मुख्य समाचार
प्रचण्डलाई विदेश पस्ने जागिरेको पत्र
प्रचण्डलाई विदेश पस्ने जागिरेको पत्र

प्रिय कमरेड प्रचण्ड,

हुनत प्रधानमन्त्री भएका बेला ‘सम्माननीय’को सम्बोधन गर्नुपर्थ्यो होला । तर वर्ग अन्त्यको लागि १० वर्ष सशस्त्र संघर्ष गरेको व्यक्तिलाई मानमनितोमा खासै आसक्ति नहोला भनेर कमरेड नै भन्न रुचाएँ । फेरि सम्माननीयसँग त्यति खुलेर कुरा राख्नै पनि त सकिन्न !

कमरेडको हाल सालैको एक विचार कमरेडकै सरकारले बन्द गराएको टिकटकमा हेर्न पुगेको थिएँ । देशबाट युवा शक्ति बाहिरिने क्रमले कमरेड चिन्तित भएको पाएँ । कमरेडलाई जागिरदार हुँदाहुँदै पनि बाहिर जाने युवाशक्ति प्रति आश्चर्य लागेको रहेछ । अब कमरेडसम्म अरूले कुरा पुर्‍याउलान् नपुर्‍याउलान् मलाई भने भन्न मन लाग्यो ।

कमरेड जागिर थियो । २०६२ सालमा कमरेडहरू बाहिर आउँदै गर्दा म शिक्षणमा पसेको थिएँ । तलब थियो २ हजार नेपाली रुपैयाँ । त्यो पनि म कमरेडहरूले विरोध गर्ने गरेको अंग्रेजी बुर्जुवा शिक्षा पढेर आएकोले त्यति पाएको थिएँ । नत्र स्नातक पढ्दै गरेकाहरू पनि म प्रवेशिकालगत्तै आएको १७ वर्षे ठिटोभन्दा ५०० कम तलब खान्थे ।

अर्का एक स्नातक गर्दै गरेका त विद्यालयमा पत्रिका पुर्‍याउन आउँथे । यो सब कमरेडहरूको जानकारीमा नभएको कुरा भने होइन ! कारण सशस्त्र संघर्षमा लागेकाहरूको उठ्ती–बैठ्ती विद्यालय सञ्चालकसँग राम्रै थियो ।

‘आधा जनसंख्या जाँड बनाउने आधा जाँड धोक्ने भएको देशमा तपाईं शिक्षकहरूले चाहिं कमसेकम परिवर्तनलाई साथ दिनुपर्छ । हाम्रा सुप्रिमो पनि शिक्षक नै हुनुहुन्थ्यो’, एक जना कमरेडले प्रधानाध्यापकको कोठामा भनेको अझै याद छ ।

कमरेड ! त्यस्तोमा सञ्चालकले के कसरी तलबमान तोकेका छन्, कमरेडहरूलाई थाहा नहुने कुरै भएन । कमरेडहरूको सशस्त्र संघर्षका लागि यी पसिना व्यापारीहरूले बेला मौकामा आर्थिक सहयोग पनि गर्ने गर्थे । त्यति भएपछि तिनका सात खुन माफ हुने नै भए । भनौं भने कमरेड तपाईंका केही गोली गट्ठा म र म जस्तैको तलब काटेर जुगाड गरिएको थियो ।

यी त कमरेडहरू आफैं जंगल बसेका बेलाको कुरा भयो । हामीले केही गर्न सक्थेनौं भन्न पनि पाइयो । जंगलबाट बाहिरिए पछि लगत लिइएको हो कमरेड । प्रअहरू पनि डराएका थिए । निजी विद्यालयका शिक्षकहरू पनि आन्दोलित थिए । मैले पनि विद्यालय फेरिसकेको थिएँ ।

सदरमुकाम बस्ने मान्छेलाई कमरेडहरूको पनि उठ्ती–बैठ्ती हुने ठाउँमा काम गर्न डरै थियो ।

कहीं कतै गल्ती भइगयो भने त समस्या होला भनेर प्रअले नै हकारे । लगत्तै दशैं विदाको तलब माग्दा नदिएको निहुँमा विद्यालय छोडेको थिएँ ।

नयाँ विद्यालयमा पनि मासिक तलबमान त उही हो कमरेड, नगद रु.२ हजार । प्रअले सालभर पछि आन्दोलन अनि अनेक कुराको प्रभावले होला २५ प्रतिशत बढाएर तलब २ हजार ५०० दिन्छु भन्थे ।

