मिहिनेत, दृढ संकल्प र अनुशासनले एउटा खेलाडीलाई कहाँसम्म पुर्याउन सक्छ, त्यसको राम्रो उदाहरण बनेकी छन्, सावित्रा भण्डारी । आफूलाई साम्बा उपनामले चिनाइसकेकी उनको एउटै मात्र सपना थियो– अब्बल दर्जाको फुटबल खेल्ने । त्यसका लागि उनले युरोपलाई आफ्नो गन्तव्य रोजेकी थिइन् र दिनरात परिश्रम गरिरहेकी थिइन् ।
फलस्वरूप उनी भर्खरै फ्रान्सेली क्लब अन आभान्टा ग्वेनगाम्पमा अनुबन्ध भएकी छन् । यस क्लबमा आबद्धताको अर्थ विश्व महिला फुटबलको सबैभन्दा उच्च दर्जाको फुटबल खेल्ने सुनिश्चितता हो । यो नेपाली फुटबल खेलाडीले व्यावसायिक रूपमा प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता हो ।
सावित्राले यसअघि युरोपेली लिगअन्तर्गतको इजरायली क्बल हापोएल रानानामा अनुबन्ध भएर खेलेकी थिइन् । इजरायल–हमास युद्धका कारण यो लिग बीचमै रोकियो र उनी फर्कन बाध्य भइन् । इजरायलको माथिल्लो डिभिजनको महिला लिग खेल्ने क्रममा उनले सक्दो उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । त्यसले धेरैको मन जितेको थियो । हापोएल रानानाका लागि खेल्ने क्रममै उनको प्रदर्शन हेर्न युरोपका स्काउटहरू आइरहन्थे र सावित्राको खेलबाट प्रभावित हुन्थे । यसैको नतिजास्वरूप उनी अन आभान्टा पुगेकी छन् ।
फ्रान्स विश्व फुटबलकै एक महाशक्ति देश हो । त्यसको घरेलु फुटबल उत्तिकै मजबुत छ । फ्रान्सको माथिल्लो डिभिजनको महिला लिगलाई ‘डिभिजन वान फेमिनी’ भनिन्छ । आधा दशक इतिहास भएको यो लिग विश्वकै उत्कृष्टमध्ये एकमा पर्छ । त्यसैले यस लिगले विश्वस्तरीय खेलाडीलाई आकर्षित गर्छ । यस लिगमा खेल्ने टिमले युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा दबदबा कायम गरिरहेको छ ।
सावित्राले नेपाली घरेलु फुटबलमा एपीएफ क्लबबाट खेलिन् र यसलाई नेपाली महिला फुटबलकै सबैभन्दा सफल टिम बनाइन् । भारतको महिला लिगमा पनि उनी अहिलेसम्मकै सफलतम खेलाडीमध्ये एक हुन् । सेथु एफसी र गोकुलम केरलाका लागि खेल्ने क्रममा उनले तीनपल्ट इन्डियन वुमेन्स लिगको उपाधि जितिन् । उनले नेपाली राष्ट्रिय टिमका लागि कीर्तिमानी ४२ गोल गरेकी छन् । आफ्नो खेल जीवनमा अनेक उतारचढाव आउँदा पनि सावित्राले कहिल्यै हरेस खाइनन् र लगातार मिहिनेत गर्न पनि छाडिनन् । सावित्राको फ्रान्ससम्मको फुटबल यात्राले ठूलो सम्भावना देखाएको छ । नेपालमा केही हुँदैन, अझ नेपाली खेलकुदमा केही पनि हुँदैन भन्नेहरूलाई जवाफ दिन उनी बलियो नजिर बनेकी छन् । आफ्नो लक्ष्यमा अर्जुनदृष्टि राख्ने हो र त्यसका लागि कडा परिश्रम पनि गर्ने हो भने सावित्राजस्तै नेपाली खेलाडी विश्वस्तरमा पुग्न सक्छन् भन्ने प्रमाणित भएको छ ।
नेपाली खेलाडीले यस्तो सफलता हासिल गरिरहँदा घरेलु महिला फुटबल भने कमजोर छ । महिला फुटबल खेलाडीका लागि खेल्न नपाउने नै सबैभन्दा ठूलो समस्या छ । प्रतियोगिता नै हुँदैन, आक्कलझुक्कल भए नियमितता पाउँदैन । अखिल नेपाल फुटबल संघ (एन्फा) स्वयं आन्तरिक विवाद र कलहमा रुमल्लिएको छ । एन्फाले महिला मात्र होइन, समग्र नेपाली फुटबलमै ध्यान दिन सकिरहेको छैन । सम्भावना रहेर पनि सावित्रा जस्ता अन्य खेलाडी उत्पादन गर्न सकिरहेको छैन । एन्फाले सावित्राको जत्तिकै मिहिनेत गर्ने हो र त्यसमा सरकारले पनि साथ दिने हो भने नेपाली महिला फुटबल एसियन कपसम्म पुग्न सक्छ ।
सावित्राको अन आभान्टासँग अनुबन्धनलाई महिला स्वतन्त्रता र लैंगिक समानतासँग पनि जोडेर हेर्न सकिन्छ । आधुनिक विश्व फुटबल केही सय वर्ष पुरानो भए पनि यसका लागि महिला फुटबल अझै नयाँ जस्तै हो । महिला फुटबल बेस्सरी जुरमुराएको केही दशक मात्रै भएको छ । महिलाले उत्कृष्ट फुटबल खेलेर नै आफूलाई पुरुष जत्तिकै यस खेलमा अब्बल छौं भनेर प्रमाणित गरेका छन् । नेपालको सन्दर्भमा सावित्राले गरेको काम ठ्याक्कै यही हो । अब उनी त्यस्तो सुखद संघारमा पुगेकी छन्, जहाँ उनले विश्व महिला फुटबलकै उत्कृष्ट महिला खेलाडीसँग सहकार्य गर्नेछिन्, प्रतिद्वन्द्विता पेस गर्नेछिन् । उनको यो यात्रा जुनसुकै विधामा रहेका नेपाली महिलाका लागि पनि प्रेरणा हुन सक्छ ।