— हात्ती बलियो कि हात्तीछाप चप्पल ? एक समय थियो, मान्छेहरू रेडियो सुनिरहन्थे । र, यो विज्ञापन उनीहरूलाई कण्ठस्थजस्तै थियो । यो विज्ञापन नसुन्ने र हात्तीछाप चप्पल प्रयोग नगर्ने कमै थिए । लाग्छ, एउटा पुस्ता यही विज्ञापन सुनेरै हुर्कियो । तर, अहिले समय फेरिएको छ ।
यो विज्ञापन नसुनिए पनि हात्तीछाप चप्पलको यात्रा निरन्तर छ । हात्तीछाप जन्मेको दुई दशकपछि उत्पादन सुरु भएको गोल्डस्टार ब्रान्डको जुत्ताले पनि व्यापारमा पछाडि फर्केर हेर्नुपरेन । हात्तीछाप चप्पलको माग निरन्तर बढ्दै गइरहेको छ । गोल्डस्टारको पनि उस्तै अवस्था छ ।
वि.सं. २०३० को दशकदेखि उत्पादन सुरु गरिएको हात्तीछाप चप्पल विगत ५० वर्षदेखि निरन्तर आफ्नै यात्रामा छ । कम्पनीको सस्तो, बलियो र भरपर्दो युनिक सेलिङ प्वाइन्ट (यूएसपी) अनुसार छोटो समयमै ब्रान्ड बन्न सफल यो उद्योग नुरप्रताप राणाले सुरु गरेका हुन् । मुलुकमा जुत्ता–चप्पल उद्योग नै नभएका बेला आफ्नै मुलुकमा चप्पल उत्पादन गर्ने उद्देश्यले राणाले थाइल्यान्डबाट प्रविधि भित्र्याई उत्पादन सुरु गरेको किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक एवं नुरप्रतापकी बुहारी विदुषी राणाले बताइन् ।
‘ससुराबुवा ट्रु आन्टरप्रिनअर हुनुहुन्थ्यो, मुलुकमै उत्पादन गर्नुपर्छ भनेर उहाँले चप्पल उद्योग सुरु गर्नुभएको हो,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमै उहाँले भैरहवामा बस सेवा सुरु गर्नु भएको थियो । आफैंले केही गर्नुपर्छ भन्ने उहाँमा विशेष खालको लगाब थियो ।’ नुरप्रतापले सुरु गरेको उद्योगलाई पछि छोरा आमिरले अगाडि बढाए । आमिर हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् ।
जंगबहादुर राणाको परिवार भएकै कारण शमशेर राणाहरूबाट खेदिएपछि राणाकालमा काठमाडौं छोडेर पाल्पा पुगेको थियो, नुरप्रताप राणाको परिवार । हाइड्रो पावर, बैंक, इन्स्योरेन्स कम्पनी, एलपीजी ग्यासलगायत विभिन्न क्षेत्रमा संलग्न नुरप्रतापलाई फुटवेयरले विशेष परिचित बनाएको बुहारी राणाले सुनाइन् । थाइल्यान्डमा ‘हवाई’ चप्पल लोकप्रिय भएका बेला त्यहींबाट मेसिन ल्याएर यहाँ हात्ती छाप चप्पल बनाउन सुरु गरिएको उनले बताइन् ।
‘चप्पल बनाउनकै लागि थाइल्यान्डबाट मेसिन ल्याएर ससुराबुवाले हेटौंडामा कारखाना खोल्नु भएको थियो,’ किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशकसमेत रहेकी विदुषीले भनिन्, ‘उद्योग स्थापना गरे पनि त्यसबेला गुणस्तरीय चप्पल बजारमा ल्याउन उहाँलाई झन्डै २ वर्ष लाग्यो ।’ विभिन्न कम्पोजिसनहरू मिलाएर तयार हुने चप्पल हरेक ब्याचमा बिग्रन्थे । तर पनि हरेस नखाई नुरप्रतापले राम्रो, भरपर्दो र गुणस्तरीय चप्पल उत्पादन गरेर बजारमा ल्याए । जसको नाम ‘हात्तीछाप’ थियो ।
