— क्रिस्टोफर नोलन निर्देशित 'ओपनहाइमर'ले यो वर्षको ओस्कर मनोनयनमा वर्चश्व कायम गरेको छ । १३ विधामा मनोनित हुँदै यो फिल्मले मनोनयनको सर्वोच्च स्थान ओगटेको हो ।
त्यस्तै, इमा स्टोन अभिनित फ्यान्टसी विधाको फिल्म 'पोर थिङ्गस'ले ११ र मार्टिन स्कोर्सिसको 'किलर्स अफ फ्लावर मुन'ले ओस्कर मनोनयनमा १० विधा ओगट्न सफल छ ।
बक्स अफिसमा ब्लकबस्टर ग्रेटा गेर्विकको 'बार्वी'ले भने ८ स्थान मात्रै कब्जा गरेको छ । उत्कृष्ट फिल्मको विधामा यी फिल्मसँगै 'अमेरिकन फिक्सन', 'एनाटोमी अफ अ फल', 'द हल्डोभर्स', 'माइस्ट्रो', 'पास्ट लाइभ्स' र 'द जोन अफ इन्टरेस्ट'ले प्रतिस्पर्धा गर्दैछ । गोल्डेन ग्लोब जितेकी अभिनेत्री लिली ग्ल्याडस्टोनले पनि उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्ने पहिलो आदिवासी अभिनेत्रीको इतिहास रचेकी छन् ।
मार्च १० मा आयोजना हुने फिल्म क्षेत्रको प्रतिष्ठितमध्येको ओस्कर कार्यक्रमलाई जिम्मी किमेलले संचालन गर्ने तय भएको छ ।