मुख्य समाचार
सन् २०२३ : पर्यटक आगमन १० लाख १५ हजार, भारतीय र अमेरिकीको आगमन उत्साहजनक
सन् २०२३ : पर्यटक आगमन १० लाख १५ हजार, भारतीय र अमेरिकीको आगमन उत्साहजनक

। नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

चीनले नाकाहरु खुला गर्दै जाँदा चिनियाँ पर्यटकहरु समेत बढ्न थालेको र यसले समग्र पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस वर्ष अमेरिकी र बंगलादेशी पर्यटकको आगमन हौसलाजनक रह्यो,’ उनले भने, ‘भारतीय पर्यटकको आगमनले समेत उत्साह थपिएको हो ।’

वर्षको अन्तिमतिर चीनले सबै नाकाहरु खोल्दै जाँदा सन् २०२४ मा भारतीय र चिनियाँ पर्यटकबीच आगमनमै प्रतिस्पर्धा हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ । सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक आएका थिए । यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो ।



तेस्रो वर्ष १० लाख माथि आगमन

नेपालको पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र सन् २०१९ मा १० लाख माथि पर्यटक भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए ।

सरकारले सन् २०११ मा भ्रमण वर्ष मनाउने क्रममा वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सन् २०२० मा अर्को भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको भएपनि सो वर्षबाट सुरु भएको कोरोना महामारीले लगातार तीन वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुग्यो । यस वर्ष भने सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतले आगमन भएको देखिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

लक्ष्य भेटियो

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सन् २०२३ मा १० लाख पर्यटक आगमन पुर्‍याउने घोषणा गरेको थियो । सो लक्ष्य पूरा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारको यस वर्षको लक्ष्य पूरा भएको भन्दै यसले आगामी वर्षका लागि सकारात्मक सन्देश दिएको बताएका छन् ।

आइतबार नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा सरकारी लक्ष्य पूरा भएकोमा बधाइ दिँदै उनले सरकारले रैथाने पर्यटनमा जोड दिएको जानकारी दिए । उनले यसबाट संस्कृति बचाउने, पर्यटनको लाभ स्थानीयले पाउने उल्लेख गरे ।

सन् २०२४ का लागि आशाको किरण

पछिल्लो समय चीनले नेपालसँगका सबै नाका खुला गरेको छ । साथै स्थलमार्गबाट समेत पर्यटक आगमन सुरु भएको छ । यसप्रति व्यवसायी सकारात्मक छन् । अघिल्लो साता हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा सिधा उडान सुरु गरेको छ । यससँगै चीनले कोरोना महामारीपछि बन्द गरेका सबै हवाई तथा स्थल नाकाहरु सुचारु भएका छन् । भारतीय पर्यटकको बढ्दो आगमन र चिनीयाँ नागरिक थपिँदा सन् २०२४ अझ उत्साहजनक रहने अपेक्षा व्यवसायीको छ ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह नेपालले आजकै दिनमा ३० देखि ३५ लाखसम्म पर्यटकलाई स्वागत गर्न सक्षम रहेको भन्दै सरकारको इमानदार प्रयासको खाँचो रहेको बताउँछन् ।

‘इयूको कालोसूची, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगममा तमाम समस्याका बीच निजी क्षेत्रको पहलमा यो आगमन सम्भव भएको हो,’ उनले भने, ‘सरकारले अपनत्व लिने हो भने यो भन्दा दोब्बर संख्यामा पर्यटक भित्राउन सम्भव छ ।’

अबको लक्ष्य २० लाख !

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अघिल्लो साता राज्यका नाममा सम्बोधन गर्दै सन् २०२४ मा दोब्बर संख्यामा पर्यटक आगमन गराउने घोषणा गरेका छन् । उनको यो घोषणासँगै अब सरकारको लक्ष्य २० लाख भएको छ ।

सरकारले घोषणा गरेको यो लक्ष्य पुरा गर्न यसअघि घोषित पर्यटक दशकको कार्यक्रमलाई सक्रिय बनाएर आक्रामक प्रचार, उपलब्ध हवाई पूर्वाधारको अधिकतम प्रयोग र पूर्वाधार निर्माणलाई तिब्रता दिनुपर्ने हानका अध्यक्ष शाह बताउँछन् । अहिले काठमाडौंबाट पोखरा जाने बाटो निर्माणको क्रममा छ । तर, यसमा भएको ढिलाईले पर्यटकको यात्रा कष्टकर बनाइरहेको छ ।

पोखरा र भैरहवा विमानस्थल निर्माण सम्पन्न भएर पनि व्यवसायिक सञ्चालनमा आउन सकेका छैनन् । यी विमानस्थल चलाउँदा मात्र पनि पर्यटक आगमन सजिलै दोब्बर हुन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...