— एउटा फ्रान्सेली उखान छ– अम्लेट बनाउने हो भने अन्डा फोर्नै पर्छ । यथास्थितिवादको विरोधी भनेर चिनिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशको प्रसिद्ध उखानलाई हालै चरितार्थ गरिदिएका छन्– एक युवा नेतालाई हालै प्रधानमन्त्रीमा नियुक्त गरेर । भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मानिसहरूका आँखीभौं खुम्चिएका छन् ।
गाब्रियल प्रधानमन्त्रीका रूपमा आसीन भएसँगै दुई ठूला अभिलेख फ्रान्सेली इतिहासमा दर्ता भएका छन् । पहिलो, आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री । र, दोस्रो, पहिलोपटक आफूलाई पुरुष समलिंगी भनेर चिनाउन धक नमान्ने प्रधानमन्त्री पाएको छ फ्रान्सले । गाब्रियल कान्छो प्रधानमन्त्री भन्ने अभिलेख त कुनै समय तोडिन पनि सक्छ । किनकि भविष्यमा उनीभन्दा झन् कान्छो कोही प्रधानमन्त्री हुन सक्ने सम्भावना छँदै छ । आखिर अभिलेखहरू तोडिनकै लागि बनेका हुन्छन् ।
जस्तो कि, सन् १९८४ राष्ट्रपति फ्रान्कोइस मिट्टर्रान्डले सोसलिस्ट पार्टीका लरेन्ट फाबिअसलाई प्रधानमन्त्री नियुक्त गर्दा उनी ३७ वर्षका थिए । त्यो अभिलेखलाई उनीभन्दा ३ वर्षले कान्छा गाब्रियलले हालै तोडेका हुन् । तर, पहिलो पुरुष समलिंगी प्रधामन्त्रीको परिचय भने स्थायी नै भएको छ । किनभने, अब जति जना समलिंगी प्रधानमन्त्री बने पनि पहिलो स्थान त कसैले लिन सक्ने कुरै भएन । लैंगिक समानताको इतिहासमा एउटा आफ्नै ढंगको अभिलेख राखेका गाब्रियलले प्रधानमन्त्रीका रूपमा बीस महिना आन्तरिक कलह झेलेकी एलिजाबेथ बोर्नलाई प्रतिस्थापन गर्दै पदभार सम्हालेका हुन् ।
गाब्रियलको पद हस्तान्तरण कार्यक्रममा पूर्वप्रधानमन्त्री एलिजाबेथ बोर्न । तस्बिर : रोयटर्स
‘कार्यभार सम्हाल्दा मैले देशका युवतीहरूलाई आफ्नो सपना पूरा गर्न अभिप्रेरित गरेकी थिएँ, किनभने मेरो करिअरले जुनसुकै पृष्ठभूमि भए पनि सपनालाई साक्षात्कार गर्न सम्भव छ भनेर देखाएको छ,’ ६२ वर्षीय बोर्नले राजीनामाका क्रममा देशवासीलाई गरेको सम्बोधनमा भनेकी थिइन्, ‘आज पनि म सबै महिलाहरूलाई भन्छु– दृढ रहनुहोस्, भविष्य तपाईंको हातमा छ ।’ यति भनिसकेपछि उनले गाब्रियललाई आफूले सम्हाल्दै आएको जिम्मेवारी हस्तान्तरण गरेको घोषणा गरेकी थिइन् ।
