— रुसी सेनामा भर्ती भई युक्रेनको जापरियामा खटिइएका गंगाजुमना गाँउपालिका–३ धादिङका ३७ वर्षीय पूर्णवहादुर गुरुङले युद्धमा जानुअघि मंसिर १३ मा फेसबुकमा लेखेका थिए, ‘मैले जीवनमा धेरै सपनाहरु पछ्याएँ । मलाई थाहा छैन, भोलि के हुन्छ ? हेर्दै जाऊँ ।’
रुसी सेनामा भर्ना भएदेखि तालिमको क्रममा आधुनिक हतियार चलाएकासम्म भिडियोहरु राखिरहन्थे । एक महिने आधारभूत तालिम लिएर मंसिर १३ गते पहिलो पटक युद्धमैदानमा प्रवेश गरेका पूर्णबहादुरलाई बारुदी सुरुङ (ल्याण्ड माइन) ले उडाइदियो ।
युद्ध मैदानबाट बाँचेर फर्केर आएका उनका साथीले मंसिर २२ गते पूर्णवहादुरका साइँला दाजु श्यामबहादुरलाई लडाइँको क्रममा पूर्णबहादुरको क्षतविक्षत शरिरको भिडियो पठाइदिए । ‘भाई युक्रेनको माइनमा परेर ज्यान गुमाएको भिडियो पाएँ । त्यो भिडियो निकै दर्दनाक थियो । मैले भाईको अनुहार प्रष्टसँग चिन्न सकें,’ श्यामबहादुरले कान्तिपुरसँग भने, ‘मंसिर १८ गते नै भाईको मृत्यु भएको रहेछ ।’
पूर्णबहादुरसँगै अर्का नेपालीको पनि ज्यान गएको थियो । तिनको भने पहिचान खुलेको छैन । ‘भाईको शव आउँछ जस्तो लागेन । हामीले भाईको तस्बिर राखेर दाहसंस्कार गर्यौं । ३ दिनमै काजक्रियाको काम सक्यौं,’ उनले भने,‘मृत्यु भएको २० दिन भइसकेको छ । यसबारे न रुस सरकारले औपचारिक खबर दिन्छ । न नेपाल सरकार नै केही बोल्छ ।’
श्यामबहादुरकाअनुसार साथीले नदेखेको र भिडियो नलिएको भए पूर्णबहादुरको अवस्था अज्ञात हुने थियो । १२ वर्षको छोरा र ६ वर्षकी छोरीलाई छाडेर सुखद भविष्यको लागि रुस पुगेको ४५ औं दिनमा नै पूर्णबहादुरले देखेको सपना युक्रेनी भूमिमा बिलायो । ‘भाई दुईवर्ष साउदी अरबमा काम गरेर फर्केको थियो । उ सामान्य नागरिक हो । प्रहरी–सेनाको काम गरेको होइन । ८ लाख रुपैयाँ तिरेर अष्टमीको भोलिपल्ट रुसी सेनामा भर्ती हुन गयो । कसले पठायो पनि थाहा छैन । एजेन्टले पत्ता लगाउन सकेको छैन,’ पोर्चुगलबाट हालै फिरेका श्यामबहादुरले भने,‘हामीसँग कुनै सम्बन्ध नै नभएको युद्धले भाईलाई लगिदियो । परिवार नै बिचल्ली हुन पुगेको छ । क्षतिपूर्ति आउँछ कि आउँदैन थाहा छैन ।’
मंसिर १० गते युक्रेनमा मारिएका टीकापुर नगरपालिका–१ दुर्गानगर, कैलालीका ३६ वर्षीय भरत शाहको परिवारले पनि आधिकारिक खबर पाएको छैन । ७ वर्षे नेपाल प्रहरी छाडेर संयुक्त अरब इमिरेट्समा सामान्य सुरक्षा गार्डको काम गरिरहेका भरत तीन महिना अगाडि मात्रै रुसी सेनामा भर्ती भएका थिए । युद्धबाट बाँचेर फर्केका साथीले नै भरतको मृत्यु सम्बन्धमा परिवारलाई खबर दिएका थिए । त्यही खबरको आधारमा परिवारले कुशको शव बनाएर दौलतपुर घाटमा अन्तिम संस्कार गरे ।
‘दाईसँग तीन हप्तादेखि सम्पर्क थिएन। एक्कासी दाईको सहकर्मीबाट मृत्युको खबर आयो । शव आउने नआउनेसमेत टुंगो नभएपछि हामीले आफन्तसँग सल्लाह गरेर अन्तिम संस्कार गरेका हौं,’ भाई मंगल शाहले कान्तिपुरलाई भने । भरतकी श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् । ‘रुसले त हामीलाई मृत्युको आधिकारिक खबर पनि दिँदैनरहेछ’, उनले भने,‘सहकर्मीले दिएको सूचनाको आधारमा आफ्नो मान्छे छैन भनेर बस्नुपर्ने अवस्था आयो ।’
रुसले पछिल्ला घटनाहरुको औपचारिक जानकारी न नेपाल सरकारलाई दिन्छ । न परिवारलाई नै दिएको छ । मानव तस्करको सञ्जालको प्रयोग गरी नेपालको अनुमति नै नलिई नेपालीलाई आफ्नो सेनामा भर्ती गरेको रुसले रेडजोनमा खटिएका नेपालीको सर्न्दभमा कुनैपनि सूचना दिने गरेको छैन ।
