सुमन राई।
कामधाम केही थिएन। रोजगारीका लागि विदेश जाने निधो गरेँ। साथीभाइमार्फत् बुझेपछि मलेसिया जाने चाहना बन्यो। एक दिन दलाललाई भेट्न काठमाडौंको चक्रपथ हुँदै सुकेधारा पुगेँ। त्यहाँ पुगेपछि दलालले 'रुसी सेनमा भर्ति हुन जाने हो' भन्दै प्रस्ताव गरे। उनले २ लाख ६५ हजार तलब हुने र ८ लाख खर्च लाग्ने बताएका थिए।
आकर्षक तलब पाउने सुनेपछि जाउँजाउँ लाग्यो। मैले हुन्छ भनिदिए। रुसीमा युद्ध भइरहेको कुरा मलाई थाहा थिएन। जब थाहा भयो। मैले सबै प्रक्रिया पूरा गरिसकेको थिएँ। तलबको लोभले योजना स्थगित गर्न सकिएन।
दलालले ३० दिनको भिजिट भिसा मगाएको रहेछ। भिजिट भिसामा म दुबई हुँदै मस्को पुगेँ। मस्को एयरपोर्टमा ८ घन्टा कुर्नुपर्यो। त्यहाँ पनि एजेण्टको सेटिङ रहेछ। एजेण्टले प्रक्रिया मिलाउनै ८ घन्टा लगाएको रहेछ। ८ घन्टापछि होटल लगियो। एक-दुई दिन आराम गर्ने कुरै थिएन। एजेण्ट भोलिपल्टै सेनमा भर्तिका लागि पुर्यायो। क्याम्पमा पुग्दा थुप्रै नेपाली रहेको चाल पाएँ। नेपालीमात्रै होइन, थुप्रैले ज्यान गुमाइसकेको कुरा थाहा भयो।
क्याम्पमा नेपालीहरू बढी र मंगोलियन, भारतीय र चिनियाँहरू फाटफुट थिए। एकदिनको कुरा हो मसँगै भर्ति भएका इलामका विजय तामाङको मृत्यु भएको थाहा पाएँ। युक्रेन युद्धमा गएका उनको त्यतै मृत्यु भएको रहेछ। विजयको मृत्युको खबरले मलाई सोच्न बाध्य बनायो। ज्यानको अगाडि पैसा केही होइन भन्ने लाग्न थाल्यो। ज्यान सकुसल रहे पैसा जति पनि कमाइन्छ भनेर सोँच्न थाल।
युक्रेनले नेपालीलाई कब्जा गरेजस्तै रुसीले पनि नेपालीलाई कब्जा गरेर राखेको छ।
दिमागका यस्तै कुरा चलिरहेका बेला स्याङ्जाका दीपेश क्षेत्री भगवान बनेर आइदिनुभयो। उहाँले भागौं भन्ने योजना बनाउनुभयो। दीपेश रुसीमा ४ वर्षदेखि काम गर्दा रहेछन्। उनले त्यहाँको भाषा पनि राम्रोसँग बुझ्थे। रुसी सेनाले कति गालीगलौच गर्थे, ती कुराहरू दीपेशले हामीलाई उल्था गरेर सुनाउँथे। दीपेशको कुरा सुनेर झनै वाक् लागेर आउँथ्यो। उनीहरूको देशको लागि लड्न आएको हामीलाई कुकुर बिरालोझैं व्यवहार गरेको पटक्कै मन परेन।
हाम्रो क्याम्पमा १० जना नेपाली र १५ जना रुसी थिए। युद्धमा जान एक हप्ता बाँकी रहँदा दीपेशले नै 'अब यहाँ बस्नु ठीक होइन, भागौं' भनेका थिए। एक महिना १८ दिनपछि क्याम्पबाट हामी ३ जना भागेका थियौं। तर, भागेर पनि सजिलै नेपाल फर्किने अवस्था थिएन। त्यहाँ पनि एजेण्टलाई नै समात्नुपर्ने रहेछ। त्यहाँको एजेण्टलाई ३ लाख तिरेपछि बल्ल नेपाल फर्किन सफल भयौं। एक महिना कट्दासमेत मैले कुनै पारिश्रमिक पाइनँ।