५० वर्षअगाडिका नेपाली उपभोक्ताको मागअनुसार सस्तो, बलियो र भरपर्दो चप्पल बनाइएको थियो । नुरप्रतापले उपभोक्ताको मागलाई मध्यनजर गरेर उत्पादन सुरु गरिएको चप्पल छोटो समयमा परिचित भयो । गाउँदेखि सहरसम्मका मानिसको मुखमा ‘हात्तीछाप’ चप्पल झुन्डिन थाल्यो । हात्तीछाप चप्पलपछि उनले जुत्ता उत्पादन पनि सुरु गरेका थिए ।
नुरप्रतापले गोल्डस्टार जुत्ता बनाउन इटालियन प्रविधि भित्र्याए । त्यो समयमा इटालियन जुत्ता धेरै चल्थ्यो । त्यसैले इटालीकै प्रविधि भित्र्याएर जुत्ता बनाउने निधो गरेको विदुषीले सुनाइन् । अझै पनि आफूहरूसँग ८० प्रतिशत मेसिन इटालीकै रहेको उनले बताइन् । गोल्डस्टार जुत्ताभन्दा अघि ‘स्पार्क’ जुत्ता बनेको थियो । ‘इटालियन जुत्ताको डिजाइन हेरेर उहाँले आकर्षक र लगाउँदा पनि सजिलो हुने स्पार्क जुत्ता बनाउनुभएको थियो तर नेपाली बजारका लागि उक्त जुत्ता महँगो भयो,’ उनले भनिन्, ‘महँगो भएकै कारण उपभोक्ताले रुचाएनन् ।’
स्पार्क जुत्ता बजारमा नबिकेपछि करोडौं लगानी गरेर ल्याइएका मेसिन प्रयोगविहीन भए । ‘चप्पलले छिट्टै बजार पाउनुमा सस्तो, बलियो र भरपर्दो मुख्य कुरा थिए,’ किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणाले भनिन्, ‘धेरै फरमुलेसन मिलाएर अनेकौं प्रयासपछि गोल्डस्टार सुरु भएको हो । त्यसबेला गोल्डस्टार जुत्ता १३० रुपैयाँ हाराहारीमा बिक्री हुन्थ्यो ।’
गोल्डस्टार जुत्ताले छिट्टै बजार पाउनुमा अनेक कारण रहे । द्वन्द्वकालमा माओवादीले लगाउने जुत्ता र नेपाली युवाले बूढापाकाले लगाउने जुत्ताका नामले गोल्डस्टार परिचित छ । गोल्डस्टारले नेपाली बजारमा आफ्नो पकड जमाइरहँदा द्वन्द्वकाल सुरु भयो । द्वन्द्वकालले गोल्डस्टारलाई चुनौतीसँगै अवसर पनि दियो । त्यस बेलासम्म हेटौंडामा रहेको कारखाना बन्द गरेर काठमाडौंमा खोलिएको थियो ।
सस्तो भएकाले माओवादी लडाकुले पनि तिनै जुत्ता प्रयोग गर्न थाले । लडाकुले गोल्डस्टार जुत्ता लगाउँदा सर्वसाधारणदेखि कम्पनीसमेत अप्ठ्यारोमा पर्यो । ‘त्यसबेला गोल्डस्टार जुत्ता लगाएको देख्नेबित्तिकै सुरक्षाकर्मीले माओवादी हो, गोली ठोक भन्ने मानसिकता बनेको थियो,’ निर्देशक राणाले भनिन्, ‘त्यसपछि त काठमाडौंबाहिर जुत्ता नै पठाउन पाएनौं । काठमाडौंदेखि बाहिर पठाउने भन्यो कि प्रशासनद्वारा माओवादीलाई पठाउन लागेको सोच्थे ।’ काठमाडौंमा मात्रै जुत्ता बेचेर उद्योग चलाउन सक्ने अवस्था रहेन । ‘मेरा श्रीमान् (आमिर) र सुसुरबुवालाई त्यसबेला फ्याक्ट्री जोगाउन धेरै गाह्रो भएको थियो,’ उनले भनिन्, ‘आफैंले खोलेको कम्पनी जोगाउन संघर्ष गर्नुपर्ने अवस्थामा पुग्नुभएको थियो ।’
त्यसबेला ४५ सय कामदारलाई रोजगारी दिएको गोल्डस्टारले नेपालभन्दा बाहिर पनि बजारको खोजी गर्न थाल्यो । भारतको उत्तर प्रदेश र विहारमा गोल्डस्टारले राम्रै बजार पायो । त्यसबेला उत्पादनको ८० प्रतिशत जुत्ता भारतमै निर्यात गरिन्थ्यो । तर, अहिले त्यसको मात्रा घटेको छ । द्वन्द्वकालमा भारत निर्यात हुन थालेको जुत्ता–चप्पल मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेसँगै स्वदेशका गाउँगाउँ पुग्न थालेको थियो । ‘द्वन्द्वकाल हाम्रा लागि अवसर पनि बन्यो,’ निर्देशक राणाले सुनाइन्, ‘मुलुकमै गोल्डस्टारको व्यापार सुचारु रहन्थ्यो भने त हामीले बाहिरको बजार खोज्दैन थियौं होला । व्यापार काठमाडौंमै केन्द्रित भएकाले हामीले नेपालभन्दा बाहिर पनि बजार खोज्यौं र पायौं ।’ त्यसबेला आफूहरूले बेचिरहेको मूल्यमा भारतमा पनि जुत्ता नपाइने उनले सुनाइन् ।
