— नेपाल सुपर लिगको पुरस्कार राशि दोब्बर बढाइएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट(एनएसईएम) प्राइभेट लिमिटेडले यस वर्ष प्रथम पुरस्कार ३५ लाखबाट बढाएर ७० लाख रुपैयाँ पुर्याइएको जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै एनएसईएमले यस वर्ष पुरस्कार राशि दोब्ब बनाइएको जनाएको हो । त्यस्तै उपविजेताले २० लाख रुपंयाँ पाउने पनि कम्पनीले जनाएको छ । यसअघि एनएसएलको पहिलो संस्करणमा विजेता टिम काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । त्यस्तै उपविजेता टिम धनगढी एफसीले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
यस पटक मस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बलसहित २ लाख रुपैयाँ पाउने पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताले गोल्डेनबुटसहित १ लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ । धनगढी एफसी फाइनल पुगिसकेको छ । त्यस्तै ललितपुर सिटी पोखरा एफसीबीचको विजेताले फाइनलमा धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।