मुख्य समाचार
‘प्यारासाइट’का लोकप्रिय अभिनेताले मृत्यु अँगाले
‘प्यारासाइट’का लोकप्रिय अभिनेताले मृत्यु अँगाले

— एउटा कोरियाली उखान छ, ‘मान्छेको मन एकै घटनाले पनि बदल्न सक्छ ।’ सन् २०१९ को अस्कर पुरस्कार विजेता फिल्म ‘प्यारासाइट’ मा आफ्नो भूमिकाका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित र प्रशंसित ४८ वर्षीय अभिनेता ली सन–क्युनको जीवनमा पनि यही भइदियो । लागूऔषध प्रयोग गरेको अभियोगमा प्रहरीले गरेको जबर्जस्त अनुसन्धानले सायद उनको मनलाई जीवनको उज्यालोबाट मृत्युको अँध्यारोतिर फर्काइदियो ।

परिणामतः यी दक्षिण कोरियाली अभिनेताले आत्महत्या गरे । हिउँ परिरहेको सोलमा बुधबार एक शान्त कारभित्र हिउँझैं जमेका लीको निष्प्राण शरीर फेला परेको के थियो, जसले संसारभर विस्मयको तरंग ल्याएको छ ।


लीमाथि चलिरहेको मुद्दाको अनुसन्धानका बीचमा भएको घटनालाई सोलवासीले प्रहरीको कडा व्यवहारलाई यसको कारण भन्दै त्यसप्रति रोष प्रकट गरेका छन् । उनको निजी एजेन्सी ‘होदु एन्ड यु इन्टरटेन्टमेन्ट’ ले दुःखद समाचारको पुष्टि गर्दै उनको निधनमा गहिरो शोक र निराशा व्यक्त गरेको छ । प्यारासाइटमा लीले प्रमुख भूमिका निभाएका छन् । चलचित्रमा उनको अभिनय सूक्ष्म, जटिल र जीवन्त छ । उनले पात्रको चरित्रमा धेरै गहिराइ ल्याउन सकेको भन्दै निकै प्रशंसा बटुलेका थिए । मानवीय संवेदनाले भरिएको लीको जादुमयी अभिनयले नै ‘प्यारासाइट’ले यस्तो महत्त्वपूर्ण र व्यावसायिक सफलता पाएको समालोचकहरूको टिप्पणी छ ।

लीले सन् २०१९ मा प्यारासाइट को विश्वव्यापी सफलता हुनुभन्दा धेरै अघि नै दक्षिण कोरियाली मनोरञ्जन उद्योगमा आफूलाई एक प्रमुख व्यक्तित्वका रूपमा स्थापित गरिसकेका थिए । बोङ जुन–होद्वारा निर्देशित ‘प्यारासाइट’ले उत्कृष्ट चलचित्रसहित चार ओस्कर जितेर अन्तर्राष्ट्रिय प्रशंसा कमाएपछि भने लीको व्यक्तित्वले विश्वव्यापी परिधि निर्माण गरेको थियो । ‘प्यारासाइट’ ओस्कार पाउने पहिलो कोरियन चलचित्र त हुँदै हो, पहिलो गैरअंग्रेजी भाषाको चलचित्रको पनि बन्न पुग्यो । यी दुई ऐतिहासिक संयोगले चर्चाको चुलीमा पुगेको प्यारासाइट र यसका अभिनेताको आकर्षण पनि बढ्न पुगेको थियो । सामाजिक वर्गहरूको अपासी सम्बन्धले जीवनका ल्याउने जटिलतालाई गज्जबले देखाएको भन्दै फिल्मको प्रशंसा भएको थियो भने त्यसमा जीवन्त अभिनय गरेकामा लीको ।

१९७५ मार्च २ मा सोलमा जन्मेका लीले कोरिया नेसनल युनिभर्सिटी अफ आर्ट्समा पढाइ सकेपछि आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनको व्यावसायिक यात्रा १९९९ मा एक म्युजिक भिडियोबाट सुरु भएको थियो । वर्षौंको मिहिनेतपछि उनी दक्षिण कोरियालीको घरघरमा लिइने नाम बन्न पुगे । उनले ‘कफी प्रिन्स’ ‘बिहान्ड द ह्वाइट’ ‘टावर’ ‘पास्ता’ र ‘माई मास्टर’ जस्ता लोकप्रिय टीभी सिरियलहरूमा आफ्नो अभिनयमार्फत दर्शकहरूलाई मोहित पारे ।