विद्यालय फेरियो । प्रवीणता प्रमाणपत्र तहमा गणित लिएर क्याम्पसमा सर्वोत्कृष्ट नतिजा ल्याएको थिएँ । जाबो २ हजार ५०० मा किन रुमलिन्थें ! ३ हजार ५०० खान थालें ।

त्यसपछि ७ हजार अनि ८ हजार गर्दै सात वर्षपछि राजधानीमा अध्यापन गर्दा १४ हजार कमाउने भएको थिएँ । मीत अनि प्रितका एकै कुरा थिए, ‘केही त गर !’ मलाई म रोजगार छु जस्तो लाग्थ्यो । गरिरहेकै छु जस्तो लाग्थ्यो । गणितमा स्नातक पनि पढ्दैछु जस्तो लाग्थ्यो ।

तेस्रो वर्षमा मिहिनेत नपुगेर तीन विषयमा लड्डु खाएको थिएँ तर गणितमा त फेलै विद्यार्थी पनि बिक्थ्यो । म पनि बिकिरहेको थिएँ । आशा स्नातकोत्तरसम्म सकेर मोल बढाउन सकौंला र गुजारा चल्ला भन्ने थियो ।

कमरेड त्रिविले नतिजा नै ११ महिनामा निकाल्न थाल्यो । परीक्षा दिएको ११ महिनासम्म फेल भइन्छ कि पास थाहा हुन्थेन । परीक्षा दिएको विषयको लागि फेरि तयारी गर्ने कि नगर्ने भन्ने पनि यकिन हुने भएन । अनि नतिजा आए लगत्तै परीक्षा ।

सशस्त्र संघर्ष सकिएकै वर्ष प्रवीणता प्रमाणपत्र तह सकिएको मान्छे संविधानसभाको चुनाव सकेर संविधान बनाउने म्याद सकिइसक्दा पनि तीन वर्ष स्नातक सिध्याउन सकेको थिएनँ ।

जागिर त थियो । म कमरेडले भने जस्तै जागिर हुँदाहुँदै आएको मान्छे हो । जागिर नपाएर या साहुको ऋण लागेर आएको होइन । हो बाउको अपेक्षाको ऋण चाहिं प्रशस्तै थियो । त्यो त कमरेडलाई दोष दिने कुरा पनि त भएन ।

देशमा राजनीतिक अस्थिरता, संवैधानिक रिक्तता, भविष्यको अनिश्चितताका बीच कमरेडहरूले संविधान नबनाए पनि मैले राहदानी बनाएँ । त्यो चाहिं चाँडै बनेको थियो ।

लोकतन्त्रले नेपाली जनतालाई दिएको एकदमै महत्वपूर्ण उपहार भनेकै त्यो बेलाको एमआरपी थियो । त्यो बन्ने बित्तिकै अर्कै आशाको सञ्चार हुन्थ्यो । गच्छे अनुसारको देश जाने सपना देख्न सकिन्थ्यो ।

कतिको पूरा हुन्थे अनि कतिका रहन्थे अधुरा । मेरो पूरा भयो । अध्ययनका लागि प्रवेश आज्ञा मिल्यो । म प्रवासी भएँ । योग्यता अनुसारको काम पाए बस्छु नत्र फर्कन्छु भन्ने थियो । दुःखम्सुखम् योग्यता पनि बढाएँ अनि सोही अनुसारको काम पनि पाएँ । त्यसैले यतै अडिएको छु ।

बाले देश आउन भन्नुहुँदा ‘त्यहाँको राष्ट्रपतिले भन्दा बढी तलब खान्छु !’ भनेर धाक लगाउन पाएको छु । राष्ट्रपतिले जस्तो लोकाचारका लागि बिरामी हुँदा आफैं व्यहोर्ने इच्छा पनि प्रकट गर्नुपर्दैन, तलबबाट काटिने बीमा रकमले नै पुर्‍याउँछ भन्छु । गाडी चढ्न नेता या मन्त्री नै बन्नु परेको छैन साधारण तलबले नै चढेको छु ।

देशमा हुँदा कहीं कतै घुम्न नपाएको म विदेशको जागिरबाट आएको तलबले वर्ष या दुई वर्षमा नेपाल आउँछु । परार त इलामदेखि कञ्चनपुरकै सयर गरें । अनि पोहोर त विद्यालयभरि रटेको गौरव सगरमाथाको फेदीसम्मै पनि पुगें । देश हेर्न पनि विदेश धाउनुपर्ने भएको छ कमरेड, र पो मान्छे बाहिरिएका हुन् कि ?

