— इजरायली आक्रमणमा हमासका वरिष्ठ नेता मारिएका छन् । इजरायलले मंगलबार लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हमासका उपप्रमुख ५७ वर्षीय सालेह अल-अरुरीको मृत्यु भएको हो । अरुरी गत अक्टोबर ७ मा इजरायल-हमास युद्ध सुरु भएयता मारिने वरिष्ठ हमास नेता हुन् ।
इजरायलले उक्त आक्रमण लेबनानविरुद्ध नभई 'हमास नेतृत्वविरुद्धको सर्जिकल स्ट्राइक' भएको दाबी गरेको छ ।
हिजबुल्लाहले भने इजरायलले लेबनानी सम्प्रुभतामाथि आक्रमण गरेको जनाएको छ । त्यस्तै लेबनानी प्रधानमन्त्री नजिब मिकातीले पनि इजरायलले हमाससँग युद्धमा 'लेबनानलाई तान्न' खोजिएको आरोप लगाएको छ । दक्षिणी बेरुतमा गरिएको ड्रोन आक्रमणमा अरुरीसहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् जसमा २ जना हमासका सैन्य कमान्डर र ४ सदस्य रहेको बताइएको छ ।
अरुरी हमासको कासम ब्रिगेडका महत्त्वपूर्ण सदस्यका रूपमा रहेका थिए । उनी हमास नेता इस्माइल हनियाका करिबीसमेत मानिन्छन् । उनी लेबनानमा रहेर हमास र हिजबुल्लाहको सम्बन्ध विस्तारमा काम गरिरहेको बीबीसीले जनाएको छ ।