— रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो ।
नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन । रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले फर्कने अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्न गएका मध्ये ९ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले आफन्तहरूबाट कम्तीमा सय जना नेपालीहरू सर्म्पकविहिन भएको सूचना आएको जनाएको छ ।
पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीहरूलाई सेनामा भर्ती गर्दै पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र पठाउन आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्याइदिन्छु’ भन्दै तर्किएका थिए । उनले नेपालीहरूको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् ।
परराष्ट्रमन्त्री साउदले हालसम्म रुसी सेनामा गएका सय जना नेपाली हराएको सूचना परिवार र आफन्तले दिएको बताए । ‘सरकारलाई परिवार र आफन्तहरूबाट निवेदन प्राप्त भएको छ,’ उनले भने, ‘त्यस विषयमा हामीले रुससँग कुराकानी गरिरहेका छौं ।’ उनले परराष्ट्रले नेपालीलाई सकुशल फिर्ता ल्याउनको लागि निरन्तर गृहकार्य गरिरहेको दाबी गरे । मन्त्री साउदले रुससँग सरकारले कुटनीतिक संवाद गरिरहेको बताए । ‘नतिजा आएपछि मात्र हामी सबैलाई जानकारी दिने छौं । अहिले नै के कुराकानी भएको थियो भन्नेबारेमा बाहिर बोल्नु उचित हुन्न,’ उनले भने ।
रुस र युक्रेनबीच १७ सय किलोमिटरको सिमानामा युद्ध भइरहेको छ । सिमाना र भित्र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ रहेका बताइएको छ । धेरै मानवीय क्षति भइसक्दा पनि नेपालको आग्रहका बाबजुत रुसले रुसले विवरण सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।
जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।
आफन्तले दाहसंस्कार गरेको थप दुई जनाको विषयमा परराष्ट्रले औपचारिक पुष्टि गरेको छैन । ‘हामीले गर्न सक्ने र भन्नु पर्ने ठाँउमा भनिरहेका छौं । तर रुसले हामीले भनेको मानेकै छैन । जसले गर्दा त्यहाँ रहेका नेपालीहरूको अवस्था थाहा पाउन निकै गाह्रो भइरहेको छ,’ परराष्ट्रका एक पदाधिकारीले भने । उनका अनुसार सरकारले आफ्नो माध्यमबाट प्रयास गरिरहने र मस्कोस्थित दूतावासलाई पनि थप सक्रिय हुनको लागि आग्रह गरेको छ ।
रुसी सेनामा नेपालीको प्रयोग सम्बन्धमा कान्तिपुर दैनिकले काठमाडौंस्थित रुसी दूतावाससँग सम्पर्कमा आए । तर नेपालीहरूको रुसी सेनामा प्रयोगको सम्बन्धमा भने कुनै पनि जवाफ दिन चाहेनन् । रुसी सेनामा भर्ती भएका नेपालीका सम्बन्धमा परराष्ट्र मन्त्रालय लामो समय प्रतिक्रियाविहीन रहेको नेपाल सरकारले साउन १६ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेको थियो ।
परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको परराष्ट्रको भनाइ थियो । घटना हुनु अगाडि नै परराष्ट्र मन्त्रालय सक्रिय बन्न सकेन । मस्कोमा रहेको नेपाली दूतावासले भने नेपालीहरूको रुसी सेनामा भर्ती सम्बन्धमा कुनै पनि सूचना पाउन सकेन । नेपालीहरू रुसी सेनामा एक वर्षदेखि भर्ती भएको विषय नेपालीहरू युद्धमा मारिएपछि विदेशी सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि मात्रै नेपाली दूतावासले थाहा पाएको थियो ।
दोस्रो पटक मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए ।
राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । पुस ४ मा पनि परराष्ट्र मन्त्रालयले राजदूत नोभिकोभलाई बोलाएर ध्यानाकर्षण गरायो । नेपाली युवाहरू एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती भएका हुन्छन् ।
तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरू आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गरिरहेका भिडियो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भइरहेरेका छन् ।