बोर्नलाई विस्थापित गर्नुअघि गाब्रिएल शिक्षा मन्त्री थिए । उनले अब जुनमा हुने महत्त्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् । फ्रान्समा राजनीतिक दृश्य एकदम विविध छ । जसमा विभिन्न विचारधारा र दृष्टिकोणहरूको प्रतिनिधित्व गर्ने विभिन्न दलको आपसी संघर्ष सधैं देख्न सकिन्छ । बहुदलीय प्रणालीमा चलेको हुनाले राष्ट्रिय सभामा कुनै एक दलले सामान्यतः बहुमत हासिल गर्न सक्ने अवस्था फ्रान्समा छैन । त्यसो हुनाले, लामो समयदेखि फ्रान्समा गठबन्धन सरकारको संस्कृति छ ।
हालैका दशकहरूमा एउटा प्रमुख गठबन्धनमा ‘नेसनल र्याली’ (रासेम्बलमेन्ट नेसनल अर्थात् आरएन) र रिपब्लिकनहरू (लेस रिपब्लिकन अर्थात् एलआर) सहित दक्षिणपन्थी पार्टीहरूको गठबन्धन हाबी छ । यी पार्टीहरूले राष्ट्रवाद, रूढिवादिता र बेलायतलेझैं युरोपेली संघबाट बहिर्गमन हुनुपर्छ भन्ने वकालतप्रति संवेदनशीलता प्रदर्शन गर्छन् । रिपब्लिकनहरूले २०१५ मा लोकप्रिय आन्दोलनका लागि संघलाई प्रतिस्थापित गरे । अर्कोतर्फ, सोसलिस्ट पार्टी, ला फ्रान्स इन्सोमाइज र फ्रान्सेली कम्युनिस्ट पार्टीहरूसँग वामपन्थी गठबन्धन छ । यी दलहरूले क्रमशः सामाजिक लोकतन्त्र, लोकतान्त्रिक समाजवाद, वातावरणवाद र साम्यवादको वकालत गर्छन् ।
यसबाहेक, सन् २०१६ मा वर्तमान फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले स्थापना गरेका पुनर्जागरणजस्ता मझधारका दलहरू छन् । पुनर्जागरणले नवउदारवाद, आर्थिक उदारवाद, केन्द्रवाद (दक्षिणपन्थ र बामपन्थको बीचको मध्य मार्ग) र युरोपेली संघको अवधारणालाई समर्थन गर्छ । यसका अतिरिक्त फ्रान्समा साना राजनीतिक समूहहरू छन्, जस्तै रोयल अलाइन्स, नोवेल एक्सन रोयलिस्ट, र डेमोक्रेटिक र्याली जो राजतन्त्रसँग सम्बन्धित सिद्धान्तलाई पछ्याउँछन् । यसबाहेक, त्यहाँ कम्युनिस्ट गुटहरू पनि छन् जसमा फ्रान्सको मजदुर कम्युनिस्ट पार्टी र स्वतन्त्र श्रमिक दल (ट्रोटस्कीवादी) मुख्य हुन् ।
एक दशकअघि मात्रै राजनीतिमा लागेका कान्छा प्रधानमन्त्री गाब्रियलको उदय युद्धकालमा नेपोलियनलाई सम्झाउने गरी द्रुत गतिमा भएको मानिन्छ । उनको राजनीतिक यात्रा २०१२ को राष्ट्रपतीय निर्वाचनको अभियानमा फ्रान्सेली राष्ट्रिय सभामा इन्टर्नसिपबाट सुरु भएको थियो । त्यसपछि उनले संसदीय सम्पर्क र भाषण लेखनमा केन्द्रित भएर पाँच वर्ष स्वास्थ्यमन्त्रीको सल्लाहकारका रूपमा काम गरे । २०१४ को नगरपालिकाको चुनावमा समाजवादी पार्टीको सूचीमा पाँचौं स्थान हासिल गरेका उनी अन्ततः स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने समाजवादी दलका चार पार्षद्मध्ये एक भएका थिए ।
