— रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ ।
दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
घटनाबारे युक्रेनले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । समाचार संस्थाहरूले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते तथा मृतकहरू सडकमा लडेको अवस्था देखिन्छन् । त्यस्तै तस्बिरहरूमा विस्फोट भएको स्थल वरपरका पसलहरू ध्वस्त भएका देखिन्छ ।
रुसी विदेश मन्त्रालयले घटनालाई सर्वसाधारणमाथिको ‘बर्बर आतंककारी आक्रमण’ भएको उल्लेख गरेको छ । पुसिलिनले बजारहरू व्यस्त रहेको मौका छोपेर ‘भयानक आक्रमण’ गरिएको बताएका छन् ।
दोनेत्स्क र पूर्वी युक्रेनको केही भूभाग रुसले २०१४ मा नियन्त्रणमा लिएको थियो । त्यसयता ती क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को सेप्टेम्बर ३० एक जनमत संग्रहमा गर्दै दोनेत्स्क सहित खेर्सन, लुहान्स्क र जापोरिज्जा क्षेत्रलाई आधिकारिक रुपमा आफ्नो देशमा गाभेका थिए ।
दोनेत्स्क नजिकका मरिन्का र अभ्दिभ्का क्षेत्रमा हाल रुस र युक्रेनी सेनाबीच भीषण लडाईं भइरहेको छ । संघर्ष जारी रहेका क्षेत्रबाट दोनेत्स्क करिब २० किलोमिटरको दूरीमा छ ।