— अस्ट्रेलियाले पाकिस्तानविरुद्धको तीन टेस्टको सिरिज ३–० ले जित्दै क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलिया सजिलै आठ विकेटले विजयी रह्यो । जितका लागि १ सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दुई विकेट गुमाएर सजिलै त्यहाँसम्म पुगेको थियो ।
खेल चौथो दिनको दोस्रो सेसनमै सकिएको हो । पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय १५ रनमै समेटिएपछि अस्ट्रेलियाको सजिलो जित सम्भव भएको हो । घरेलु टिमका लागि मार्नस लबुसेन ६२ र स्टिभ स्मिथ चार रनमा नटआउट रहे ।
यसअघि आफ्नो अन्तिम टेस्ट खेलिरहेका डेविड वार्नरले ५७ रन बनाए । पाकिस्तानले पहिलो इनिङ्समा ३ सय १३ रन बनाएपछि जवाफमा अस्ट्रेलियाले २ सय ९९ रन जोडेको थियो । अस्ट्रेलियाले पर्थमा भएको पहिलो टेस्ट ३ सय ६० र मेलबर्नमा भएको दोस्रो टेस्ट ७९ रनले जितेको थियो ।