेजस्तै त्यही भयो, जसलाई हामी इतिहास भन्छौं । त्यो सिरिज श्रीलंकामा भएको थियो । त्यहाँ गालेमा भएको टेस्टमा उनले डेब्युको अवसर पाए । त्यो अस्ट्रेलियाली टिमका ब्याटिङ प्रशिक्षक थिए, जस्टिन ल्यान्गर । अस्ट्रेलियाली टिममा एउटा अद्वितीय परम्परा छ, एक पुस्ताले अर्को पुस्तालाई टिममा स्वागत गर्दा चिठी लेख्ने । ल्यान्गर पनि आफैंमा पुराना खेलाडी थिए । उनले पनि लियोनको नाममा चिठी लेखे । त्यसको सार थियो, ‘तपाईंलाई टिममा स्वागत छ, हामी सबै तपाईंको साथमा छौं ।’ यो चिठी पाएर लियोन असाध्यै धेरै खुसी भए । खुसी पनि कति धेरै भने उनी एउटा सानो सानो बच्चा जस्तै आत्तिन थाले ।

भनिन्छ, लियोन अझै पनि यसरी नै समय समयमा आत्तिने गर्छन् । ‘नर्भस’ हुन्छन् भनौं अझ । कसैले उनलाई खाना खायौ त भनेर सोध्यो भने आत्तिएर भन्न सक्छन्, ‘हो, मैले खाइसकें, दुई घण्टा अगाडि नै ।’ तर खाएको पनि केही हुँदैन थियो ।

डेब्युकै बेला पनि उनी हदै पातलो थिए, उनलाई भनेर ल्याइएको सर्ट पनि दुई साइज ठूलो भयो । त्यही सर्ट लगाएर उनले खेले र पाँच विकेट नै लिए । त्यसमध्ये पनि एक विकेट थिए, श्रीलंकाली लेजेन्ड खेलाडी कुमार संगकराको । लियोनले एकपल्ट के अस्ट्रेलियाका लागि खेल्न पाए, त्यसपछि त खेलेको खेल्यै भए । त्यसैले त उनी अस्ट्रेलियाका सबैभन्दा सफल फिन्गर स्पिनर हुन् । उनका अगाडि एकै जना मात्र छन्, ती हुन्, लेग स्पिनर वार्न ।

वार्नको नाम लिनेबित्तिकै लियोन आत्तिने खालकै थिए । अहिले उनकै बराबरमा आफ्नो नाम आएपछि लियोन ‘नर्भस’ महसुस गरिरहेका छन् । साँच्चै पाँच सय विकेट लिएपछि उनको सुरुआती प्रतिक्रिया थियो, ‘मलाई त विश्वास नै भइरहेको छैन ।’ फेरि त्यही सुरुआती सूचीमा जाने हो भने पाँच सय विकेट लिन सफल हुनेमा दुई अस्ट्रेलियाली मात्र छन्, वार्न र म्याकग्रा । लियोन त्यसमा थपिने तेस्रो अस्ट्रेलियाली भए । यही एक तथ्यले उनी के कस्ता हुन्, त्यो बखान गर्न पर्याप्त छ ।

वार्नले ७ सय ८ विकेट लिएका थिए । अब त उनी बितिसके पनि । सबैभन्दा अगाडि रहेका मुरलिधरनको नाममा आठ सय विकेट छ । म्याकग्राले ५ सय ६३ विकेट लिए । लियोन अहिले ३७ वर्षका भए । सायद उनको खेल जीवन अझै दुई तीन वर्ष मज्जाले चल्नेछ । टिममा परिरह्यो भने उनी यो सूचीमा अगाडि बढ्दै जानेछन् । अहिले नै उनलाई साथी खेलाडीले उक्साइरहेका छन्, म्याकग्रालाई छुनु पर्छ भनेर । अहिले तत्कालका लागि उनलाई टिममा धक्का दिन सक्ने पनि कोही देखिन्न ।

अस्ट्रेलियाली मिडियाले उनलाई ‘कल्ट हिरो’ को रूपमा प्रस्तुत गर्ने गर्छ । यसको कारण के भने उनको बानी बेहोरो, खानपिन, स्वभाव सबै पक्कापक्की अस्ट्रेलियाकै जस्तो छ । खेल्दा खेल्दै उनका कपाल हराउँदै गए । हल्का दाह्री भने पाल्छन् । अनि खेल्दा अनुहारमा सेतो क्रिम पनि पोत्ने गर्छन् । अनि पछाडितिर रुमाल झुन्ड्याउने बानी पनि छ, उनको । अब त उनी आफैं पनि अस्ट्रेलियाली टिममा कोही नयाँ खेलाडी आउँदा तिनलाई चिठी लेख्ने भइसके, तिनलाई स्वागत छ भनेर । जति बेला उनले संन्यास लिनेछन्, उनलाई लिएर भन्ने त्यही हो, ‘ओहो, यी महान् खेलाडी ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...