‘सन्तान ठाउँमा पुगेर त देश–विदेश देख्न पायौं । आफ्नै जागिरका भरमा त त्यो सब कहाँ गर्न सकिन्थ्यो र !’ भनेर बाले सुनाउँदा मेरो हर्षको सीमा थिएन कमरेड ! सन्तानका लागि बाबुआमाको खुशी भन्दा ठूलो के कमाइ होला कमरेड ? हो त्यही कमाइका लागि यता अडिएको छु ।

देशमै बसेर बा–आमाको ‘कठै !’ बन्नु भन्दा प्रवासमै रहेर टेकाउने काठ बनेको छु । कमरेडलाई सुर्ता लाग्ला बा–आमा भेट्न पो के गर्ला यसले भनेर, कमरेड हवाईजहाजले साढे १२ घण्टामै काठमाडौं ओराल्छ । बरु काठमाडौंमा जागिरे हुँदा घर जान १८ घण्टा लाग्थ्यो कमरेड ! १ घण्टामा पुर्‍याउने हवाइजहाज चढ्ने त त्यो बेला हैसियत नै पनि थिएन । बरु अब घर चाँडै पुग्छु । सब पैसै त रहेछ कमरेड !

कमरेडले बेरोजगारीले देश छोडेका होइनन्, जागिरे समेत देश छोडेर जाँदैछन् भन्नुभएको बेलैमा देश छोड्ने ‘रोजगार’हरूको कथा बोकेको डंकी हेरियो कमरेड । डंकी मार्ने हाम्रा नेपालीहरू पनि छन् । ल्याटिन अमेरिकाको जंगल हुँदै अमेरिकासम्म पुग्छन् ।

कमरेडले हो चि मिन्हको कथा पढेर सुरुङ्ग युद्ध गर्ने रहर गरेको देशमा सुरुङ्गहरू पसेरै भए पनि नेपालीहरू आउँदैछन् । पहुँच हुने त भुटानी शरणार्थी बनेर आउन लागेका पनि थिए ।

सेटिङ मिलाउनेलाई त कमरेडको सरकारले नै थुनेको हो क्यारे ! कमरेडलाई थाहा नै होला । कमरेड बोल्नु अनि राजु हिरानीले चलचित्र प्रदर्शनीमा पनि ल्याउनु, गज्जबको संयोग !

कमरेडले हेर्नुभयो भने सपना संघर्षको कथा र त्यसका मूल्यहरू मज्जाले देख्नुहुनेछ चलचित्रमा । त्यसमा पनि रोजगारहरू नै हुन् कमरेड देश छोडेर जाने ! उनीहरू किन गए त चलचित्र हेरेरै बुझ्नुस् । मैले त्यही कथामा आफ्नो पनि जोडेको मात्रै हो कमरेड ! कमरेडलाई चलचित्र हो यसमा त मेरो प्रश्नको उत्तर कहाँ छ र भनेर नलागोस् भनेर मैले मेरै कथा पनि यसमा जोडेको हो कमरेड !

कमरेड, म जाबो त निजी विद्यालयको शिक्षक थिएँ । देशमै बसेको भए पनि त्यही काम गरेर बुढिन्थें होला । तर म नेपाल गएका बेला मैले नै विद्यालयमा पढाएर डाक्टर बनिसकेका विद्यार्थीहरू पनि देश छोड्ने कुरा गर्दैथिए ।

‘५०–६० हजार तलब खाएर कसरी हुन्छ ? सन्तानलाई राम्रो स्कुलमा हाल्नै पर्ला । खान–लाउन अनि बस्नै पर्ला । त्यो जाबो तलबले कसरी गुजारा चल्छ ?’ भन्दै गुनासो गर्दैथिए । यो पढे–लेखेकाहरूको कुरा हो कमरेड ! कति त पढ्न नसकेकाहरू पनि होलान् ? अनि कमरेडको बुर्जुवा शिक्षाको विरोध पत्याएर पढाइ छोडेका कमरेडहरू पनि होलान् ?

