मुख्य समाचार
आकाश चन्द : नेट बलरदेखि विश्वकपमा नेपालको हिरोसम्म
आकाश चन्द : नेट बलरदेखि विश्वकपमा नेपालको हिरोसम्म

। दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए ।

दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो योगफल बनाउने लक्ष्य राखेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानको लागि आकाश ‘भिलेन’ बने । नेपालको त ‘सुपर हिरो’ ।

उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि अफगानिस्तान सुरुवातमै ११.३ ओभरमा ४३-६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसैको कारण अफगानिस्तानका ठूलो योगफलको सम्भावना सकिएको थियो । खेलको प्लेयर अफ द म्याच पनि उनी नै चुनिए । उनले सुरुआती ६ ओभरमा मात्रै १३ रन खर्चेर ५ विकेट लिएका थिए । ८ ओभरमा ३४ रन खर्चेर पाँच विकेट लिए ।

न्युजिल्यान्डसँग खेलमा तीन विकेट लिंदै आफ्नो लय समाएका थिए । उनको सुरुआत भने नेपाली यू-१९ क्रिकेटमा नेट बलरदेखि भएको हो । नेपाल क्रिकेट संघ (क्यान) २०१६ को निलम्बनमा परेपछि घरेलु प्रतियोगिता शून्य जस्तै थियो । २०१७ देखि सिनियर टोलीको प्रधानमन्त्री कप सुरु भएको थियो । उमेर समूह कि्रकेट नेपालमा कतै हुँदैन थियो ।




त्यसैले यू-१९ टोली निर्माण ट्यालेन्ट हन्टबाट आयोजना हुन्थ्यो । नेपालका वर्तमान टोलीका कप्तान रोहित पौडेल पनि यू-१९ ट्यालेन्ट हन्टबाटै आएका खेलाडी हुन् ।

कञ्चनपुर घर भएका आकाश चन्दले गाउँतिर राम्रो क्रिकेट खेलेका थिए । तर, उनले आफ्नो प्रदर्शन देखाउने अवसर भने पाएका थिएनन् । भीम सार्की नेपालको त्यो समय यू-१९ टोलीका प्रमुख सदस्य थिए ।

भीम आफ्नो गाउँ गएको बेला आकाशबाट प्रभावित भएका थिए । त्यसैको कारण भीम सार्कीले उनलाई नेट बलरको रुपमा हेर्दिन जगत टमाटालाई आग्रह गरेका थिए । त्यो समय टमाटा आईसीसीको छनोट समिति, राखेपको क्रिकेट प्रमुख प्रशिक्षक र सिनियर टोलीको मुख्य प्रशिक्षक थिए । त्यसैको कारण उनी कञ्चनपुरबाट नेट बलरको रुपमा काठमाडौं आएका थिए ।

‘उता गाउँतिर त्यसले राम्रो गरेको थियो । हामीले गुरुसँग कुरा गरेर नेटमा आएको थियो । खासमा त्यो ब्याटर थियो । तर पछि बलिङ गर्दा गर्दै बलर बन्यो । पहिला प्रतियोगिता हुँदैन थियो । त्यसैले गुरु यस्तो बलर छ नेटमा फाल्न भएपनि बोलाउनु न भनेर कुरा गर्दिएका थियौं’, भीमले त्यो दिन सम्झदै भने ।

त्यसै समयमा नेपालको यू-१९ प्रशिक्षण टीयुमै चलेको थियो । स्पिनर सन्दीप लामिछानेले पनि यू-१९सँगै अभ्यास गरेका थिए । यू-१९ को प्रशिक्षणमा नरहे पनि नेटमा ब्याटिङमा सन्दीप लामिछानेलाई आकाश चन्दले त्यो समय दुई छक्का हानेपछि तत्कालीन यू-१९ मुख्य प्रशिक्षक विनोद दासको नजर उनीमाथि गएको थियो ।

सन्दीपलाई हानेको दुई छक्का उनको करिअरको टनिङ प्वाइन्ट बन्यो । नेपालले २०१९ जुनमा हैदराबादमा भारतको ३ टोलीसँगै नेपाल यू-१९ च्यालेन्जर सिरिज खेलेको थियो । त्यो सिरिजमा उनले पहिलो पटक नेपालको यू-१९ खेल खेल्ने मौका पाएका थिए ।

२०१९ मा विश्वको चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल भ्रमणमा आउँदा उनले नेपाल ए बाट खेल्दै एक विकेट लिएका थिए ।

घरेलु क्रिकेटमा बेन्चमा



२०१९ मा दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा उनलाई पोखरा पल्टनले टोलीमा किनेको थियो ।