समाजवादी सूचीका प्रमुखको राजीनामापछि प्रतिपक्षको नेतृत्व सम्हाल्दा उनको भूमिका विस्तार भएको थियो । सन् २०१७ मा फ्रान्सेली राष्ट्रिय सभा चुनावमा उनी राष्ट्रपति म्याक्रोंले स्थापना गरेको पार्टीबाट विजयी भएका थिए । राष्ट्रिय सभामा गतिशील सुरुआतका कारण उनले आफूलाई आशाजनक सांसदका रूपमा अघि सारे । गाब्रियलको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै म्याक्रोंले २०१८ अक्टोबर १६ मा कनिष्ठ मन्त्री (शिक्षा तथा युवा) नियुक्त गरेका थिए । उल्लेखनीय के भने, २९ वर्षका गोब्रियलले सरकारको सबैभन्दा कान्छो सदस्यका रूपमा त्यतिबेलै लोकप्रियता हासिल गरेका थिए ।
शिक्षामन्त्रीका रूपमा फ्रान्सेली विद्यालयमा बुर्का लगाउन प्रतिबन्ध गर्दै शिक्षालाई पूर्णतः धर्मनिरपेक्ष बनाउने उनको घोषणाले प्रसिद्धि कमायो । त्यसपछि, उनी २०२० देखि २०२२ सम्म प्रधानमन्त्री जाँ कास्टेक्सको नेतृत्वमा सरकारी प्रवक्ता भए । २०२२ मेमा उनी प्रधानमन्त्री एलिजाबेथ बोर्नको मन्त्रिपरिषदमा ‘मिनिस्ट्री अफ पब्लिक एक्सन एन्ड एकाउन्ट्स’ का मन्त्री भए । सार्वजनिक प्रशासन र सरकारी खर्चको रुजु गर्ने महत्त्वपूर्ण जिम्मेवारीले गाब्रियलको राजनीतिक अनुभवलाई थप उचाइ प्रदान गर्यो ।
चलाख र तीव्र रफ्तारका उनलाई आफूले दिएको नयाँ भूमिकामा स्वागत गर्दै राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई थाहा छ म तपाईंको ऊर्जा र मैले घोषणा गरेको पुनर्जागरण र पुनरुत्थान परियोजना कार्यान्वयन गर्ने तपाईंको प्रतिबद्धतामा भरोसा गर्न सक्छु ।’ गाब्रियलको नियुक्तिले फ्रान्सको मात्रै नभई विश्वकै राजनीतिक आकांक्षालाई नयाँ सन्देश दिएको छ । यौनिक अल्पसंख्यकले गर्व गर्नलायक उदाहरण मात्रै फेला पारेका छैनन्, राजनीति प्रौढहरूको हातबाट फुत्काउन सम्भव छ भन्ने देखिएको छ । युरोपेली संघको महत्त्वपूर्ण खेलाडी फ्रान्समा यी युवाको नेतृत्वले पार्ने प्रभावको क्षेत्रीय र वैश्विक परिणाम पनि दूरगामी र महत्त्वपूर्ण हुने निश्चित नै छ ।
फ्रान्स अर्ध–राष्ट्रपति प्रणाली भएको देश हो जहाँ राष्ट्रपति र प्रधानमन्त्री दुवैले कार्यकारी भूमिका निर्वाह गर्छन् । यद्यपि, राष्ट्रपति राज्यको प्रमुख मानिन्छन् र उनको भूमिका सरकारको रेखदेख गर्नुका अतिरिक्त सामरिक महत्त्वका निर्णयहरू गर्नुमा रहन्छ । प्रधानमन्त्रीचाहिँ सरकारको प्रमुख हो र राज्यका दैनिक मामिलाहरू व्यवस्थापन गर्ने जिम्मा उसैको हुन्छ । फ्रान्समा राष्ट्रपति लोकप्रिय मतबाट निर्वाचित हुन्छन् र पाँच वर्षको कार्यकाल रहन्छ ।
