— साँच्चै बैंग्लोरमा पछिल्लो साफ च्याम्पियनसिपकै बेला सुनिएको थियो, सायद विशाल श्रेष्ठले नेपालका लागि अन्तिम पटक खेल्दै छ र संन्यास लिनेछन् । कुवेत र भारतविरुद्धको खेल गुमाइसकेपछि पाकिस्तानविरुद्ध उनलाई बिदाइ दिने अवसर थियो नै । फेरि पूरा खेल खेलाउन पनि आवश्यक थिएन, अन्तिम केही मिनेट पनि पर्याप्त थियो । तर किन हो यस्तो हुँदै भएन । पछि भित्री कारण त ‘यो हो..’ भनेर केहीले सुनाए । तर, यो लेखिरहनु ठीक थिएन ।
उनै विशालले शुक्रबार नेपाल सुपर लिगमा एफसी चितवनबाट अन्तिम खेल खेलेपछि मिडियासामु अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरे । झापा एफसीविरुद्ध ‘प्लेयर अफ द म्याच’ चुनिएपछि उनी पोस्टम्याच कन्फ्रेन्समा आए । सायद उनको पूर्वयोजना नै थियो अनि एकाएक आफूले नेपाली राष्ट्रिय टोलीबाट अबदेखि नखेल्ने निर्णय सुनाए । उनले केही नभए पनि दुई दशक जतिको समय घरेलु फुटबलमा बिताए । राष्ट्रिय टिमसँगै जोडिएको पनि एक दशकभन्दा बढी भइसकेको थियो ।
तर जिते जम्माजम्मी एक ‘क्याप’ । कसैलाई लाग्दो हो, नेपाली टोलीका लागि एकै खेल खेलेका खेलाडीको संन्यासबारे पनि चर्चा आवश्यक छ र ? जसले यस्तो भन्नेछन्, ठहरिने छ तिनले नेपाली फुटबल, विशाल र उनको योगदानबारे बुझेकै छैनन् । पक्कै पनि अरू केही खेलाडीले उनीभन्दा धेरै खेले, विशेषतः उनका समकालीन खेलाडीले । तर तिनीहरूको योगदान नेपाली फुटबलमा जति रह्यो, त्योभन्दा दुई गुणा योगदान विशालको छ ।
फेरि त्यही बैंग्लोरमा भएको साफ च्याम्पियनसिपमा फर्कने हो भने उनलाई पाकिस्तानविरुद्ध खेलाएर बिदाइ दिनु जत्तिको राम्रो अवसर केही थिएन । तर, यत्तिको साहस न मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले गर्न सके न त कप्तान किरण लिम्बूले । अझ किरण आफैं गोलरक्षक हुन् । जे जतिले विशाललाई यो हकलाग्दो बिदाइ दिन रोके, तिनलाई पक्कै कुनै दिन पछुताउ हुनेछ । किनभने यी सबै घटनाका मोडभन्दा विशाल साँच्चैभन्दा ‘विशाल’ छन् ।
उनको समस्या भन्नु नै अलि धेरै भलाद्मी हुनु हो । संन्यास घोषणा पनि उनको भलाद्मीपाराको हदै भयो । उनी भलाद्मी नहुँदो हो त उनले आफ्नो खेलजीवनको उत्कृष्ट क्षणमा छँदा खास–खास खेलमा खेल्ने जिदी गर्थे होला, तर गरेनन् । उनले आफ्नो खेल जीवनभन्दा नेपाली टिमलाई बढी महत्त्व दिए । उनी एक विशेष पाराले मुसुक्क हाँस्ने गर्छन् । उनीसँग हेलमेल हुनेलाई त्यो पारा पक्कै याद रहेको हुनुपर्छ । त्यस्तै हाँसोमा उनले भने, ‘सायद राम्रो खेलेर नै अरूले मैलेभन्दा बढी अवसर पाए ।’
उनी सबैभन्दा पहिले नेपाली राष्ट्रिय टोलीमा परेको वर्ष थियो सन् २०११ । प्रशिक्षक थिए, ग्राहम रोबर्ट्स अनि अवसर थियो, इस्ट टिमोरविरुद्धको विश्वकप छनोट खेल । त्यसयता उनी टोलीमा परिरहे, तर खेल्ने कहिल्यै पाएनन् । उनले डेब्यु अवसर भने सन् २०२१ भारतविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पाए । प्रशिक्षक थिए, अब्दुल्लाह अल्मुताइरी । खेलको ८६ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका थिए ।
वश् यही एक खेल । धेरैलाई अझै पनि अल्मुताइरी मन नपर्न सक्छ । तर उनका खास केही गुण छन्, जसलाई मान्नैपर्छ । यसमा एउटा गुण हो, विशाललाई खेलाउने निर्णय । केही नभए पनि १० वर्षको समय बेन्चमा रहेर पनि उत्तिकै प्रेरित रहनु आफैंमा ठूलो हो । यस्तो गुण सायद विशालमै मात्र पाइन्छ, अरूमा होइन । त्यसैले त आफ्नो खेलजीवनबारे उनी प्रायः कहिल्यै गुनासो गर्दैनन् । न कसैको आलोचना गर्छन् । मात्र खेलिरहे, केही हुन्छ भनेर आस गरिरहे ।
पछिल्लो एक दशकभन्दा केही लामो समय आधार मान्ने हो भने विशाल जत्तिको सफल र राम्रो प्रदर्शन गरेका गोलरक्षक अरू कोही रहेनन् । त्यसैले उनी घरेलु फुटबलका नम्बर एक गोलरक्षक रहे त्यो समयका लागि । विशाल जहाँ–जहाँ जान्छन्, त्यहीं–त्यहीं अधिकांश समय छायाँजस्तै देखिने एकपात्र हुन्, उनकी श्रीमती इलिशा । उनले पनि संन्यासलाई लिएर त्यही भनिन्, जुन अरूको मनमा छ । उनी भन्थिन्, ‘विशालको संन्यास घोषणाले कसको मात्र मन दुख्दैन र ? किनभने उनी त्यस्तै खेलाडी हुन् ।’