नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सहकार्य बढ्दो छ । सन् १९९२ मा काठमाडौंमा दूतावास खोले पनि फिनल्यान्डले सन् २०११ को सेप्टेम्बरबाट राजदूत पठाएर कामकाज सुरु गरेको थियो । दूतावास खोल्नुअघि नै फिनल्यान्डले सन् १९८२ बाट नेपालसँग सहकार्य र सहयोगमा भूमिका निर्वाह गर्दै आइरहेको थियो ।
नेपालको एक असल मित्रका रूपमा रहेको फिनल्यान्डकी राजदूत रिना–रिक्का हेइक्कासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं नेपालमा पहिलो पटक कहिले आउनुभयो र यहाँको भूगोललाई लिएर तपाईंको धारणा कस्तो छ ?
केही वर्षपहिले नै मैले नेपालको भ्रमण गरेकी थिएँ । फिनल्यान्डको एक नागरिक समाज टोलीको प्रतिनिधित्व गरेर म यहाँ आएकी थिएँ । त्यसबेला मैले काठमाडौं उपत्यका र चितवनको भ्रमण गरेकी थिएँ । राजदूतका रूपमा भने सेप्टेम्बर २०२२ बाट कार्यकाल सुरु गरेकी हुँ । नेपाल टेकेदेखि मलाई यहाँको भूगोलले प्रभावित पारेको छ । यहाँको प्राकृतिक सौन्दर्य र नेपालका भौगोलिक क्षेत्रहरू सुन्दर छन् ।
कामका दौरान नेपालीसँग दैनिक भेटवार्ता गरिरहनुभएको छ । तपाईंलाई नेपालीहरू कस्ता लाग्छन् ?
मैले नेपालमा धेरै स्वागत पाएँ । नेपालीहरू आत्मीय र दयालु छन् । स्थलगत भ्रमणका क्रममा म नेपालका धेरै ठाउँ पुगेकी छु । हामीले मुख्य रूपमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा काम गर्दै आएका छौं । त्यहाँ हाम्रो विकास सहकार्यका कार्यक्रमहरू सञ्चालित छन् । मलाई सबैभन्दा आनन्द यहाँका स्थानीयसँग भेट्न र कुराकानी गर्न लाग्छ । उनीहरू आत्मीय छन्, जसलाई लिएर म अत्यन्तै हर्षित हुन्छु ।
नेपालको हावापानीलाई लिएर तपाईंको धारणा ?
नेपालको हावापानी एकदमै राम्रो लाग्छ । विशेष गरी जाडोयामको समयमा यहाँको हावापानी राम्रो लाग्छ । सूर्यको उदयसँगै वातावरणलाई मोहित बनाउने अद्भुत कला छ यहाँ । वर्षायाममा पनि यहाँको वातावरण विशेष महसुस हुन्छ । तर यति भन्दाभन्दै मलाई यो पनि थाहा छ कि नेपाल जलवायु परिवर्तनमा एकदमै जोखिमयुक्त छ । जलवायु परिवर्तन र तीव्र वातावरण परिवर्तनका कारणले गर्दा पनि नेपाल जोखिममा छ, त्यो पक्कै पनि चासोको विषय हो ।
नेपाली खानाका बारेमा तपाईंको के धारणा छ ? तपाईंलाई मन पर्ने कुनै विशेष नेपाली खाना छ ?
मलाई नेपालको शाकाहारी खाना असाध्यै मन पर्छ । विभिन्न तरिकाबाट बनाइएका दाल–भात मन पराउँछु । र, मलाई मन पर्ने दुईवटा खानेकुरा
छन् । पहिलो हो, भक्तपुरको जुजु धौ । यो मलाई असाध्यै मन पर्ने दही हो । यसको स्वाद उत्कृष्ट छ । अर्को, मलाई मन पर्ने नेपालमा खानेकुरा भनेको ‘हट लेमन हनी विथ जिन्जर’ हो । नेपालबाट फर्कंदा मैले लिएर जाने बानीको रूपमा यो हुनेछ । मैले त्यसलाई फिनल्यान्डमा आफ्ना साथीहरूलाई पनि खुवाएकी छु । सबैले मन पनि पराए । जब जाडो दिनमा लामो यात्रापछि थकाइ मारेर तपाईं उठ्नुहुन्छ, त्यसपछि ‘हट लेमन हनी विथ जिन्जर’ पिउन मज्जा आउँछ ।
नेपालको भेषभूषाका बारेमा तपाईंको धारणा कस्तो छ ?
नेपालको भेषभूषा धेरै नै सम्पन्न र विविधतापूर्ण छ । त्यसलाई हेर्न र अवलोकन गर्न पाउनुलाई म आफू भाग्यमानी ठान्छु । मलाई सधैं नमस्तेसहित गरिएको सम्बोधनले मन छुन्छ । त्यो तपाईंका लागि परम्परा हुन सक्छ तर मेरा लागि त्यो अनौठो छ । त्यो मेरा लागि धेरै व्यक्तिगत हो, मान्छेले नमस्ते भनेर उनीहरूले न्यानोपन देखाएका छन् । अर्को कुरा मैले न्यानोपन अनुभव गरेको भनेको टीका लगाउँदा हो । त्यो अनुभवलाई म जहिले पनि प्रशंसा गर्छु ।
तपाईंले नेपालका चाडपर्व कत्तिको मनाउनुहुन्छ ? तपाईंलाई मन पर्ने चाडपर्व चाहिँ कुन हो र किन ?
