एजेन्सी — इंग्ल्यान्ड भारतविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन शनिबार आफ्नो पहिलो इनिङ्समा २ सय ५३ रनमा अलआउट भएको छ । फास्ट बलर जसप्रित बुमराहको सटिक रिभर्ज स्विङ बलिङसामु इंग्ल्यान्ड धरासायी भएको हो ।
उनले ४५ रनमा छ विकेट लिए । दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै विना कुनै विकेट २८ रन बनाएको छ र घरेलु टिम समग्रमा १ सय ७१ रनले अगाडि रहेको छ ।
भारतका लागि यशस्वी जैसवाल १५ र कप्तान रोहित शर्मा १३ रन बनाएर खेलिरहेका छन् । यसअघि भारतले पहिलो इनिङ्समा ३ सय ९६ रन बनाएको थियो ।
त्यसमा ओपरन यशस्वीले शानदार दोहोरो शतक बनाए । उनले २ सय ९ रन बनाए र त्यसमा १९ चौका र सात छक्का प्रहार गरे ।