सरकारी प्रवक्ता र शिक्षामन्त्रीका रूपमा गाब्रियलको प्रसिद्धि समकालीन राजनीतिज्ञको भन्दा धेरै थियो । सार्वजनिक सेवाप्रतिको उनको प्रतिबद्धतामा अधिकांश फ्रान्सेलीहरू विश्वस्त देखिन्छन् । अध्यागमन कानुन र त्यसले खडा गरेको विवादको भुमरीमा परेकी बोर्नले सरकार फेर्ने आफ्नो कदमलाई सजिलो पार्दै गत सोमबार राजीनामा दिएपछि राष्ट्रपति म्याक्रोंले बुधबार उनलाई चुनेका हुन् । यी कान्छा प्रधानमन्त्री पहिलो पटक २०१७ मा प्रतिनिधिसभा सदस्य हुँदा ठूलो बहुमतका साथ म्याक्रोंको उदय भएको थियो ।
म्याक्रोंले दोस्रो कार्यकालको अन्तिम तीन वर्ष आफ्नो टिमलाई तिखार्न खोजेकाले मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको थियो । पेरिसमा हुने ओलम्पिक खेलहरू र आउँदो ग्रीष्मयाममा हुने युरोपेली संसद्को चुनावमा चुस्त भएर प्रस्तुत हुन नसके मरिन ले पेनको नेतृत्वमा अति–दक्षिणपन्थीहरूको हातबाट पराजय भोग्नुपर्ने जोखिममा म्याक्रों छन् । फ्रान्सको सबैभन्दा कान्छो राष्ट्रपति म्याक्रोंले सबभन्दा कान्छो प्रधानमन्त्रीलाई आफ्ना राजनीतिक आकांक्षाहरूको भरपर्दो पहरेदार ठानेका छन् ।
सन् २०१७ मा म्याक्रों राष्ट्रपति भएदेखि नै सुरक्षा र आप्रवासनका मामिलाले चर्को राजनीतिक मुद्दाको रूप लिँदै आएका छन् । विशेषगरी, अति दक्षिणपन्थी प्रतिद्वन्द्वी मरिन ले पेन र उनको अध्यागमन र इस्लामविरोधी राष्ट्रिय र्यालीले म्याक्रोंलाई चर्को दबाबमा राखेको छ । आलोचकहरू म्याक्रोंको यो फेरबदलले संकटमोचन गर्न सक्छ भन्नेमा विश्वस्त छैनन् । अलोकप्रिय पेन्सन सुधारका योजना, संसदीय चुनावमा गुमेको बहुमत र अध्यागमन कानुनको विवादले २०२३ मा फ्रान्समा ठूला प्रदर्शन भएका थिए । २०२७ को राष्ट्रपतीय चुनावमा म्याक्रोंले फेरि उम्मेदवारी दिन नसक्ने भए पनि ले पेनलाई राष्ट्रपति बन्नबाट रोक्न केही गरेर देखाउनु र दक्षिणपन्थी धारलाई कमजोर पार्नु उनका लागि सर्वाधिक चुनौती भएको छ । फ्रान्सको कन्जरभेटिभ दैनिक ‘ले फिगारो’ ले बोर्नलाई विस्थापित गर्दैमा समस्या समाधान हुन नसक्ने टिप्पणी गरेको छ । ‘नेतृत्वमा अनुहार परिवर्तन गर्दैमा समग्र तस्बिरमा परिवर्तन आउँदैन,’ अखबारले लेखेको छ, ‘बोर्नको उत्तराधिकारी गाब्रियलले राष्ट्रलाई एकताबद्ध राजनीतिक आपत्कालको भारी
बोक्नै पर्नेछ ।’
फ्रान्सको राजनीतिक इतिहास क्रान्ति, राजतन्त्र, गणतन्त्र र स्वतन्त्रता, समानता र भ्रातृत्वको खोजीमा उभिएको समृद्ध धरोहर हो । प्राचीन गाल्सदेखि आधुनिक फ्रान्सेली गणतन्त्रसम्म, फ्रान्सले धेरै परिवर्तनहरू पार गर्दै विश्वव्यापी मञ्चमा अमिट छाप छोडेको छ । फ्रान्सको राजनैतिक इतिहासको जरा सेल्टिक जनजातिहरूले बसोबास गरेको पुरातन गाउलमा फेला पार्न सकिन्छ । ईसापूर्व पहिलो शताब्दीमा जुलियस सिजरको गाउलको विजयले यस क्षेत्रमा रोमन प्रभावको सुरुवात गरेको थियो । रोमन शासनले राजनीतिक र सांस्कृतिक परिदृश्यमा स्थायी प्रभाव छोड्यो अनि फ्रान्सेली राष्ट्रको अन्तिम गठनका लागि चरण तय गर्यो ।