नेपालमा आइसकेपछि केही नेपालीको मृत्यु भएको खबरहरू सुनेँ। जति आउनुपर्ने हो त्यो कुरा बाहिर आएकै छैन रहेछ। रुसमा साँच्चिकै भयावह अवस्था छ। मेरो विचारमा त्यहाँ तीन-चार सय नेपालीको मृत्यु भइसक्यो होला। एक जना दाइ युद्धका लागि युक्रेन जानुभएको रहेछ। तीन सय जनामा ७० हुँदै ९ जनासम्म बाँचेको खबर उहाँले सुनाउभुनएको थियो। भनेपछि त्यहाँ कति नेपाली मारिएका छन् भन्ने कुराको गणना नै छैन जस्तो लाग्छ।
रुसी सेनमा पनि १४-१५ हजार नेपाली छन् किजस्तो लाग्छ। चार-पाँच सय जना रहेको क्याम्प त मैले नै देखेको हुँ। विडम्वना त्यहाँ सबैले सबैसँग सम्पर्क गर्न पाउँदैनन्। सबैको आ-आफ्नै पल्टन बनाउँदो रहेछ। युक्रेनले नेपालीलाई कब्जा गरेजस्तै रुसीले पनि नेपालीलाई कब्जा गरेर राखेको छ। युद्धमा पनि अगाडि पठाउने भनेकै नेपालीलाई हो। नेपालीहरू मारिएपछि रुसी सेनाहरू गाडीबाट फर्किने रहेछ। उनीहरूले आफ्नो ज्यान बचाएर भाग्दो रहेछ।
युक्रेन गएको भएँ म पनि फर्किनसक्ने अवस्था हुँदैनथ्यो। म रुसभित्रै भएरमात्रै भागेर भए पनि ज्यान बचाउन सफल भएँ।
सेनामा भर्ति भएकाहरूलाई फोन दिइँदैन। जहाँ जे भयो त्यही छोडिदिने हो। उद्धार पनि नगरिँदो रहेछ। नेपालमा पीडित परिवारसमक्ष खास कुरा नआउनुको कारण पनि त्यही हो। न मारिएकाको तथ्यांक छ, न घाइतेको उद्धार। त्यहाँ जे पनि भएको हुनसक्छ।
नेपाल फर्किएपछि घर परिवारमा खुसी त भइहाल्छ। उहाँहरूले तैंले ज्यान बँचाएर फर्किएको छौं। पैसाको चिन्ता नगर्नु भन्नुहुन्छ। कूल भएर बस्नु पछि विदेश जानै परे सोचौंला भन्नुहुन्छ। साढे २ प्रतिशत ब्याजमा ऋण लिएर गएको थिएँ। परिवारले सबै बुझिदिनुभएको छ। पैसा कमाएर तिर्दै गरौंला भन्नुहुन्छ। मेरो लागि त्यही ठूलो कुरा हो। दलालई पैसा दिएको कुनै प्रमाण छैन मसँग। हातमै पैसा दिएको हो। उहाँहरू कता हुनुहुन्छ केही थाहा छैन। अफिस पनि थाहा छैन।
कति साथीहरू त रातो पासपोर्टका लागि रुसी सेनामा भर्ति भएको पायौं। दुबईमा राम्रै जागिर गर्नेहरू छाडेर रातो पासपोर्टका लागि त्यहाँ पुगेको सुनाउँने। रातो पासपोर्टका लागि ज्यानै दिने कुरा त भएनजस्तो लाग्यो मलाई। युक्रेन गएको भएँ म पनि फर्किनसक्ने अवस्था हुँदैनथ्यो। म रुसभित्रै भएरमात्रै भागेर भए पनि ज्यान बचाउन सफल भएँ।
(काठमाडौंमा आयोजित एक कार्यक्रममा सुमनले दिएको अभिव्यक्तिको सम्पादित अंश)