कति त रूसी सेनामा पनि गए भनेर समाचारमा पढेको थिएँ । उनीहरूलाई लेनिनको सेवा गरेर अझै पुगेको छैन ! सबै कमरेडहरूको खप्परमा महानगरको मेयर हुने या प्रमको स्वकीय सचिव हुने सौभाग्य कहाँ हुन्छ र ? लेखेर राख्नुस् कमरेड, राजनीतिक अवसरहरू पाएनन् भने तपाईंकै परिवारका नाति–नातिनी पुस्ता समेत देशमा अडिने छैनन् ।

पढेलेखेका र रोजगार भएकैहरू पनि किन विदेश जाँदैछन् भन्ने प्रश्नको उत्तर त कमरेडले आफ्नै जीवनीबाट पनि सिक्नुपर्ने हो । नारायणी विद्या मन्दिर, डण्डा मावि, अनि भीमोदय माविमा मास्टरी चलेकै थियो । रोजगारी त छँदैथियो । अझ युएसएडकै जागिर पनि पाइसकिएको थियो । अनि यो राजनीति गरेर टाउकाको मोल तोकाउँदै किन हिंड्नु परेको थियो कमरेड तपाईंलाई ?

कुनै न कुनै दिन त सफल भइएला भनेर हो नि कमरेड ! हो अहिले देश छोडेर जाने रोजगारहरूको पनि त्यही कारण हो । सुरुवातमा चर्पी नै घोटे पनि पछिका दिन राम्रा होलान् भनेर हो । कमसेकम सन्तानलाई आफूले गर्नुपरेको दुःख गर्नु नपर्ला भनेर हो ।

आशा र सपना भनेको साह्रै खतरनाक हुन्छ कमरेड । त्यसले देश छोडेर विरानो देशमा दुःख गर्न पनि आँट दिन्छ । पानामाका जंगल काट्न अनि डंकी बाटोबाटै भए पनि विदेश पस्न हौसला दिन्छ ।

आशा बाँकी रहेन कमरेड देशमा ! न १० वर्षे सशस्त्र संघर्ष गर्नेहरू प्रति आशा बाँकी रह्यो न विदेशबाट नेपाली फर्काउँछु भन्नेहरूबाट नै आशा बाँकी रह्यो । सबैले विदेशी नागरिकता त्याग्ने वित्तिकै ३२ दिनलाई नै भए पनि गृहमन्त्री हुन्थे भने त आउँथे पनि होला । तर त्यस्तो काकताली सबैलाई त पर्दैन नि ! त्यसैले विदेशिन्छन् कमरेड नेपालीहरू !

अनि फर्कन चाहनेहरू पनि फर्कन्छु कि फर्कन्छु भन्दै विदेशमै ओइलाउँछन् । अलि अघि भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि अनि एकपछि अर्का ठूला नेताहरू समातिन थालेपछि केही होला कि भन्ने भएको थियो ।

पछि अनुसन्धानमा संलग्न प्रहरी नै सरुवा भएपछि अनि प्रतिपक्षी दलहरू पनि मौन रहेपछि आशा मर्‍यो । अहिले त धरौटीमा रिहा नै पनि भइसके के रे ! एक दल भ्रष्ट भए पो अर्कोमा आश गर्न सकिन्थ्यो ! सर्वदलीय भ्रष्टाचार हुने देशमा कोप्रति आशा राख्नु ?

अचेल देश बनाउनु भन्दा फरक देशको नागरिकता बनाउन सजिलो छ कमरेड । देशमा दुःख गरेर सिंहदरबार अघि आत्मदाह गर्नुपर्ने परिस्थितिमा पुग्नु भन्दा मान्छे बरु परिवारबाट टाढा रहेरै भए पनि दुःख गर्न चाहन्छ ।

सत्ता र शक्तिमा हुनुहुन्छ । डाडुपन्यूँ हातमा भएका बेला मास्टरी छोडेर जुन उद्देश्यका लागि वन पस्नुभएको थियो त्यो उद्देश्यका दिशामा दुईचार काम मात्रै पनि गर्नुभयो भने यो क्रम रोकिएला ।

ज्यानको माया मारेको मान्छे प्रम पद जोगाउनैका लागि हरेक अनुसन्धानलाई लास्टमा त्यै पार्दै जानुभयो भने मान्छे विदेश किन जान्छन् भनेर स्वाङ चाहिं नकस्नु होला । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो। भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए ...
— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो । उनीहरुलाई गत कार्तिक ...
: मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 'मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,' अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा ...