— इल्कयी गुन्डोगनले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनलो स्पेनी ला लिगामा बिहीबार लास पाल्मासलाई २–१ ले हराएको छ ।
लिग तालिकाको शीर्षमा रहेका रियल म्याड्रिड र जिरोनाले यसअघि जित निकालेको हुनाले ज्याभीको बार्सिलोनालाई यस खेलमा निश्चित तीन अंक आवश्यक थियो ।
गुन्डोगनलाई दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फल गरेपछि डेली सिन्कग्राभेनलाई रातो कार्ड देखाइएको थियो र लास पाल्मास दस खेलाडीमा सीमित रह्यो । त्यस अगाडि लास पाल्पासले मुनिर एल हाडाडीको गोलले अग्रता लिएको थियो ।
बार्सिलोनाका लागि फेरान टोरेसले बराबरी गोल फर्काए । यो जितपछि बार्सिलोनाको १९ खेलबाट ४१ अंक भएको छ र यो शीर्षमा रहेका रियल तथा जिरोनासँग सात अंकको दूरी हो । बिहीबारको अर्को खेलमा एथलेटिको बिलबाओले सेभियालाई २–० ले हरायो र अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो ।