— सन् २०२३ त्यस्तो एक अर्को वर्ष रह्यो, जसमा खेलकुदको दृष्टिकोणले सबै ती रहे, जित र हार, सफलता र निराशा, विवाद र अन्योल, उपलब्धि र पतनदेखि सनसनरी र रोमाञ्चकता । खेलकुद भनेपछि हुरुक्क हुन बाध्य पार्ने यिनै नै हुन् ।
अन्तर्राष्ट्रिय खेलकुदलाई नेपाली दृष्टिकोणले हेर्दा मुख्य–मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता र घटना के कस्तो रह्यो त ? कान्तिपुर स्पोटर््स डेस्कले त्यसको सूची तयार पारेको छ र यी यस प्रकार रहे :
एसियाली खेलकुद
फेरि एकपल्ट एसियाली खेलकुद चीन फर्केको वर्ष रह्यो, २०२३ । बेइजिङ र ग्वाङचाउपछि हाङचाउले चिनियाँ सहरका रूपमा तेस्रोपल्ट एसियाली खेलकुदको आयोजना गर्यो । प्रतियोगिता सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना भएको थियो । यसलाई चीनले आफ्नो वैभव र विकास बाँकी विश्वलाई देखाउने अवसरका रूपमा हेरेको थियो र यसको सफलतापूर्वक आयोजना पनि गर्यो । कुनै प्रकारको विवाद नै भएन भन्दा हुन्छ । फेरि एकपल्ट चीन २ सय १ स्वर्णसहित पदक तालिकाको शीर्षमा रह्यो । एसियाली खेलकुदमा कुनै पनि देशको यत्तिको एकलौटी वर्चस्व यसअघि कसैको देखिएको थिएन ।
एकदिवसीय विश्वकप
एकदिवसीय विश्वकपको १३ औं संस्करण भारत एक्लैले आयोजना गर्यो र यस क्रममा फेरि एकपल्ट प्रमाणित भएको छ, अझै पनि एकदिवसीय क्रिकेटको भविष्य छ, यो मरेको छैन । अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजित प्रतियोगितामा आयोजक भारत पूर्णतः छायो तर पनि उसले उपाधि भने जित्न सकेन । लिग चरणमा अपराजित रहने क्रममा भारतले सुदृढ खेल प्रदर्शन गरेको थियो । हैदराबादमा भएको फाइनलमा अस्ट्रेलिया भारतविरुद्ध जित निकाल्न सफल रह्यो । यो अस्ट्रेलियाले जितेको छैटौं एकदिवसीय विश्वकप रह्यो । प्रतियोगितामा सहभागी टिम भने १० मात्रै रहे, त्यसैले यसको आलोचना पनि उत्तिकै भयो ।
महिला विश्वकप फुटबल
यसअघि पुरुष विश्वकपकै मात्र चर्चा हुन्थ्यो, यसपल्ट महिला विश्वकपले पनि उत्तिकै चर्चा पायो । त्यो अर्थमा अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गरेको विश्वकपलाई सफल मान्नु पर्छ । एकपछि अर्को दर्शकको कीर्तिमान नै पनि बन्यो । सहभागी टिमको संख्या बढाएर ३२ टिममा पुर्याइएको थियो र यसका सकारात्मक प्रभाव रह्यो । उपाधि भने स्पेनको नाममा रह्यो । स्पेनले पहिलो पल्ट विश्वकप जितेको थियो, इंग्ल्यान्डलाई हराए । तर सबै उपलब्धी त्यति बेला ओझलमा पर्यो, जति बेला स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले जेनी हेरमोसालाई ओठमा चुम्बन गरेर विवाद निम्त्याए ।
मेसी अमेरिका, रोनाल्डो साउदीतिर
आधुनिक फुटबलका दुई ठूला नाम हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । यो वर्ष उनीहरूले आफ्नो व्यावसायिक फुटबलका लागि नयाँ गन्तव्य रोजे । मेसी अमेरिका गए, त्यहाँको इन्टर मियामीका लागि खेल्न । रोनाल्डो भने साउदी अरेबिया छिरे, त्यहाँको प्रो–लिगमा खेल्न । एउटा नयाँ सनसनीका रूपमा प्रो–लिग अगाडि आएको थियो र यसले युरोपका पारम्परिक लिगलाई धक्का दिन सक्ने स्थिति पनि देखियो । रोनाल्डो आफैंले अबका केही वर्षमा साउदी लिग विश्वकै उत्कृष्ट तीन–चार लिगभित्र पर्ने दाबी पनि गरे । मेसी आएपछि भने अमेरिकामा फुटबलको लोकप्रियता ह्वात्तै बढेको थियो र टाइम म्यागाजिनले उनलाई वर्षका खेलाडी पनि घोषित गर्यो ।
सिटीको तेहरो उपलब्धि
सन् २०२२–२३ को युरोपेली च्याम्पियन्स लिग उपाधि जित्न म्यानचेस्टर सिटीले इन्टर मिलानलाई १–० ले हरायो । सिटीले युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि जितेको यो पहिलोपल्ट रह्यो । कुरा यत्तिकैमा सकिन्न । उसले इंग्लिस प्रिमियर लिग पनि जित्यो, अनि एफएकप पनि । यसरी एकै सिजन तीन ठूलो उपलब्धिको दुर्लभ कीर्तिमान बनाउन सफल रह्यो, सिटी । पेप ग्वार्डिओलाको सिटीले इंग्लिस फुटबलमा त एकछत्र राज नै गरेको थियो । सिटीले लगातार तेस्रो सिजन प्रिमियर लिग पनि जितेर आफू कति धेरै बलियो छ भनेर प्रमाणित पनि गरेको थियो । वर्षको अन्त्यमा सिटीले क्लब विश्वकपको उपाधि पनि हात पार्यो ।
गुमाएका केही ठूला नाम
सन् २०२३ मा विश्वले गुमाएको खेलकुदको सबैभन्दा ठूलो नाम फुटबलका बबी चार्ल्टन रहे । म्यानचेस्टर युनाइटेडका यी लेजेन्डले सन् १९६६ को विश्वकप पनि जितेका थिए, इंग्ल्यान्डका लागि । मैदानभित्र चमत्कारी खेल प्रदर्शन गर्ने चाल्टर्न मैदान बाहिर भने भलाद्मी थिए । भारतीय क्रिकेटका पूर्वकप्तान तथा स्पिनर विसनसिंह बेदी पनि रहेनन् । उनी प्रायः मनमा जे जस्तो छ, त्यही बोल्थे । त्यसैले विवादमा पनि परिरहन्थे, तर उनको भनाइ प्रायः सत्य नै हुन्थे । जिम्बावेको क्रिकेट आफ्नो सफलताको शिखरमा हुँदाका एक खेलाडी हिथ स्ट्रिक पनि मृत्यु आत्मसात् गर्न पुगे ।