मुख्य समाचार
प्रिमियर लिगमा रेबेक्का रेकर्ड
प्रिमियर लिगमा रेबेक्का रेकर्ड

— फुटबल दुनियाँमा इंग्लिस प्रिमियर लिगले आफ्नो यात्रा सुरु गरेको तीन दशक नाघिसकेको छ । यसबीचमा लिग खेलमा विभिन्न कीर्तिमानहरू कायम भए । अनि, समयसँगै कतिपय तोडिँदै पनि गए । तर यही लिगमा शनिबार एउटा यस्तो कीर्तिमान कायम भएको छ, जुन भविष्यमा कहिल्यै तोडिने छैन । र, यस्तो कीर्तिमान कायम गर्न सफल भएकी हुन्, रेबेक्का वेल्च ।

भनिन्छ, फुटबलमा रेफ्रीको राम्रो निर्णयको खासै वास्ता गरिँदैन, चर्चा हुँदैन । रेबेक्काको हकमा भने केही फरक भयो । खेलाडीलाई कारबाहीस्वरूप उनले तीन पहेंलो कार्ड देखाइन् । निर्णयका लागि भार (भिडियो असिस्टेन्ट रेफ्री) को सहायता पनि लिइन् । तर उनले लिएका कुनै पनि निर्णय विवादास्पद भएनन् । तर पनि उनी विश्वभर चर्चामा आइन् । कारण, रेबेक्का प्रिमियर लिगको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनिन् ।


४० वर्षीया रेबेक्काले क्राभेन कटेजमा फुलह्यामविरुद्ध बर्नलीको खेलमा रेफ्रीको भूमिका निर्वाह गर्दै शनिबार नयाँ इतिहास रचेकी हुन् । उनले खेलाएको प्रिमियर लिगको पहिलो खेलमा बर्नली २–० ले विजयी भएको थियो । खेलपछि रेबेक्कासँग कुराकानी गरेका बर्नलीका व्यवस्थापक भिन्सेन्ट कोम्पानीले ‘निकै ठूलो र महत्त्वपूर्ण अवसर’ भन्दै उनलाई बधाई दिएको बताए । ‘यस महत्त्वपूर्ण र ऐतिहासिक क्षणको एक अंश बन्न पाउँदा म निकै खुसी छु,’ उनले भने । लिग क्लब म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला पनि प्रिमियर लिगमा महिला रेफ्रीले स्थान पाउनु खुसीको कुरा भएको बताउँछन् । उनले लिगअन्तर्गत भविष्यमा महिला रेफ्रीको संख्या बढ्ने आशा व्यक्त गर्छन् ।



बेलायतको वासिङ्टनस्थित टाइन एन्ड वेयरकी स्थानीय हुन् रेबेक्का । १९८३ को डिसेम्बर १ मा जन्मिएकी रेबेक्का युवा अवस्थामा फुटबल खेलाडी थिइन् । पछि उनले रेफ्री बन्नका लागि अध्ययन तथा तालिम लिइन् । उनले २०१० देखि आफ्नो रेफ्री यात्रा सुरु गरेकी हुन् । रेबेक्काले पहिला दुई खेल भने विश्वविद्यालयस्तरीय महिला प्रतियोगितामा खेलाएकी थिइन् । त्यसपछि डुर्हाम काउन्टी फुटबल एसोसिएसनमा आबद्ध रेबेक्काले सन्डरल्यान्डस्थित सन्डे लिगसमेत खेलाउन थालेकी थिइन् । ‘मैले खेलाएको तेस्रो खेल सन्डरल्यान्ड सन्डे लिगको थियो,’ उनी भन्छिन्, ‘विश्वविद्यालयस्तरीय खेलको तुलनामा त्यो निकै फरक थियो ।’


रेफ्रीका रूपमा करिअर सुरु गर्दाताका भने रेबेक्का बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) मा प्रशासकीय अधिकृत थिइन् । केही वर्ष जागिरसँगै खेलमा पनि समय दिएकी रेबेक्का २०१९ देखि भने पूर्णकालीन रेफ्री बनेकी हुन् । ‘मैले फुटबल खेलें । तर फुटबल प्रतियोगितामा रेफ्री बन्नेबारे भने सोचेकी थिइनँ,’ बेलायती सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘एउटा मेरो असल मित्रले सुझाएपछि मात्र म यतातिर आकर्षित भएकी हुँ ।’ उनले ती साथीको सुझावकै कारण करिब एक दशकपछि इतिहास रच्न सफल भएको बताउँछिन् ।

इंग्लिस फुटबलका उच्च तहका खेल ‘प्रोफेसनल गेम अफिसियल लिमिटेड ग्रुप (पीजीएमओएल)’ ले खेलाउने गर्छ । हाल यसको प्रमुख होवार्ड वेब छन् । यसअघि उनले एक अन्तर्वार्ताका क्रममा रेबेक्का पीजीएमओएलमा नियुक्त भएकामा निकै उत्साही भएको बताएका थिए । ‘हामीसँग महिला र पुरुष खेलका साँच्चिकै प्रतिभावान केही रेफ्रीहरू छन् । रेबेक्का त्यसको अग्रस्थानमा छन्,’ होवार्ड भन्छन् । होवार्डका अनुसार रेबेक्का एकदम शान्त र मैदानमा केन्द्रित रेफ्री हुन् । ‘उनीसँग खेलको राम्रो बुझाइ छ । उनी सटीक निर्णयकर्ता हुन् र मैदानमा एक राम्रो खेलाडी पनि,’ उनले बीबीसी स्पोर्ट्ससँग भनेका छन् । यद्यपि, रेबेक्काका लागि आगामी दिनमा अझै कठिन परीक्षण आइपर्नेमा दुई मत छैन ।



रेबेक्का इंग्लिस फुटबल लिग म्याच खेलाउने पहिलो महिला रेफ्रीसमेत हुन् । प्रतियोगिताअन्तर्गत २०२१ मा उनले ह्यारोगेट टाउनविरुद्ध पोर्टभेलको खेल खेलाएकी थिइन् । २०२२ को जनवरीमा उनले एफए कपअन्तर्गत बर्मिङ्घमविरुद्ध प्लाइमाउथको खेल खेलाएकी थिइन् । त्यस्तै, प्रिमियर लिगकै गत नोभेम्बर ४ मा भएको फुलहामविरुद्ध म्यानचेस्टर युनाइटेडको खेलमा उनी चौथो अफिसियल थिइन् । रेबेक्कासँग २०१७ र २०२२ को वुमन्स एफए कप फाइनल खेलाएको अनुभवसमेत छ ।

रेबेक्का सन् २०२० को डिसेम्बरमा फिफाको शीर्ष रेफ्रीको सूचीमा समावेश भएकी थिइन् । उनले यसै वर्षको जुलाई २० देखि अगस्ट २० सम्म अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको महिला विश्वकपमा पनि तीन खेल खेलाएकी थिइन् । प्रिमियर लिगअन्तर्गत आगामी मंगलबार हुने सेफिल्ड युनाइटेडविरुद्ध फुलहामको खेल भने साम एलिसनले खेलाउने छन् । उनी १५ वर्षयता प्रिमियर लिगको खेल खेलाउने पहिलो अश्वेत रेफ्री बन्नेछन् । इंग्लिस फुटबल एसोसिएसनले गत जुलाईमा एक योजना अघि सार्दै तीन वर्षभित्र सबै तहमा गरी एक हजार महिला र एक हजार अश्वेत तथा एसियाली रेफ्री थप गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...