गोल्डस्टारको उतारचढाव यत्तिमै रोकिएन । द्वन्द्वकालमा चुनौतीसँगै अवसर पाएको यसले अझै पनि विभिन्न समस्या झेल्दै आएको छ । ०७२ सालमा भूकम्प गएपछि कामदार गाउँ फर्के । भूकम्पको परकम्प आएसँगै कारखाना बन्द हुन्थ्यो । अनि केही समयपछि फेरि खुल्थ्यो । यसरी नै ७/८ महिना बित्यो । भारतजस्तो प्रतिस्पर्धी बजारमा जुत्ता पठाउन नसकेपछि बजार गुमेजस्तो भयो ।
अर्कोतर्फ नक्कली गोल्डस्टारको बिगबिगी बढ्यो । ‘गोल्डस्टार’ ट्रेडमार्क प्रयोग गरेर भारतस्थित उत्तर प्रदेश र विहारमा गोल्डस्टार जुत्ता बन्न थाले । भारतमा गोल्डस्टार जुत्ताका नाममा नक्कली जुत्ता अझै बनिरहेको राणाको आरोप छ । ‘गोल्डस्टार भनेर वा गोल्डस्टारको पछाडिको आर नलेखेर वा डी नलेखेर अहिले पनि उत्तर प्रदेश, विहारमा नक्कली जुत्ता बन्ने क्रम रोकिएको छैन,’ उनले भनिन्, ‘भारतीय अदालतमा यससम्बन्धी १० देखि १५ वटा मुद्दा छन् । हरेक महिना मेरो श्रीमान् त्यही मुद्दाका सिलसिलामा भारत गइरहनुहुन्छ ।’ चीनबाट पनि केही वर्षअघिसम्म नक्कली गोल्डस्टार जुत्ता बनेर नेपाली बजारमा आइरहेको उनले सुनाइन् ।
भारतमा चलेको नोटबन्दीको असरले पनि गोल्डस्टारलाई प्रभावित गर्यो । पहिला नगदमा खरिद गरिरहेको जुत्ता–चप्पल अब प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भयो । भूकम्प, नाकाबन्दी र नोटबन्दीले गर्दा झन्डै डेढ/दुई वर्ष जुत्ता–चप्पल उद्योगले गति लिन सकेन । द्वन्द्वकालमा २४ घण्टा चल्ने उद्योग भारतको नोटबन्दीसम्म आइपुग्दा १२ घण्टामा सीमित भएको थियो । नेपाली जुत्ता उद्योगले गति लिइरहँदा भारत सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै जुत्ता–चप्पल आयातमा कडाइ गर्यो र कर लगायो । कर छुटमा जाने भएकाले नेपाली जुत्ता सस्तो थियो । कर लगाएपछि यत्तिकै पनि महँगो भयो । भारतले एक हजारभन्दा कम मूल्यका जुत्तामा १२ प्रतिशत, २ हजारभन्दा कममा १८ प्रतिशतसम्म कर लगायो । कुनै बेला ८० प्रतिशतसम्म जुत्ता निर्यात हुने भारतीय बजारमा अहिले ४० प्रतिशतभन्दा कम निर्यात छ ।
कम्पनीमा अहिले ३ हजार कर्मचारी कार्यरत छन् । तीमध्ये ८० प्रतिशत महिला छन् । १२ घण्टा मात्रै उद्योग चल्छ । काठमाडौंको चप्पल कारखानामा मात्रै सीमित उद्योग अहिले बालाजु औद्योगिक क्षेत्र र भैरहवासम्म फैलिएको छ । भैरहवामा आफैंले जग्गा किनेर उद्योग चलाउन सुरु गरेको ३ महिना भइसकेको राणाले सुनाइन् । जुत्ता–चप्पलको माग घट्दा र निर्यातसमेत घट्दा कामदार कटौती गर्नुपर्ने अवस्थामा पुगेको उनी बताउँछिन् ।
नेपालमा आफैंले उत्पादन गरेको जुत्ता–चप्पल बेच्न सक्ने अवस्था नरहेको राणाले गुनासो गरिन् । राणाको भनाइमा नक्कली जुत्ता, कर नतिरेको, भन्सार छली, न्यून बिजकीकरण गरेका जुत्ता बजारमा छ्यापछ्याप्ती छन् । अहिले ८० प्रतिशत बजार चोरीपैठारी भई आउने जुत्ताको छ । साना–ठूला गरी १५ सय जुत्ता–चप्पल उद्योगको बजार २० प्रतिशतमा खुम्चिएको छ । भूकम्पअघिसम्म वार्षिक ४ अर्ब रुपैयाँ बराबरको जुत्ता भारत निर्यात गरिन्थ्यो भने अहिले मुस्किलले १ अर्ब रुपैयाँको निर्यात गरिने राणाले बताइन् । माग घटेसँगै उद्योग पनि २५/३० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको उनको गुनासो छ ।
गोल्डस्टार नेपालमा बूढापाकाले मात्र लगाउने जुत्ताका रूपमा परिचित थियो । द्वन्द्वकालमा ‘माओवादीले लगाउने जुत्ता’ बन्यो । ‘अहिलेका युवाहरू स्टाइलिस, फेसनेबल जुत्ता खोज्छन् भन्ने बुझेरै हामीले विभिन्न मोडलका जुत्ता उत्पादन गरिरहेका छौं,’ राणाले भनिन्, ‘रिब्रान्डिङभन्दा पनि डिजाइन चेन्ज गरेर अहिले स्टाइलिस, फेसनेबल र युवाहरूले मन पराउने जुत्ता उत्पादन गरिरहेका छौं ।’ ‘जी १०’ सिरिजमा युवालक्षित जुत्ता बनिरहेका छन् । हरेक महिना १० देखि १२ वटासम्म नयाँ डिजाइनका जुत्ता उत्पादन गरिरहेको उनले सुनाइन् । ‘बेडरुम स्लिपर बनाएका छौं, बाथरुमका लागि हात्तीछाप चप्पल छँदै छ,’ उनले भनिन्, ‘मर्निङवाकका लागि स्पोर्ट सुज, स्कुलका लागि कालो र सेतो जुत्ता छ । सुरक्षाकर्मीदेखि अफिसियल लेदरका जुत्ता, महिलाका लागि विभिन्न स्यान्डलदेखि स्लिपरसम्म उत्पादन गरिरहेका छौं । रेनबुट्स पनि बनाउँछौं ।’
गोल्डस्टारको नेपालमा ८० वटाभन्दा बढी आफ्नै फ्रेन्चाइज स्टोर छन् । नेपालभन्दा बाहिर बहराइन, कतार, अस्ट्रेलियामा पनि फ्रेन्चाइज स्टोर छन् । भारतमा पनि छिट्टै फ्रेन्चाइज स्टोर खोल्ने तयारी चलिरहेको राणाले सुनाइन् । उनका अनुसार भुटान र जापानमा पनि फ्रेन्चाइज स्टोरका लागि काम भइरहेको छ ।
सरकारले फुटवेयर इन्डस्ट्रीलाई महत्त्व नदिँदा समस्या भइरहेको राणाको तर्क छ । ‘कुनै बेला गार्मेन्ट, पस्मिना, गलैंचा निर्यात गरेर अर्बौं देशभित्र भित्रिइरहेको थियो,’ उनले भनिन्, ‘जुत्ता–चप्पल पनि निर्यात गरेर कुस्त कमाउन सकिन्छ भन्ने चेत नआएसम्म स्वदेशी जुत्ता–चप्पलको भविष्य संकटमै रहने निश्चित छ ।’
गोल्डस्टारको ४० प्रतिशतभन्दा बढी भ्यालु एड नेपालमै गरिन्छ । जुत्ताको ‘अपर’ स्वदेशी उद्योगबाटै धागो किनेर बनाइन्छ । लेस यहीं बन्छ । सोलको पनि कच्चा पदार्थ बाहिरबाट ल्याएर नेपालमै बनाइन्छ । स्वदेशी उद्योगमैत्री नीति हुने हो भने लेस बनाउने, सोल बनाउनेलगायत उद्योग नेपालमै खुल्न सक्ने राणाको तर्क छ । ‘अहिले हामी दक्ष जनशक्तिको अभाव झेलिरहेका छौं,’ उनले भनिन्, ‘तलबसहित तीनमहिने तालिम दिएर जनशक्ति तयार गर्छौं तर विडम्बना तालिम सकेर काम गर्ने बेलामा सीप बोकेर विदेश गइदिन्छन् ।’