मुख्य समाचार
चिनियाँ ह्याकर 'भोल्ट टाइफुन' ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको एफबीआईको आरोप
चिनियाँ ह्याकर 'भोल्ट टाइफुन' ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको एफबीआईको आरोप

— ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले दाबी गरेको छ ।

बुधबार अमेरिकी संसदको एक समितिमा सोधिएका प्रश्नहरूको जवाफ दिँदै एफबीआईका निर्देशक क्रिस्टोफर रेले आफूहरूले 'भोल्ट टाइफुन' नामक चिनियाँ ह्याकर समूहलाई बन्द गराउन अभियान नै चलाएको बताएका थिए ।

रेले आफ्नो बयानका क्रममा सो समूहले अमेरिकास्थित विभिन्न पुराना सरकारी कार्यालयका राउटरहरूमार्फत ह्याकिङ र डेटा चोरीको प्रयास गरेको आरोप लगाएको बेलायती सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

कुनै शत्रुतापूर्ण द्वन्द्व भइहालेको खण्डमा अमेरिकाका प्रमुख पूर्वाधारहरूलाई काम नलाग्ने बनाउन सकियोस् भन्ने उद्देश्यले चीनले आफ्नो प्राविधिक तयारी अगाडि बढाइरहेको एफबीआई प्रमुखको निष्कर्ष थियो ।

उनको यो आरोपमा चीनले कुनै आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन । यद्यपी, विगतमा चीनले आफूमाथि लाग्ने गरेको राज्य समर्थित साइबर युद्धको प्रतिवाद गर्दै अमेरिकालाई नै 'संसारको सबैभन्दा ठूलो ह्याकर राज्य र विश्वव्यापी साइबर चोर' भएको आरोप लगाउने गरेको थियो ।


भोल्ट टाइफुन समूहले अमेरिकी सञ्चार संयन्त्रमा आक्रमण गरेको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को मे महिनामा सोही समूहले गुआमस्थित अमेरिकी सेनाका बेसहरूमा ईमेल र अन्य सञ्चार पूर्वाधारमाथि मालवेयर मार्फत आक्रमण गरेको थियो ।

त्यस्तै, जुलाइमा अमेरिकी वाणिज्य मन्त्रालयसहित विभिन्न सरकारी निकायका ईमेलमा आक्रमण गरेको माइक्रोसफ्ट र अमेरिकी गुप्ताचर संस्थाहरूले घोषणा गरेका थिए । अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण आसपास पनि चिनियाँ राज्यसमर्थित ह्याकरहरूले अमेरिकी अधिकारीहरूका ईमेलमा अनाधिकृत पहुँच बनाएको सार्वजनिक भएको थियो । चीन सरकारले भने यस्तो आरोपहरूलाई एकदमै अव्यावसायिक र भ्रामक सूचना भएको प्रतिक्रिया दिँदै आएको छ ।

बुधबारको बयानका क्रममा एफबीआई निर्देशकले सो चिनियाँ ह्याकरहरूको समूह विभिन्न अमेरिकी पूर्वाधारका एक सयभन्दा बढी पुराना राउटरमा मालवेयर इन्स्टल गर्न सफल भएको उल्लेख गरेका थिए ।

'चीनले युद्धको अवस्था आइहालेमा राजनीतिक वा सैन्य स्थानहरूमा मात्रै आक्रमणको तयारी गरेको छैन,' रेको भनाइ थियो, 'आवश्यक परेमा उनीहरू अमेरिकी समूदाय र नागरिकहरूमा उथलपुथल मच्चाउन र साँच्चै क्षति पुर्‍याउन सक्ने तयारीमा छन् ।' अमेरिकी संसदीय समितिको सो छलफलमा चीनको त्यस्तो तयारी साइबर पूर्वाधार क्षेत्रमा विभिन्न पावर ग्रीड र ठूला पुलहरूमा बम राखेजत्तिकै जोखिमपूर्ण भएको चर्चा भएको थियो ।

चीनले भने अमेरिकी संसद्को अमेरिका-चीन प्रतिस्पर्धासम्बन्धी समितिकै कडा शब्दमा आलोचना गर्ने गरेको छ । एफबीआई निर्देशकले भोल्ट टाइफुन समूहजस्ता अभियान चीन सरकारले साइबर युद्धका लागि तयार गरेको भन्दै यस्ता साधन स्रोतबारे विस्तृतमा बयान गरेका थिए । रेले चीनको राज्यसमर्थित ह्याकिङ क्षमता बाँकी सबै देशहरूको जोड्दाभन्दा पनि ठूलो रहेको र एफबीआईका साइबर एजेन्टभन्दा चीनका यस्ता एजेन्टहरू ५० गुणा धेरै रहेको दाबी गरेका थिए । अमेरिका र चीनबीचको प्रविधि युद्ध बढ्दै जाँदा दुई देशले खुलेरै एकर्कालाई साइबर आक्रमणमा संलग्न भएको आरोप लगाउने गरेका छन् ।

संगठित रूपमा हुने ह्याकिङको क्षति सन् २०२० मा १० खर्ब डलरभन्दा माथि पुगेको अनुमान गरिएको थियो । सन् २०२४ मा आफ्नो साइबर सुरक्षा प्रणाली बलियो बनाउन विभिन्न संस्थाहरूको क्षमता विकासका लागि मात्रै अमेरिकी संघीय बजेटमा झन्डै १८ अर्ब डलर विनियोजन भएको एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...