बिस्तारै, ली सन–क्युनको प्रभाव टेलिभिजनभन्दा पर पुग्यो र अन्तर्राष्ट्रियस्तरमा विस्तार भयो । २०२१ मा, उनले एप्पल टीभी प्लसको पहिलो कोरियाली भाषाको मौलिक उत्पादन साइ–फाई थ्रिलर ‘डा. ब्रेन’ मा मुख्य भूमिका निभाएका थिए, जहाँ उनले एक समस्याग्रस्त मस्तिष्क अनुसन्धानकर्ताका रूपमा दर्शकको मन जिते । उत्कृष्ट प्रदर्शनले उनी अन्तर्राष्ट्रिय एमी अवार्डमा सर्वश्रेष्ठ अभिनेताको उपाधिका लागि मनोनीत हुन पुगे । यतिका सफलताका बाबजुद पनि लीको व्यक्तिगत जीवन भने लागूऔषधको अवैध सेवनका मामिलाहरूमा अल्झिन पुगेको थियो । एक रेस्टुरेन्टकी युवतीले आफूलाई केही खुवाउने गरेको र त्यो के हो भन्नेचाहिँ थाहा नभएको बयान उनले प्रहरीलाई दिएका थिए ।

ती युवतीले लागूऔषधको डर देखाएर आफूमाथि ब्ल्याकमेलिङ पनि गरेको लीले बताएका थिए । लागूऔषधको कारोबार र प्रयोगलाई कडा आपराधिक कार्य मान्ने कोरियाली कानुनका कडा सजायको व्यवस्था गरिएको छ । त्यसैको अनुसरण गर्दै प्रहरीले पछिल्लो पटक लगातार १९ घण्टासम्म लीसँग बयान लिएको थियो ।

दक्षिण कोरियाको लागूऔषध नीति विश्वमा सबैभन्दा कडामध्ये पर्छ जहाँका नागरिकले देशबाहिर किन नहोस्, लागूऔषध प्रयोग गरेका छन् भने कसुर हेरी ६ महिनादेखि १४ वर्षसम्मको जेल सजाय खेप्नुपर्ने कानुन छ । कोरियाली प्रहरीका अनुसार यस वर्ष ११ महिनामा १७ हजारभन्दा बढी मानिसहरू लागूऔषधसम्बन्धी अभियोगमा पक्राउ परेका थिए ।

अघिल्लो वर्ष १२ हजार पक्राउ परेका थिए । विश्वव्यापी हुँदै गएसँगै दक्षिण कोरियाको मनोरञ्जन उद्योगमा लागूऔषध दुरुपयोग स्क्यान्डलहरू पनि बढ्न थालेका थिए । खास गरी के–पप गायकहरू र चलचित्र स्टारहरूमा भेटिएको बढ्दो सेवनले प्रहरीको निगरानी बढ्न थालेको थियो ।

लीको मृत्युको पृष्ठभूमिमा दक्षिण कोरियाको लागूऔषधसम्बन्धी कठोर कानुन र त्यसभन्दा पनि कठोर प्रहरीको व्यवहार भएको टिप्पणीले अहिले कोरियाली समाज तरंगित छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक यिओलले भर्खरै ‘लागूऔषधविरुद्धको युद्ध’ घोषणा गर्दै यसको कारोबार र सेवन दुवै गर्नेलाई शून्य सहनशीलताको नीति अपनाउने बताएका थिए ।

त्यसलगत्तै, दक्षिण कोरियामा लागूऔषधविरोधी अभियान र अवैध पदार्थको तस्करीविरुद्ध कडा कारबाही बढेको थियो । हालैका साताहरूमा दक्षिण कोरियाली सरकारले लागूऔषध प्रयोग गरेको अभियोगमा समाजका प्रतिष्ठित र व्यावसायिक घरानाका व्यक्तिहरूविरुद्ध अनुसन्धान तीव्र पारेको थियो ।

दक्षिण कोरियाको मनोरञ्जन उद्योगले जन्माएका के–पप गायक र चलचित्र अभिनेताहरू यी पछिल्ला कारबाहीको तारोमा पर्दै आएका थिए । पप गायक जी–ड्रागन त्यसै उपक्रममा पक्राउ परेका थिए ।

यही सिलसिलामा सोधपुछमा परेका लीको विस्मयकारी मृत्युले कोरियाली समाजलाई उद्वेलित पारेको छ भने त्यहाँको उदाउँदो मनोरञ्जन उद्योगमा एउटा शून्यता खडा गरिदिएको छ । लीकी पत्नी अभिनेत्री जिओन हाइ–जिन हुन् । उनीहरूका दुई छोरा छन् । उनीहरू सबैप्रति शुभेच्छुकहरूको सहानुभूति देखिएको छ भने कलाकार तथा प्रतिष्ठित व्यक्तिको मानसिक स्वास्थ्यबारे धक फुकाएर चर्चा नहुनाले यस्तो अवस्था निम्तिने गरेको हो भन्नेको संख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...