। स्पानिस सुपर कपको ८ गोल भएको सेमिफाइनल थ्रीलरमा रियल मड्रिडद्ये एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
साउदी अरेबियामा भएको खेलको अतिरिक्त समयमा ब्राहिम डियाज र आत्मघाती गोल मद्दतमा रियलले एट्लेटिकोलाई ५-३ ले पराजित गरेको हो ।
निर्धारित समयममा एट्लेटिकोले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन । रियलले पनि एकपटक अग्रता लिएको थियो ।
खेलको छैटौं मिनेटमै मारियो हर्मोसोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर २०औं मिनेटमा रियलका एन्टोनियो रुडिगरले बराबरी गोल फर्काए । फर्लान मेन्डीले २९औं मिनेटमा गोल गर्दै रियललाई पहिलो पटक अग्रता दिलाए । तर एन्टोनी ग्रीजमनले क्लबका लागि कीर्तिमानी १७४औं गोल गोल गरेपछि एट्लेटिको खेलमा फर्कियो ।
रियलका रुडिगरले नै ७८औं मिनेटमा आत्मघाती गोल गर्दा एट्लेटिकोले फेरि खेलमा ३-२ को अग्रता बनायो । तर, त्यसलाई कायम राख्न भने सकेन । डानी कार्भाजलले ८५औं मिनेटमा रियलका लागि बराबरी गोल गरे ।
निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरी भएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा रियल भाग्यमानी बन्यो ।
११६औं मिनेटमा एट्लेटिकोका स्टेफेन साभिसले आत्मघाती गोल गरेपछि रियल जित नजिक पुगेको थियो । अतिरिक्त समयको इन्जुरी टाइममा डियाजले गोल गर्दै रियललाई सानदार जित दिलाए ।
रियलले अब बिहीबार बार्सिलोना र ओसासुनाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्देछ । फाइनल खेल १४ जनवरीमा हुनेछ ।