सतातेल, खोटाङका ३४ वर्षिय क्षितिज बस्नेत कात्तिक दुई गतेदेखि सम्पर्कविहीन छन् । चार वर्षदेखि दुवईमा सेक्युरिटी गार्ड रहेका क्षितिज भदौ २८ गते रुस पुगेका हुन् । ‘मेरो श्रीमानसँग सम्पर्क टुटेको ६५ दिन बितिसकेको छ । उहाँको अवस्था पत्ता लगाउन धेरै मिहेनत गरिरहेको छु । परराष्ट्रलाई भने । दूतावासले सोधें । क्षितिजको साथीहरुसँग सोधखोज गरिरहेको छु । कसैबाट केही खबर आउँदैन । देखेको छु भनेर कसैले भन्दैन’, पत्नी अञ्जलीले भनिन,‘युक्रेनको लुहान्स जानुअघि मलाई म्यासेज छाड्नु भएको थियो । कार्तिक २ गते बिहान ८ :४७ मा म्यासेज पठाउनुभएको रहेछ । हामी एक–डेड महिना जंगलमा हुन्छौं भन्नु भएको थियो । उहाँले भन्नुभएको समय नै घर्किसक्यो ।’
अञ्जलीका अनुसार क्षितिजसँग गएका ७ जना नेपाली र दुई जना इजिप्सियन गरी ९ जनाको टोली कसैसँग सर्म्पकमा आएको छैन । ‘मसँग ८ वर्षको छोरा र चार वर्षकी छोरी छिन् । मेरो मन निकै आत्तिएको छ’, अञ्जलीको अपिल छ,‘उहाँलाई खोजिदिनुपर्यो । रुस–युक्रेनमा यस्तो खतरानाक युद्ध हुन्छ भन्ने हामीलाई थाहा थिएन । जसले घटना देखेको हुन्छ । त्यो हामीले भन्यो भने थाहा हुन्छ । नत्र थाहा हुँदैन भन्छ । यस्तो कुराले धेरै पिरोल्छ ।’
क्षितिजकै टोलीमा रहेका धनुषाका विमलकुमार गजमेर, रामकृष्ण अधिकारी र भीम बिक पनि हराइरहेका छन् । ‘मेरो भाईको ३० जनाको टोलीमा सामेल थियो । त्यहाँबाट ९ जनालाई अर्को स्थानमा पठाइएको रहेछ,’ विमलका दाई पवन गजमेरले भने,‘भाईसँग मेरो अन्तिम संवाद असोजको २४ गते भएको थियो । त्यतिखेर भाईले आफू तालिममा हुने हुँदा ३ महिनासम्म अफलाइनमा हुने बताएको थियो ।’ रुसले कसैलाई पनि तीन महिनाको तालिम दिएको छैन । एक महिनाको तालिम दिएर युद्धक्षेत्रमा खटाइरहेको छ ।
‘अहिले मैले टिकटक मार्फत् मेरो भाइको साथीहरुसँग सर्म्पक बढाउने प्रयास गरिरहेको छु । मैले धेरै नेपाली पनि भेट्टाए । उनीहरुले मेरो भाईलाई चिन्दा पनि रहेछन् । उनीहरूले भाई जिउँदो छ कि छैन भनेर बताउन सकेका छैनन्’, उनले भने,‘न उनीहरुले मृत्यु भएको प्रमाण दिन सक्छन् । न सकुशल छ भन्न सक्छन् । यो मामिलामा रुसले आफूले भर्ना लिएको सेनाको परिवारको जिम्मेवारी लिनुपर्दथ्यो । रुसले आफ्ना सेनाको परिवारसँग गैरजिम्मेवार ढंगले प्रस्तुत भए । यसको मानसिक तनाव हामीले खेपिरहनुपरेको छ ।’
सुरुङा–२, सप्तरीका २४ वर्षिय सन्दीप दाहाल पनि मंसिर ८ गतेदेखि परिवारसँग सम्पर्कविहीन छन् । तीन वर्षदेखि दुबईमा कार्यरत रेहका उनी भदौ २७ गते रुसी सेनामा भर्ती भएका थिए । ‘भाईको साथी भागेर नेपाल आइपुगेका छन् । उसले हामीलाई भाईको केही बताएको छैन’, सन्दीपका दाई हिसानन्द कोइरालाले भने ।
ती साथीकाअनुसार सन्दीपको समूहलाई युद्ध क्षेत्रमा लगिएको थियो । ‘सहरबाट दुईदिनसम्म गाडीमा सँगै हिँडेको हो । गाडीबाट झरेपछि हामीलाई दुईटा समूहलाई अलग अलग ठाँउमा पठायो । हाम्रो समूहमा दुई जना नेपालीसहित ६ जनाको मृत्यु भयो । त्यो देखेर यहाँ बस्नु हुँदैन भनेर भाग्यौं’, ती साथीको भनाई उद्धत गर्दै हिन्सानन्दले भने,‘त्यो दिनदेखि सन्दीप कहाँ छ मलाई थाहा छैन ।’
रुसी सेनामा रहेका नेपालीहरुकाअनुसार कम्तीमा ७ सय नेपालीलाई रुस–युक्रेन बोर्डरमा खटाइएको छ । यसरी रेडजोनमा कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । रेडजोनमा खटिएर सम्पर्कमा आएका जसले पनि आफ्ना अगाडी साथीहरु मारिएको विवरणहरु भने दिइरहेका छन् । रुसको विभिन्न अस्पतालमा घाइतेहरु उपचाररत छन् । परराष्ट्र मन्त्रालयले हालसम्म युद्धमा ७ जना नेपाली मारिएको पुष्टि गरिसकेको छ । परराष्ट्र मन्त्रालयले एक महिना अगाडि नै रुसी सेनामा रहेको विवरण दिन र नेपालीसँग गरिएको सम्झौतालाई भंग गरी नेपाल पठाइदिन रुस सरकारलाई आग्रह गरेको थियो । तर, रुसले अझै जवाफ दिएको छैन ।