— चिलीमा डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तटीय क्षेत्रमा रहेको विना डेल मार सहरआसपासका भूभाग आगलागीबाट बढी प्रभावित भएको छ ।
सहरका मेयरका अनुसार अहिले पनि २०० भन्दा बढी मानिस बेपत्ता छन् । चिलीको गृह मन्त्रालयका अनुसार देशभर ४३० वर्गकिलोमिटर भन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । गर्मी बढ्दै गएको र तीव्र हावाका कारण आगलागी फैलिएको बताइएको छ ।