। नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।
ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले लगानी गर्दैछन् ।
वन तथा वातावरण मन्त्रालयले आयोजनाको ईआईए प्रतिवेदन रायका लागि सार्वजनिक समेत गरेको छ । यो आयोजनाका लागि अरूण नदीमा १ सय मिटर अग्लो बाँध बाधिने छ । जसबाट २०.१ हेक्टर क्षेत्रमा जलासय बन्ने छ । यो पानीलाई सुरुङको माध्यमबाट विद्युतगृहमा पठाइ १ हजार ६३.६३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । यस आयोजनाबाट वार्षिक औसतः ४ हजार ५४९.५७ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ ।
अरूण नदीबाट विद्युतगृहसम्म सुरुङमार्फत पानी फर्काउँदा करिव १६.४५ किलोमिटरमा पानीको बहाव कम हुने समेत ईआईए प्रतिवेदनमा उल्लेख छ । यो आयोजनामा बाँध, सुरुङ, अडिट र विद्युत् क्षेत्रमा विभिन्न सहायक संरचना बन्ने भएका छन् । यो आयोजना जल प्रवाहका लागि आवश्यक हाइड्रोलिक क्षमता कम भएको अवस्थामा पिकिङ अन अप रिभर (पीआरओआर) मोडलमा सञ्चालन हुने छ ।
यो आयोजनाबाट ४५ सय जनाले रोजगारी तथा उद्यमको अवसर पाउने अनुमान गरिएको छ । आयोजना निर्माण सम्पन्न भइसकेपछि ऊर्जा उत्पादन र विद्युत् केन्द्र सञ्चालनका दौरान १३० जनाले रोजगारी पाउने छन् ।
१७ हजार ८६४ रुख काटिँदै
यो आयोजना निर्माणका दौरान १७ हजार ८६४ वटा रुख काटिने भएका छन् । जसमा पोल साइजका १४ हजार ४३६ र ३ हजार ४२८ वटा रुख रहेका छन् । कुल ७३.३१ वन क्षेत्र आवश्यक रहने यो आयोजनामा ४०.०७ हेक्टर सरकारद्वारा व्यवस्थित वन, ११.६२ सामुदायिक वन र २१.६२ हेक्टर मकालु बरुण मध्यवर्गी वन क्षेत्रमा पर्छ ।
यो आयोजनाका लागि ६३.५१ हेक्टर निजी जमिन अधिग्रहण गर्नु पर्ने भएको छ । जसबाट ३२६ घरधुरीलाई असर गर्नेछ । ३१.०३ हेक्टर खेतियोग्य जमिन, ३१.९७ हेक्टर खरबारी र ०.५१ हेक्टर बाँझो रहने भएको छ ।
यो आयोजनामा विश्व बैंकको नेतृत्वमा वित्तीय स्रोत जुटाइएको छ । आयोजनाका लागि विश्व बैंकसँग ५३.१४ अर्ब रुपैयाँको समझदारी भइसकेको छ । आयोजनाको कुल लागत २ खर्ब १४ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । आयोजना ६ वर्ष भित्र सक्ने योजना छ ।