— गत मंसिरमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
गत मंसिरसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ अर्ब ३१ करोड अमेरिकी डलर (१७ खर्ब ६७ अर्ब रुपैयाँ) पुगेको छ । नेपाली रुपैयाँमा गत कात्तिकमै सबैभन्दा धेरै बनेको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमा पनि हालसम्मकै धेरै पुगेको हो । आर्थिक वर्ष ०७७/७८ को पुसमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति सबैभन्दा धेरै १२ अर्ब ७८ करोड डलर पुगेको थियो ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हुनुले नेपाल सरकारलाई पूर्वाधार निर्माणमा लगानी विस्तारको ठूलो अवसर प्राप्त भएको जानकार बताउँछन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ । तर गत मंसिरसम्मको सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
अहिले मुलुकको विदेशी मुद्रा सञ्चितिको अवस्था निकै बलियो रहेकाले सरकारले विकास निर्माणमा लगानी गर्न अवसर प्राप्त भएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थविद् नरबहादुर थापाले जनाए । ‘राष्ट्र बैंकले सात महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तर गरेको थियो । तर अहिले लक्ष्यभन्दा थप पाँच महिना बढी पुग्ने सञ्चिति छ । वित्तीय प्रणालीमा पनि पर्याप्त तरलता छ । यी दुवै पक्षले मुलुकमा आन्तरिक र बाह्य स्रोतको अवस्था राम्रो रहेको देखाएको छ,’ उनले भने, ‘अहिले अर्थतन्त्रमा पैसा फालाफाल छ । तर उचित वातावरण नहुँदा लगानी कहाँ गर्ने भन्ने दोसाँधमा लगानीकर्ता छन् ।’ प्रायः आन्तरिक आन्तरिक स्रोत बलियो भएको बेला बाह्य कमजोर र बाह्य स्रोत कमजोर भएका बेला आन्तरिक स्रोत कमजोर हुन्थ्यो । तर अहिले दुवै स्रोत बलियो भएकाले आन्तरिक अर्थतन्त्र चलायमान बनाउन राज्यले ठूलो परिमाणमा लगानी बढाउन सक्ने थापाले बताए ।
गत मंसिरमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा ०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड पुगेको छ,’ प्रतिवेदनमा छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । गत मंसिरसम्ममा यो १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकामा गत मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ ।
बाह्य क्षेत्र थप सबल बनेकाले मुलुकलाई पूर्वाधार निर्माणमा राम्रो अवसर प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘नेपालमा पूर्वाधार निर्माणक काम रोकिएका छन् । सबल बाह्य क्षेत्रले ती आयोजनाको निर्माणको काम निरन्तर गराउन सघाउँछ,’ उनले भने । प्रतिवेदनले रेमिट्यान्स आप्रवाह, शोधनान्तर बचतलगायत सूचक सबल बनिरहँदा सरकारको राजस्व, पुँजीगत खर्च र वैदेशिक ऋण तथा सहायताका सूचक अपेक्षित रूपमा बढ्न नसकेको देखाएको छ । गत वर्ष र अघिल्ला महिनाको तुलनामा मंसिरमा मूल्यवृद्धिमा कमी आए पनि उत्पादन, उत्पादकत्व घटिरहेको र समग्र माग नबढेकाले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद् बताउँछन् ।
गत मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.९५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.४३ प्रतिशत बिन्दुले कम हो । ०७९ मंसिरमा यस्तो मूल्यवृद्धिदर ७.३८ प्रतिशत थियो । चालु आर्थिक वर्षको पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.१० र गैर–खाद्य तथा सेवा समूहको ४.८४ प्रतिशत छ । मूल्यवृद्धि दरमा कमी आउनु नागरिकका लागि राम्रो भए पनि आर्थिक गतिविधिमा सुस्तता आएको, आयात निर्यात घटेको, उपभोग घटेको समयमा मूल्य वृद्धिमा कमी आउनुले अर्थतन्त्र मन्दीमा रहेको संकेत गर्ने अर्थविद् थापाको तर्क छ ।
गत मंसिरमा अवधिमा घिउ तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य दुई पटक घटाएको तथा ०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्यवृद्धिमा कम चाप परेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । ०८० मंसिरमा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धि दरमा कमी आएको छ । यसले उपभोक्ता मूल्यवृद्धिदरमा कमी ल्याउन सघाएको राष्ट्र बैंकको दाबी छ ।
पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २७.६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । पछिल्ला महिनामा रेमिट्यान्स निरन्तर बढिरहेको देखाएको छ । सोही क्रममा गत मंसिरमा मात्र १ खर्ब ३५ अर्ब रुपैयाँ भित्रिएको छ । यसअघि गत असोजमा मासिक रूपमा हालसम्मकै उच्च १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख १५ हजार ९ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । मंसिरसम्म मुलुकको शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ ।
गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्षको सोही अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको देखिएको छ ।