मैले नेपाली चाडपर्व मनाएकी छैन । तर, यहाँका चाडपर्वलाई बुझ्ने कोसिस गरेकी छु । मेरो परिवारका साथमा यहाँका चाडपर्वलाई बुझ्ने र जान्ने प्रयास गरिरहेकी छु । मलाई लाग्छ, हाम्रो मन पर्ने चार्डपर्व चाहिँ तिहार हो । किनकि, तिहारको उज्यालो र रंगहरू निकै मन पर्छन् । हामीले आफ्ना बच्चाहरूसँग कसरी रंगोली बनाउने भनेर सिक्छौं । नेपालको संस्कृति र परम्परालाई बुझ्नका लागि हामीले आफ्नै तरिकाबाट प्रयास गरिरहेका छौं ।
तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा बोलिने अन्य भाषाबारे कत्तिको जानकारी राख्नुभएको छ ?
मलाई नेपाली भाषाका केही वाक्य बोल्न आउँछ । उदाहरणका लागि ‘मेरो नाम रिना हो’ भन्ने कुरा मज्जाले भन्न सक्छु । मैले बजारमा गएर नेपाली भाषामै फलफूल किन्न सक्छु । यसका साथै मैले नेपाली भाषा जान्ने र बुझ्ने प्रयास पनि गरिरहेकी छु । यसका अतिरिक्त नेपालमा भाषाको विविधता छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी छु ।
नेपाली गीत/संगीत कत्तिको सुन्नुहुन्छ ? तपाईंलाई मन परेको नेपाली संगीत कुन हो ?
मलाई नेपालमा सबैभन्दा मन पर्ने भनेको ‘कुटुम्ब’ ब्यान्ड हो । मलाई उनीहरूको लय र उत्साह मन पर्छ । मेरा बच्चाहरू ‘रेशम फिरिरी...’ र ‘नमस्ते...’ गीत सधैं गाइरहन्छन् । र, हाम्रो सम्पूर्ण परिवार नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी...’ सुन्न मन पराउँछ । राष्ट्रिय गानले नेपालको एकदम राम्रोसँग प्रतिनिधित्व र न्यानोपनको भावना बोकेको छ ।
तपाईं नेपाली साहित्यका बारेमा जानकार हुनुहुन्छ ?
यहाँको साहित्यका बारेमा म जानकार छु । मैले नेपालको इतिहास र राजनीतिका बारेमा लेखिएका धेरै किताब पढेकी छु । मलाई मन पर्ने पुस्तकमध्येको एक हो– फर्गेट काठमान्डु । उक्त पुस्तक मन्जुश्री थापाले लेखेकी हुन् । र, अहिले मैले पढिरहेको किताब हो– द वुमन हु क्लाइम्ड ट्रिज । यो आख्यान स्मृति रवीन्द्रद्वारा लिखित हो । मेरो डेस्कमा अर्को किताब कर्णाली ब्लुज पनि रहेको छ । उक्त किताबका लेखक बुद्धिसागर हुन् । जब मसँग समय उपलब्ध हुन्छ, म पढ्ने प्रयास गर्छु ।
तपाईंले नेपाली चलचित्र कत्तिको हेर्नु भएको छ ?
साँचो कुरा भन्नुपर्छ– मैले अहिलेसम्म नेपाली चलचित्र हेरेकी छैन । तर, म ‘पासाङ : द स्याडो अफ एभरेस्ट’ नामक फिल्म हेर्न चाहन्छु । जब त्यो फिल्म यहाँ देखाइएको थियो, त्यसबेला मैले हेर्न छुटाएँ ।
तपाईंले नेपालमा कति स्थानको भ्रमण गर्नुभएको छ ? मन परेको त्यस्तो कुनै स्थान छ ?
यत्ति नै स्थान भ्रमण गरें भनेर त म भन्न सक्दिनँ । तर, मैले विशेष गरी सुदूरपश्चिम र कर्णाली क्षेत्रको भ्रमण गरेकी छु । पोखरा र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेकी छु । चितवन घुमेकी छु । काठमाडौं उपत्यका र यसवरपर पनि घुमेकी छु । मधेश पनि भ्रमण गरेकी छु । मलाई मन पर्ने एउटा स्थान भक्तपुर पनि हो । भक्तपुर दरबार स्क्वायर क्षेत्र मैले धेरै पटक घुमेकी छु । म भक्तपुरको वास्तुकला र पुरातत्त्व असाध्यै मन पराउँछु । साथै, मैले काठमाडौं दरबार स्क्वायर क्षेत्र, पाटन दरबार स्क्वायर क्षेत्र, स्वयम्भू, महाबौद्धलगायत स्थान पनि घुमेकी छु । मैले आफ्नो परिवारका साथमा ती क्षेत्र घुमेकी छु । जुन मेरो मनमा रहिरहन्छ ।
नेपाली कला र संस्कृतिलाई तपाईं कसरी हेर्नुहुन्छ ?
मेरा लागि नेपालको कला र संस्कृति पूर्ण रूपमा लोभलाग्दो छ । धेरै विविधता छन् । धेरै कुरा अनुभव गर्नयोग्य छन् । विशेष गरी पुराना वास्तुकला र काठमा खोपिएका बुट्टाहरूका कारणले काठमाडौं दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर मन पर्छ । मलाई यी सबैभन्दा मन पर्ने क्षेत्र हुन् । साथमा चाडपर्वमा देखिने रंगहरू, उज्यालो र भावनाले गर्दा नेपालको संस्कृति र कला मन पर्छ ।