— गोलरक्षक लियोनल एमपासीले १८ औं पेनाल्टी गरेको गोलको मद्दतले कंगोले आइतबार इजिप्टलाई टाइब्रेकरमा ८–७ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल प्रवेश गरेको छ । गिनी पनि अन्तिम आठमा पुग्ने अर्को टिम बनेको छ ।
इजिप्ट बाहिरिनु प्रतियोगिताको अर्को स्तब्धपूर्ण नतिजा रह्यो । कंगोले यसअघि निर्धारित र अतिरिक्त समयको खेलमा सात पल्टको अफ्रिकी च्याम्पियन इजिप्टलाई १–१ को बराबरीमा रोकेको थियो ।
गिनीले भने इक्वेटोरियल गिनीलाई अतिरिक्त समयको खेलपछि १–० ले हराएको हो । त्यसमा मोहम्मद बायोले खेलको ९८ औं मिनेटमा निर्णायक गोल गरे ।