मुख्य समाचार
भारतीय कूटनीति : माल्दिभ्ससँग बिग्रिँदै, बंगलादेशँग कस्सिँदै
भारतीय कूटनीति : माल्दिभ्ससँग बिग्रिँदै, बंगलादेशँग कस्सिँदै

— माल्दिभ्सका तीन जना मन्त्रीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको नकारात्मक टिप्पणीपछि दुई देशबीच तनाव बढेको छ । भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ ट्रेन्डिङमा आएको छ । राजनीतिज्ञ मात्र होइन, खेलाडी र बलिवुड सेलेब्रिटीसम्म उक्त ट्रेन्डिङको हिस्सा बनेका छन् ।

यसै हप्ताको प्रारम्भमा मोदीले लक्षद्वीपको यात्रा गरेका थिए । उनले पर्यटन प्रवर्द्धनका लागि त्यहाँका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । मोदीको उक्त पोस्टपछि गुगलमा लक्षद्वीप खोज्नेहरूको संख्या ह्वात्तै बढेको थियो । कतिपयले भारतीय पर्यटकलाई माल्दिभ्स नगई लक्षद्वीप रोज्नुपर्ने सुझाव पनि दिएका थिए । त्यसैमा माल्दिभ्सका तीनजना मन्त्रीहरुको आपत्तिजनक टिप्पणी आएको थियो । उनीहरूले मोदीलाई लक्षित गरेर 'आतंककारी र इजरायलको कठपुतली' जस्ता शब्द लेखेका थिए । यद्यपि केही बेरमै त्यो टिप्पणीलाई डिलिट गरिएको थियो । उनीहरूले भारतमा पर्यटन क्षेत्र अव्यवस्थित र आतिथ्यता पनि राम्रो नरहेको भन्दै माल्दिभ्ससँग तुलनै हुन नसक्नेबताएका थिए ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जु भारतविरोधी र चीन समर्थक रहेको भारतमा हल्ला फैलाइन्छ । उनको क्याबिनेटका मन्त्रीको आपत्तिजनक टिप्पणीपछि नागरिक तहबाटै भारतमा माल्दिभ्सप्रति कडा प्रतिक्रिया आएको हो । सरकारले पनि कडा शब्दमा आफ्नो असन्तुष्टि जनाएको छ । दिल्लीमा रहेका माल्दिभ्स सरकारका राजदूत इब्राहिम साहिबलाई विदेश मन्त्रालयले बोलाएर स्पष्टीकरण सोधेको छ । त्यस्तै, माल्दिभ्समा रहेको भारतका राजदूतले त्यहाँको विदेश मन्त्रालयसमक्ष विरोध जनाएका छन् । भारतबाट आएको कडा प्रतिक्रियालाई हेर्दै माल्दिभ्सका राष्ट्रपतिले भारतप्रति आपत्तिजनक टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बनसमेत गरेको छ । माल्दिभ्स सरकारले मन्त्रीहरूको विचार सरकारको नरहेको स्पष्टीकरणसमेत दिएको छ ।

दुई महिना अगाडि गत नोभेम्बरबाट नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुको हातमा माल्दिभ्सको सत्ता आएदेखि भारतसँगको सम्बन्ध बिग्रिँदै गएको देखिन्छ । ‘इन्डिया आउट’ र भारतविरोधी नारा लगाएर मोइज्जु चुनावी मैदानमा उत्रिएका थिए । उनको जितसँगै माल्दिभ्समा भारतविरोधी सरकार बनेको नयाँ दिल्लीका मिडियाहरूले लेखेका थिए । सत्ता सम्हालेलगत्तै मोइज्जुले माल्दिभ्समा रहेका भारतीय सैनिकहरूलाई फिर्ता पठाउने बताएका थिए । भारतसँग विगतमा भएका केही सम्झौताहरूबाट पनि उनी पछि हटेका छन् । सत्ता सम्हालेपछि पहिलो विदेश यात्रा भारतबाट गर्ने परम्परालाई पनि मोइज्जुले तोडेका छन् । उनले यही साता चीनको यात्रा गरेका छन् । त्यसपूर्व टर्की र यूएईको यात्रा गरेका थिए ।

जवाहरलाल विश्वविद्यालयमा दक्षिण एसिया अध्ययन केन्द्रका प्राध्यापक सञ्जय के भारद्वाज माल्दिभ्ससँग भारतको सम्बन्ध विगतमा पनि चिसिए पनि यो स्तरको खराब कहिल्यै नदेखिएको बताउँछन् । भारतसँगको राम्रो सम्बन्धलाई माल्दिभ्सको नेतृत्वले अहिले भुलेको अनुभव भएको उनी भन्छन् । ‘माल्दिभ्सको जीडीपीमा पर्यटन क्षेत्रको ठूलो योगदान छ, त्यहाँ पुग्ने पर्यटकहरूमा भारतीयको संख्या पहिलो नम्बरमा छ,’ उनले भने ‘पर्यटन क्षेत्रमा मात्रै होइन–सुरक्षा, औषधि, पानी र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुका लागि पनि माल्दिभ्सको धेरै हदसम्म निर्भरता भारतमाथि छ ।’ उनले यस्तो स्थितिमा सम्बन्धलाई बिग्रिन नदिन वा बिग्रेको विषयलाई सुधार्ने जिम्मेवारी माल्दिभ्सकै नेतृत्वमाथि रहेको उनी टिप्पणी गर्छन् ।

पछिल्लो पाँच वर्षमा भारतीय पर्यटकको रोजाइ माल्दिभ्स बढेको छ । सन् २०२३ मा करिब २ लाख भारतीय पर्यटक त्यहाँ पुगेका थिए । दोस्रोमा रुसी र तेस्रोमा चिनियाँ पर्यटकको संख्या थियो ।

