मुख्य समाचार
फ्रेन्च क्लबमा साम्बा
फ्रेन्च क्लबमा साम्बा

। नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको हो ।

क्लबले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै अफिसियल फेसबुक पेजमा भिडियो पनि पोष्ट गरेको छ । त्यसमा सावित्राले पनि फ्रेन्च लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् ।

सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन् । मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर सार्वजनिक गरेको होे ।

नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्राले यसअघि इजरायलको हापोएल रानानाबाट लिग खेल्दै युरोपियन फुटबलको स्वाद लिइसकेकी छन् । इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युरोपियन लिग खेल्दै आएको छ । अब भने सावित्राले पुरापुर युरोपकै लिग खेल्नेछिन् ।


साविधा अनुबन्ध हुन लागेको क्लब गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ । लिगमा कूल १२ टोलीले खेलिरहेका छन् ।

नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन् र उपाधि पनि जितेकी छन् ।



इजरायलको लिग खेल्दै युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्रा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्वका कारण लिग रोकिँदा बीचमै नेपाल फर्केकी थिइन् । झण्डै चार महिनाको अन्तरालमा उनले अर्को उडान भर्दैछिन् ।

सावित्राको ‘टर्निङ प्वाइन्ट’

विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्राले युरोपियन लिग खेल्नुअघि छिमेकी भारतको लिग खेल्दै लगातार तीन पटक लिग उपाधि जितेकी थिइन् । उनले सन् २०१८/१९ को सिजन सेथु एफसीबाट खेल्दै भारतीय महिला लिग जितेकी थिइन् । त्यसपछि उनले अर्को सिजन गोकुलम केरलाबाट खेल्दै उपाधि जितिन् ।

२०२२/२३ मा गोकुलमबाटै खेल्दै उपाधि जितेर उनले भारतीय लिगमा उपाधिमाथि ह्याट्रिक नै गरिन् । त्यस सिजन उनले २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले भारतीय महिला लिगमा सर्वाधिक ५९ गोल गरिसकेकी छन् ।

भारतीय लिगमा राम्रो प्रदर्शन गरेपछि नै उनीमाथि युरोपियन क्लबहरुको नजर परेको थियो । नेपाली पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस मार्फत उनी इजरायलको हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । त्यो नै उनको लागि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उनी फ्रेन्च लिगमा पुगेकी छन् । त्यहाँ पनि राम्रो प्रदर्शन गरेमा सावित्राले नेपाली फुटबललाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछिन् ।

गत असारमा इजरायलको क्लबमा अनुबन्ध भएपछि सावित्राले त्यो युरोपियन क्लबको सुरुवाती यात्रा भएको बताएकी थिइन् । एक वर्ष पनि नबित्दै सावित्राले अर्को छलाङ मारिसकेकी छन् ।

एक दशकमै छलाङ

कुनै समय चोटका कारण झण्डै एक वर्ष नै मैदान बाहिर बस्नुपरेको पीडा समेत सावित्राले अनुभव गरिसकेकी छन् । तर उनी कुनै पनि कुरा असम्भव छैन भन्ने सोचेर अघि बढ्छिन् र त्यसैको नतिजा पनि हात पार्दैछिन् । फुटबल खेल्न थालेको एक दशकमा सावित्राले यी सबै उपब्धिहरु आत्मसाथ गरेकी हुन् ।

लमजुङको सिम्पानीकी सावित्राले सुरुमा राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा प्रतिस्पर्धा गरेकी थिइन् । तर २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिताले उनको करियरमा फरक ल्यायो । त्यहाँ एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए र त्यस प्रतियोगितामा सावित्राको प्रदर्शन देखेर उनै शुक्रले सावित्रालाई एपीएफ सम्मको यात्रा तय गराइदिए । त्यसपछि बाँकी जे भयो त्यो इतिहास बनिसकेको छ ।

२०७१ सालमा सावित्रा एपीएफ क्लबमा अनुबन्ध भइन् । अर्को वर्षदेखि उनी त्यही जागिरे भइन् । अनि फुटबलबाट देशको नाम चर्चित बनाउन लागिपरिन् । त्यसपछि उनी राष्ट्रिय टिममा पर्दै सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा खेल्न गइन् । त्यहाँ उनले भुटान विरुद्ध पहिलो खेलमै वैकल्पिक खेलाडीको रुपमा डेब्यु गर्दै देशका लागि पहिलो गोल गरेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...