मुख्य समाचार
बजेट अभावको असर : वीरको इमर्जेन्सीमा सोडियम–पोटासियम परीक्षण बन्द
बजेट अभावको असर : वीरको इमर्जेन्सीमा सोडियम–पोटासियम परीक्षण बन्द

— बजेट अभावले वीर अस्पतालका अत्यावश्यक परीक्षणहरु नियमित हुन छाडेका छन् । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा वीर अस्पतालको बजेट कटौती गरेपछि त्यसको असर यसका सेवामा पनि देखिन थालेको हो ।

मन्त्रालयले चालु आवमा वीर अस्पताललाई यसअघि प्राप्त गरेको करिब एक अर्ब रुपैयाँ कटौती गरेर केवल ७३ करोड मात्रै विनियोजन गरेको छ । अस्पतालमा भइरहने विभिन्न निधानात्मक परीक्षणहरु बजेट अभावकै कारण कहिले हुने कहिले नहुने भएपछि विशेष गरेर बीमाका बिरामीहरुलाई मर्का परेको छ । भइरहेको परीक्षण गर्न बाहिर लैजानुपर्ने हुँदा धेरैले परीक्षण नै नगर्ने समस्या पनि देखिएको त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन् ।

अस्पताल स्रोतका अनुसार कुनै पनि बिरामी अस्पतालको इमर्जेन्सीमा आइपुगेपछि गरिने सोडियम, पोटासियम, पीटी आईएनआर जस्ता अत्यावश्यक इलेक्ट्रोलाइट परीक्षण गर्न पनि हारगुहार गर्नुपर्ने अवस्था छ । ‘भेण्डरले रकम भुक्तानी नभएको भनेर रिएजेन्ट नदिएपछि कहिले इमरजेन्सीको परीक्षण रोकिन्छ कहिले आईसीयूकै,’ उनले भने, ‘यताउति हारगुहार गरेपछि फेरि सुरु हुन्छ । यसरी कहिलेसम्म चल्छ थाहा छैन ।’ स्रोतका अनुसार इमर्जेन्सी प्रयोगशालामा रहेका चार मेसिनमध्ये दुईवटामा प्रयोग हुने रिएजेन्ट दिने सप्लायरले टेन्डर सकिएको भनेर केमिकल दिन बन्द गरेका छन् । अर्को मेसिन अर्थिङको समस्याका कारण सञ्चालन हुन सकेको छैन । ‘चल्ने मेसिनको सप्लायरले रिएजेन्ट नै दिएनन् । जुन मेसिनको रिएजेन्ट दिन्छु भनेको छ, त्यो अर्थिङमा समस्या भएकाले चल्दैन,’ अस्पताल स्रोतले बतायो ।

इमरजेन्सी प्रयोगशालामा परीक्षण बन्द भएपछि राति भर्ना गरिएका र आईसीयूमा भर्ना भएका बिरामीको परीक्षण गर्नुपरे कि त ट्रमा सेन्टरमा पठाउनुपर्ने नभए बाहिर पठाउनुको विकल्प नभएको स्रोतको भनाइ छ । ‘दिउँसो परीक्षण गर्नुपर्‍यो भने माथिको नियमित प्रयोगशालामा पठाउन सकिन्छ । राति र बिहानै गर्नुपरे त बन्द हुन्छ,’ उनले भने । वीर अस्पतालको प्रयोगशालामा कार्यरत एक वरिष्ठ कर्मचारीका अनुसार ६ महिनायता जेनतेन चलिरहेका परीक्षणहरु अब धेरै दिन चल्ने छाँटकाँट छैन । ‘परीक्षण कहिले हुने कहिले नहुने समस्याका कारण हाहाकार छ भन्दा पनि फरक पर्दैन,’ उनले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले यसअघि कान्तिपुरसँगको कुराकानीमा बजेट अभावका कारण फ्लोसाइटोमेट्री र जेनेटिक्स लगायतका केही विशिष्ठकृत परीक्षणहरु बन्द भएको जानकारी दिएका थिए । हाल इमर्जेन्सी र आईसीयू लगायतका अत्यावश्यक स्थानमा नै बिरामीको न्युनतम रगत परीक्षण गर्न समस्या भएका बारे बुझ्न उनीसँग सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन । वीरमा कार्यरत एक वरिष्ठ चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘इमरजेन्सी र आईसीयूमा सोडियम, पोटासियमको परीक्षण हुन छोड्यो भन्ने गाइँगुइँ सुनेको हो । तर ठोकुवा नै गर्न सकिँदैन । यहाँ सेवा बन्द हुनु र खुल्नु सामान्य जस्तै भइसक्यो,’ उनले भने, ‘तर मैले प्राय बिरामीलाई गर्न लगाउने भिटामिन बी १२, भिटामिन डी लगायत अन्य केही परीक्षण भने बन्द छ ।’


स्रोतका अनुसार वीरमा केही समययता हार्मोन प्यानल, क्यान्सर मार्करलगायत परीक्षण पनि हुन छोडेको छ । ‘थाइरोडको परीक्षण त कहिले हुन्छ कहिले हुँदैन । अरुको के कुरा गर्नु ?’ उनले भने । अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्नो कारणले गर्दा वीर अस्पतालको सेवा प्रभावित भएको भनेर कर्मचारीहरुले गलत प्रचार गरेको दाबी गरेपनि वास्तविकता त्यही रहेको दाबी गरे । ‘हामीले वेथितीका बारेमा बोल्दा आफू गान्धी होइन भनेर भाषण गर्नेले सेवा बन्द हुँदा सुरु गराउन के गरे त्यो पनि त भन्न सक्नुपर्‍यो नि,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए