मुख्य समाचार
रुसी सेनामा भर्ती हुन पाइन्छ, छाड्न पाइँदैन
रुसी सेनामा भर्ती हुन पाइन्छ, छाड्न पाइँदैन

— रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको ४७ दिन बितिसक्यो । फलेवास–२ पर्वतकी उनले गत मंसिर २० मा विभागमा निवेदन दिएकी थिइन् । तर, श्रीमान् कृष्णबहादुर कहिले नेपाल फर्किन्छन्, टुंगो छैन । रुसी सेनामा भर्ती हुन कृष्ण गत कात्तिक २ मा रुस पुगेका थिए । अहिले उनी रुसी सेनाले कब्जा गरेको युक्रेनको वद्रियासको सैन्य शिविरमा खटिएका छन् ।

‘श्रीमान्सँगै भर्ना भएका धेरै साथी बेपत्ता भइसकेका छन् । उहाँको पनि हातमा चोट लागेको छ । स्थिति निकै कठिन छ,’ आरतीले भनिन्, ‘उहाँ आउन खोज्नुभएको छ । सकिराख्नुभएको छैन ।’

अछामका चक्रबहादुर कुँवरले आफूहरूलाई उद्धार गरिदिन भन्दै मंसिर २३ मा मस्कोस्थित नेपाली दूतावासमा निवेदन पठाएका थिए । उनले दूतावासलाई नगुहारेको दिन छैन । यता नेपालमा पत्नी पवन कुँवरको दिनरात चक्रबहादुरको चिन्तामै बितिरहेको छ । ‘श्रीमान् घाइते भएकाले रेडजोनमा लड्न जाने अवस्था छैन,’ कुँवरले भनिन्, ‘युक्रेन र रसियाबीच भइरहेको युद्धको वास्तविक अवस्था कसैलाई थाहा थिएन । अहिले थाहा पाउन ज्यानको बाजी नै लगाउनुपर्ने रहेछ ।’

कृष्ण र चक्रबहादुर मात्र नभएर रेडजोनमा युद्ध लडेका अधिकांश नेपाली आफैं पनि रुसी सेनासँगको सम्बन्ध तोडेर नेपाल फर्कन चाहन्छन् । उद्धारका लागि दूतावासहरूलाई अनुरोध गरेका छन् । उनीहरूका परिवारले पनि नेपाल फर्काइदिन सरकारलाई गुहारेका गुहारेकै छन् । तर, रुसी सेनामा भर्ना हुँदा गरेको सम्झौताका कारण उनीहरू आफूले चाहेको समयमा फर्कन पाएका छैनन् ।

गत कात्तिक ४ मा रुस पुगेका पोखराका ईश्वर खड्का एक महिनादेखि युक्रेनी भूभागमा बंकरमा बसिरहेका छन् । ‘मेरो अचानक कोखा दुख्यो, छाती दुख्यो । दुखेर कक्रकै थला परें । युद्ध लड्न नसकेपछि बंकर रुग्न लगाएको छ,’ खड्काले पठाएको भ्वाइस सन्देश छ, ‘मसँग एक जना लोकल मान्छे छन् । हामीबीच सञ्चार हुँदैन । उसको भाषा मैले बुझ्दिनँ, मेरो उसले बुझ्दैन । यस्तो ठाउँमा गुजारा गरेको एक महिना भइसक्यो । ढोका बन्द गर्दा एकदमै निसासिन्छ । राति ढोका खोलौं भन्दा दुश्मन आउला भन्ने डर छ । बाहिर एकदमै चिसो छ ।’



उनले मोबाइल पाउनेबित्तिकै उद्धारका लागि दूतावासमा अनुरोध गर्ने गरेको बताए । ‘यो इन्टरनेट पनि लोकलसँग अनुरोध गरेर एकैछिन चलाएको हो । हिजो मैले दूतावाससँग कुरा गरे । परिवारसँग पनि सम्पर्क गर्न पाएँ । हाम्रो २८ जनामा तीन जनाले ज्यान गुमाइसकेका छन् । बाँचेका २५ जनामा पनि केही साथीहरू घाइते छन्,’ उनले भने, ‘यहाँ परराष्ट्रमन्त्री आउने खबरले उत्साहित छौं । रुसमा रहेका सबै नेपालीको उद्धार हुनेमा आशावादी छौं । हामी २५ जनालाई एकै पटक फर्काउन सम्भव नभए पनि कमजोर मनस्थिति र नेपालमा हातहतियार नचलाएकाहरूलाई पहिला प्राथमिकता राखिदिन्छन् भन्ने आशा छ ।’

आँखै अगाडि धेरै साथी गुमाइसकेको भन्दै आफूहरू निकै कमजोर मनस्थितिबाट गुज्रिनुपरेको उनीहरूको भनाइ छ । ‘हामी टिकटकको भरमा लहैलहमा लागेर आइहालियो । एकदमै दुःख पाइयो । हिउँमा ड्युटी गरिराखेका छौं । फर्कन चाहन्छौं । यहाँबाट मान्छेलाई लड्न लगेको लग्यै छ । हामीलाई कहिले लैजान्छ थाहा छैन,’ कुँवरले भने, ‘हामी त चक्रव्यूहमा फसेको जस्तो लागिरहेको छ ।’

रुसले आफ्नो सेनामा अवैध रूपमा नेपालीलाई भर्ती गरेर युद्धमा पठाउँदै आएको छ, जसका कारण रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या बढिरहेको छ । तर, उनीहरूलाई फिर्ता गर्न नेपाल सरकारले गरेको अनुरोधलाई रुसले बेवास्ता गर्दै आएको छ । रुसी सेनामा भर्ती हुन पाइने तर सजिलै फर्किन नपाउने हुँदा एक प्रकारले नेपाली कैदीजस्तै भएका छन् । हालसम्म रुसी सेनामा भर्ती भएका कम्तिमा ११ नेपालीको ज्यान गइसकेको सरकारले औपचारिक पुष्टि गरिसकेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार रुसी सेनामा भर्ना भई सम्पर्कविहीन भएका एक सय १५ जनाको परिवारका तर्फबाट निवेदन परेको छ । रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गराउन सरकारले रुस सरकारलाई आग्रह गरिसकेको छ । नेपालले भारत र बेलायतबाहेक अन्य मुलुकसँग नेपालीलाई सैन्य भर्ना गर्ने सम्झौता नभएको उल्लेख गर्दै रुसलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । परराष्ट्रले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूतलाई समेत बोलाएर त्यसबारेमा पटक–पटक कुराकानी गरिसकेको छ ।

मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि मस्कोमा रुसको विदेश मन्त्रालय पुगेर नेपाल सरकारको सन्देश सुनाएका थिए । तुलाधरले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । साथै, नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । तर रुसले नेपाललाई प्रस्ट रूपमा जवाफ दिएको छैन ।

युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग भेटवार्ता गरेका थिए । ‘भेटमा रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गर्‍यौं । नेपालले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्था भएको बाहेक अरू विदेशी सेनामा आफ्ना नागरिक पठाउने नेपालको नीति नरहेको जानकारीसमेत गराएँ,’ परराष्ट्रमन्त्री साउदले कान्तिपुरसँग भने, ‘साथै, भर्ना भएका नेपालीहरूलाई फिर्ता पठाइदिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरेका छौं ।’

यसबारे रुसले प्रस्ट जवाफ नदिए पनि दुई मुलुकबीच सैन्य भर्ना सम्बन्धलाई लिएर कूटनीतिक कुराकानी थालनी भएको परराष्ट्रमन्त्री साउद मान्छन् । ‘मन्त्री तहमै पहिलो पटक यो समस्याबारे कुराकानी भयो । हामीले आफ्नो धारणा प्रस्टसँग राख्यौं । उहाँले पनि आफू मस्को पुगेर यसबारे छलफल गरेर नेपालस्थित राजदूतमार्फत जानकारी दिने पनि बताउनुभयो,’ उनले भने । साउदले रुसका तर्फबाट मृतकको परिवारलाई क्षतिपूर्ति दिने र शवलाई नेपाल पठाउन सहजीकरण गरिदिन भनिए पनि अहिले भर्ना गरिएका नेपालीलाई फिर्ता पठाउने विषयमा कुनै पनि जवाफ नआएको बताए । परराष्ट्रमन्त्री साउद आफैं रुस गएर त्यहाँको अवस्था बुझ्नका लागि गृहकार्य गरिरहेका छन् । उनले नेपालको कूटनीतिक माध्यममार्फत रुसलाई भ्रमण गर्नेबारेमा पनि जानकारी गराएका छन् ।

सरकारले नेपालीलाई फिर्ता ल्याउन गम्भीर पहल नगरेको भन्दै सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भने सरकार गम्भीर रूपमा लागेको बताउँछन् । ‘नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारे सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन । जोसँग सम्झौता भएका, विगतका भारत र इंग्ल्यान्डबाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ आइतबार युगान्डाबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीसँग दाहालले भने ।

उनले रुसलाई कूटनीतिक नोट पठाइएको जानकारी दिए । ‘राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ । सरकार गम्भीर छ । सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारेका छन्। युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा पुटिनसँग व्यक्तिगत वार्ता गर्न तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई सुझाव दिएका थिए। त्यसलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू वार्ताको लागि ...
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...