: हिमाली जिल्ला डोल्पाका दुई स्थानमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। जिल्लाको काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाकामा फोरजी सेवा सञ्चालनमा आएको हो।
डोल्पाको काइके गाउँपालिकामा आजदेखि नेपाल टेलिकमको उच्च गुणस्तरको फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका उपप्रबन्धक प्रेम क्षेत्रीले जानकारी दिए।
फोरजी सेवा सञ्चालनमा आएसँगै काइकेका सर्वसाधारणले फोन र इन्टरनेटको गुणस्तरीय सुविधा पाउने अपेक्षा गरिएको उनको भनाइ छ। त्यसैगरी एकसाता अघिमात्र जुफालमा पनि फोरजी सेवा सुचारु भएको छ। यसअघि जुफालमा थ्रिजी सेवा मात्र थियो।
नेपाल टेलिकमले चरणबद्ध रूपमा डोल्पाका विभिन्न स्थानमा फारजी सेवा विस्तार गरिरहेका उपप्रबन्धक क्षेत्रीको भनाइ छ। डोल्पाको दुनै, त्रिपुराकोट, जगदुल्ला मुड्केचुला र काइके लगायतका स्थानमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भए पनि जनघनत्व धेरै भएको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने माझफालमा भने फोरजी सेवा विस्तार हुन सकेको छैन।