। राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो ।
केही समयअघि राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका विशाल श्रेष्ठले मछिन्द्रको कप्तानी सम्हालेका थिए ।
गोल रक्षकसँगै मछिन्द्रको कप्तानी सम्हालेका श्रेष्ठले ३८ औं मिनेटमा गरेको गल्तीले नै टिम पराजित हुन पुग्यो ।
उनी अगाडि बढेको अवस्थामा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा आरामले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यही अग्रतालाई कायम गर्दै अन्ततः जावलाखेल २३ औं आहारारा पोखरा गोल्डकपको अन्तिम ८ मा प्रवेश भएको गरेको हो । खेलको दोस्रो हाफमा मछिन्द्रले आफूलाई सम्हाल्दै आक्रामक खेलेको थियो ।
दोस्रो हाफको अधिकांश समय जावलाखेललाई दबाबमा राखे पनि गोल गर्न नसक्दा मछिन्द्र नजिता उल्ट्याउन भने असफल रह्यो ।
खेलको ४८ औं मिनेटमा मछिन्द्रले पेनाल्टी बक्स नजिकै फ्रिकिक पाएको थियो । विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि मछिन्द्रले खेललाई बराबरीमा ल्याउने सुन्दर मौकासमेत गुमाएको थियो ।
आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा यो मछिन्द्रको छैटौं र जावलाखेल युथ क्लबको चौथो सहभागिता थियो । तर, कुनै पनि संस्करणमा दुवै टिम सँगै भिडेका थिएनन् ।
अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।
२०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलो पटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २–० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो । ११ औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो ।
१२ औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १–० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो । अब प्रिक्वार्टरफाइनल चौथो खेल भोलि विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच हुनेछ ।