बंगलादेशसँग सम्बन्ध कस्सिँदै

माल्दिभ्ससँग सम्बन्ध चिसिएको बेला दुई दिनअगाडि बांग्लादेशमा आएको चुनावी परिणामले भने भारत हौसिएको देखिन्छ । ७ जनवरीमा भएको चुनावको नतिजा पूर्वानुमान गरिएजस्तै प्रधानमन्त्री शेख हसिनाको पक्षमा आएको छ । हसिनाको पार्टीले स्पष्ट जनादेश पाएको छ । विवाद र विपक्षी दलको बहिष्कारबीच भएको चुनावमा ४० प्रतिशत मात्रै मतदान भएको छ । भारतले हसिनाको जितमा तत्कालै बधाई दिएको छ । भारतीय मिडियाले माल्दिभ्समा चीननिकट सरकार भए पनि बंगलादेशमा हसिनाको जितलाई भारतको पक्षमा व्याख्या गरेका छन् । बंगलादेशीय संसद्(जातीय संसद्) ३ सय ५० सदस्यीय छ । ५० सिट महिलाका लागि आरक्षित गरिएको छ । त्यसका लागि चुनाव हुँदैन । बाँकी ३ सय सिटमा भएको मतदानमा २ सय २२ सिट शेख हसिनाको पार्टी अवामी लिगले जितेको छ । ६२ सिट निर्दलीय उम्मेदवारले जितेका छन् । त्यसमा पनि धेरै हसिनाकै समर्थक रहेको बताइन्छ ।


हसिना पाँचौँ पटक र लगातार चौथो पटक प्रधानमन्त्री बनेकी छन् । सन् २००९ यता लगातार उनी प्रधानमन्त्री छन् । त्यस अगाडि उनी पहिलो पटक सन् १९९६ मा प्रधानमन्त्री बनेकी थिइन ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगालदेश नेसनलिस्ट पार्टी (बीएनपी) सहित केही दलले चुनाव बहिष्कार गरेको थियो । विपक्षी दलले हसिनाको नेतृत्वमा निष्पक्ष चुनाव हुन नसक्ने भन्दै चुनावका लागि ‘केयर टेकर’ सरकार बनाइनुपर्ने माग गरेका थिए । तर, हसिना सरकारले त्यसलाई स्वीकार नगरेपछि विपक्षी पार्टीहरूले चुनावमा भाग लिएनन् ।

मतदातालाई पनि चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए । चुनावका दिन देशभर हड्ताल र बन्दको आह्वान गरिएको थियो । विपक्षी दललाई विश्वासमा नलिएर उसलाई बाहिर राखेर हिंसाका बीचमा, मतदाताको कम सहभागिता भएको मतदानलाई पनि लोकतान्त्रिक देश भारतले सजिलै स्वीकार गरको मात्र छैन, बंगलादेशको पक्षमा सशक्त ढंगले उभिएको छ । भारतकै साथ पाएर हसिनाले पश्चिमा मुलुकको कतिपय चेतावनीहरूलाई बेवास्ता समेत गर्दै आएकी छन् ।

गत वर्ष सेप्टेम्बरमा भारतले आयोजना गरेको जी–२० को मञ्चमा प्रधानमन्त्री मोदीले हसिनालाई दिएको ‘स्पेस’ ले पनि दुई देशबीचको निकटतालाई दर्शाएको थियो । गत नोभेम्बरमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवारबीचको प्रतिस्पर्धामा भारतले बांगलदेशी उम्मेदवारलाई रोजेको थियो । भारतको साथ पाएर बांगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले उक्त निर्वाचन जितेकी थिइन ।

भारतका छिमेकीहरूमध्ये सबैभन्दा धेरै लामो सीमा बंगलादेशसँग जोडिएको छ । केही वर्षअघि दुवै देशले सीमा विवाद सल्टाएका पनि छन् । हसिनाले सत्ता सम्हालेदेखि १५ वर्षयता दुई देशबीच अत्यन्तै 'विश्वासिलो र सुमधुर' सम्बन्ध छ । भारतले बंगलादेशमा लगानी पनि बढाउँदै लगेको छ ।

जेएनयूका प्राध्यापक भारद्वाज बांगलदेशको चुनावी प्रक्रियालाई भारतले मात्रै होइन, सबै देशले स्विकारेको दाबी गर्छन् । ‘अमेरिकाले पनि एक तरिकाले साइलेन्टली चुनावी प्रक्रियालाई स्विकारेकै छ, चीन र रुसले पनि मानेका छन्,’ उनी भन्छन्, ‘भारत बंगलादेशमा प्रगतिशील जमातको साथमा छ । बीएनपी जस्तो पार्टीले चुनाव बहिष्कार गरे पनि, त्यो उनीहरूको बाध्यता थियो ।’ उनले बंगलादेशमा भारतका धेरै परियोजना सञ्चालित रहेको र त्यसले त्यहाँ आर्थिक समृद्धि ल्याउन सघाएको बताउँछन् । दिल्लीलाई साथमा लिएर अवामी लिगले त्यहाँ जनताको विश्वास जित्न सफल भएको उनले टिप्पणी गरेका छन् ।

प्राध्यापक भारद्वाज पछिल्लो समय पाकिस्तानबाहेक दक्षिण एसियाका सबै देशसँग भारतले सम्बन्ध विस्तार गर्दै आएको दाबी गर्छन् । ‘क्राइसिसमा गरेको मद्दतले श्रीलंकासँग र अहिले नेपालसँग भारतको सम्बन्ध पनि राम्रो छ,’ उनले भने ‘तर, बंगलादेशमा हसिनाको पुनरागमनले दुई देशको सम्बन्ध थप बलियो हुने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...