— आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले सोमबार प्यालेस्टाइनको चुनौती २–१ ले समाप्त पार्दै एसियन कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब कतारले अन्तिम आठमा उज्वेकिस्तान र थाल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
हारले सबैको सहानुभूति रहेको प्यालेस्टाइन टिमको चुनौती समाप्त भएको छ । इजरायल हमास युद्धबीच खेलिरहेको प्यालेस्टाइन पहिलो पल्ट प्रतियोगिताको नकआउट चरण पुगेको हो र उसले नै कतारविरुद्ध आश्चर्यजनक अग्रता पनि लिएको थियो ।
आडाय डाबागले ३७ औं मिनेटमा प्यालेस्टाइनका लागि गोल गरे । पहिलो हाफको अन्त्यतिर कतारका लागि कप्तान हसन अल हायडोसले बराबरी गोल गरे । त्यसको चार मिनेटपछि अक्रम आफिफले निर्णायक विजयी गोल गरे ।