तर उनले एक खेल पनि खेल्न पाएनन् । २०२१ मा एभरेष्ट प्रिमियर लिगमा उनी काठमाडौं र गत वर्ष नेपाल टी-२० लिगमा लुम्बिनी टाइगर्सको टोलीमा थिए । तर एक खेल पनि खेल्ने अवसर पाएका थिएनन् ।

उनले २०२१ देखि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । आर्मीमा सोमपाल कामी, जितेन्द्र मुखिया र बिक्रम सोब पहिलो रोजाइमा खेल्दा उनी बेन्चमा बस्दै आएका थिए । २०२१ को पिएमकपमा तीन र २०२२ मा पूरै खेलमा बेन्चमा बसेका थिए ।

गुलशन नखेल्ने भएपछि यू-१९ मा पुनरागमन

२०१९ मा भारत भ्रमणपछि नेपालको यू-१९ को अन्तर्राष्ट्रिय खेल परेन । २०२१ को यू-१९ एसिया कपमा उनी नेपालको टोलीमा पर्न सकेनन् ।

गत वर्ष यूएईमा सम्पन्न आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र डिभिजन एकको छनोटमा उनी सुरुआतमा नेपालको टोलीमा थिएनन् ।

तीव्र गतिका बलर गुलशन झा सिनियर टोलीबाट आईसीसी विश्वकप लिग-२ खेल्ने भएपछि उनले यू-१९ मा मौका पाएका थिए । त्यो अवसरलाई भने उनले खेर फालेनन् । त्यसपछि पहिलो रोजाइमा खेल्दै आएका छन् ।

विश्वकप छनोट २०२३ एसिया अन्तर्गत यूएईमा ४ खेलमा ११ विकेट लिंदै विश्वकपमा स्थान पक्का गरेका थिए । जसक्रममा उनले कुवेतविरुद्ध ६ विकेट लिंदै सनसनी मच्चाएका थिए । त्यसपछि उनले नेपाललाई एसीसी यू-१९ प्रिमियर कपको उपाधि दिलाउन २०२३ मा ८ विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए ।

हेमन्तसँग छुटेको जोडी

२०२२ को डिसेम्बरमा सुदूरपश्चिमलाई यू-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि जिताउन सानदार प्रदर्शन गरेका हेमन्तले १९ र आकाशले १५ विकेट लिएका थिए ।

यू-१९ विश्वकप छनोट, यू-१९ प्रिमियर कप र यू-१९ एसिया कपमा यी दुई जोडी मज्जाले जमेका थिए । हेमन्तले नयाँ बलका साथ इनस्वींग र आकाशले बाउन्सका साथ विकेट लिंदै आएका थिए । तर खुट्टामा चोटका कारण हेमन्त विश्वकप टोलीमा छैनन् ।

सिनियर टोलीको पनि नेट बलर

आकाश २०२१ देखि लगातार सिनियर टोलीको नेट बलरको रुपमा प्रभाव जमाउँदै आएका छन् । नेट बलरबाट नै बायाँ हाते प्रतिश जि.सीले नेपाली टोलीमा खेलिसकेका छन् । आकाश र प्रतिश नेपालको लगातार नेट बलरको रुपमा रहँदै आएका थिए ।

घरेलु प्रतियोगितामा प्लेइङ-११ मा मौका नपाए पनि उनले टीयुमा नियमति प्रशिक्षण गर्दै आएका थिए । नेपालको सिनियर टोलीसँग बन्द प्रशिक्षणमा नेट बलरको रुपमा आफूलाई निखार्दै लगे । त्यसैको कारण उनीमा निखारपन बढ्दै आएको हो ।

गत वर्ष तत्कालीन मुख्य प्रशिक्षक मनोज प्रभाकरले उनलाई सिनियर टोलीमै राख्नुपर्ने तर्कसमेत राखेका थिए । यू-१९ टोलीले गत वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताअघि आफ्नो तयारीको रुपमा सिनियर टोलीसँग अभ्यास खेल खेल्दै आएको छ ।

सिनियर टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक मोन्टी देशाई पनि उनीबाट प्रभावित भएका थिए ।

नेपाल ए को ढोका सहज

क्यानले यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपाल ए मा समेट्ने जनाइसकेको छ । आकाशले यू-१९ विश्वकपमा सानदार प्रदर्शन गर्दै नेपाल ए को यात्रा सहज बनाएका छन् । प्रधानमन्त्री कप र यू-१९ विश्वकपमा राम्रो गर्ने खेलाडी नेपाल ए को टोलीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् । पहिलोपटक फागुन २१ देखि काम सुरु ...
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...
। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन ...
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...