रोमन साम्राज्य आधिकारिक रूपमा ४७६ मा पतन भयो, तर गल (वर्तमान फ्रान्सलाई समेट्ने क्षेत्र) मा रोमन शासनको अन्त हुन अर्को शताब्दी लाग्यो । आर्थिक मन्दी,आन्तरिक कलह र जर्मन जनजातिहरू तथा हुनहरूबाट भएको बाह्य आक्रमणका कारण रोमन साम्राज्यको अन्त हुन पुग्यो । ४०६ ईस्वीमा धेरै जर्मन जनजातिहरूले जमेको राइन नदी पार गरे र फ्रान्स प्रवेश गरेर रोमन सम्राट्को गद्दीमाथि धावा बोले । अन्ततः रोमन साम्राज्यको पतन भयो जसले त्यहाँ अनेक अस्थिरताको शृंखलाका साथ मध्यकालीन सामन्तवादको उदय गरायो ।
अनेक राजनीतिक भुमरीबाट गुज्रेको फ्रान्समा १७ औं शताब्दीमा लुइस चौधौंको शासनकालमा आइपुग्दा निरपेक्ष राजतन्त्र थियो । अत्याचारका प्रतीक राजाविरुद्ध परिवर्तनको हावा बेजोड थियो । किनभने, भोल्तेयर र रुसोजस्ता दार्शनिकहरूले तर्क, व्यक्तिगत अधिकार र शक्तिको पृथकीकरणको सिद्धान्तलाई फ्रान्सेली जनताको मन मुटुमा हालिदिए । जसले पुनर्जागरणको युग सुरु गर्यो र १७८९ को फ्रान्सेली क्रान्तिका लागि बौद्धिक आधार तयार गर्यो । आर्थिक कठिनाइ, सामाजिक असमानता र बौद्धिक जागरणले जन्माएको क्रान्तिका कारण राजतन्त्र पराजित भयो र फ्रान्समा १७९२ मा गणतन्त्र स्थापना भयो ।
त्यसलगत्तै नेपोलियन बोनापार्टको उदयले फ्रान्सेली क्रान्तिको आदर्श विश्वभर फैलियो । नेपोलिनयको पतनपछि बुर्बोन राजतन्त्रको पुनरोदय भयो जुन १८३० को क्रान्तिद्वारा लुइस–फिलिपको नेतृत्वको राजतन्त्रले प्रतिस्थापित भयो । त्यसविरुद्ध १८४८ मा भएको फेब्रुअरी क्रान्तिले दोस्रो गणतन्त्रको घोषणा गर्यो । राजनीतिक अस्थिरता र सामाजिक अशान्तिले नेपोलिनय प्रथमका भतिजा लुइस–नेपोलियन राष्ट्रपति र पछि सम्राट् भए । पछि उनको साम्राज्य पनि पतन भयो र १८७० मा फ्रान्सेली जनताले तेस्रो गणतन्त्रको स्थापना गरे ।
दक्षिणपन्थी र वामपन्थीको उग्र विचलनबाट मध्यमार्गको बाटोमा फ्रान्सलाई अघि बढाउने र बौद्धिक तथा आर्थिक पुनर्जागरण गराउने आफ्नो सपना म्याक्रोंले गाब्रियलको काँधमा बिसाएका छन् । के उनले त्यो पूरा गर्लान् ? देशलाई दक्षिणपन्थीको हातमा जानबाट बचाउलान् ? पूरै विश्वले चाखका साथ हेरिरहेको छ र यो पक्कै पनि गाब्रियलका आगामी काममा निर्भर रहनेछ ।