— यता नेपालमा कात्तिक १५ को दिन थियो । युक्रेनको पूर्वी बखमुतमा पैदल गस्ती सुरु गरेको १५/२० मिनेट मात्रै हुँदै थियो, १६ जनाको टोलीमाथि मिसाइल खस्यो, समूहमा आठ नेपाली थिए, त्यसमध्ये जितबहादुर (नाम परिवर्तन) त पहिलो दिन रेडजोनमा पुगेका थिए । उनी अहिले रुसको राजधानी मस्कोबाट करिब ७ सय किलोमिटर टाढा सेन्ट पिटर्सवर्गको एक अस्पतालमा छन् ।
‘दुई साताको तालिमपछि हामीलाई रुसले कब्जा गरेको युक्रेनी क्षेत्र बखमुत लगियो । स्थानीयले छाडेको सहर रित्तो थियो । १५ दिन त्यहाँ राखेपछि रेडजोनमा ड्युटी खटायो । हामी सुरक्षित स्थलसम्म गाडीमा गयौं । गाडीबाट ओर्लिएर केही हिँडेका मात्र थियौं, मिसाइल निसानामा पर्यौं,’ जितबहादुरले फोनमा कान्तिपुरसँग भने ।
मिसाइल प्रहारबाट भागदौड भएकाले सुरुमा जितबहादुरले धेरै मेसो पाएनन् । हातमा रगत लागेको देखेपछि छर्रा लागेको थाहा पाए । ‘मसँग ब्याग थियो । ओढ्ने–ओछ्याउने थियो । हल्काफुल्का खानेकुरा थियो । लोड गरिएको हतियार थियो । हातमा रगत लागेपछि चाहिँ बमले भेटेको महसुस भयो । तर, दुखेको थिएन,’ उनले भने ।
भारी नजिकै फालेर सुरक्षित ठाउँ खोज्दै थिए । ‘अलिक हिँड्न मात्रै लागेको थिएँ । एक मिनेटको अन्तरमा अर्को मिसाइल आयो । यसपालि मलाई गम्भीर चोट लाग्यो । पेटमा दुई/तीन ठाउँमा छर्रा छिर्यो । दाहिने खुट्टामा ठूलो चोट लाग्यो । जताततै घाउ नै घाउ भयो । कम्मरबाट मुनितिर चलेन,’ उनी बयान गर्छन् ।
वरिपरि बम जताततै झरिरहेको थियो । माथि मिसाइल बोकेका ड्रोन उडिरहेका थिए । तुरुन्तै उद्धार गर्न कोही आएन । भन्छन्, ‘ड्रोन घुम्न छोड्यो, बम झर्न छोड्यो रोकियो भने मात्र उद्धार टोली आउने हो । तर हामी ड्रोन घुमिरहेको हेरेर चुपचाप बस्यौँ । उसले मान्छे जीवत छ भन्ने चाल पायो भने फेरि बम झारिदिन्छ । चुपचाप निर्जीव बनेर रूख लडे जसरी नै लडेर पर्खिरह्यौं ।’
जितबहादुरको उद्धार त भयो, तर सात घण्टा पछि । ‘जति पीडा भए पनि चुप लागेर पल्टिरहेँ । मेरो पछाडि चोट नलागेका नेपाली साथी थिए । बम झर्न कम भएपछि उनी एक किलोमिटर अगाडि गएर कमान्डरलाई सूचना दिए । घटनास्थलबाट एक किलोमिटर पर लगेर साथीहरूले खुल्ला सडकमा ल्याएर राखे,’ उनले भने, ‘रगत धेरै बग्यो । रगत बगेर नै मरिन्छ कि भन्ने डर थियो । चिसो बढ्दै गएपछि रगत बग्न कम हुँदै आयो । जब ड्रोन घुम्न छाड्यो, बम आउन छोड्यो । बल्ल उद्धार टोली आइपुग्यो ।’
त्यो मिसाइल हमलामा तीन नेपाली घाइते भएका थिए । त्यसमा कति जना रुसी नागरिक परे ? र, कतिको मानवीय क्षति भयो भन्ने भेउ जितबहादुरले पाएनन् । ‘सुरुमा म मात्रै घाइते भएको होला भनेर ठानेको थिएँ । पछि हामी तीन जना नेपाली घाइते भएको थाहा पाएँ । घाइते नभएका साथीहरूले मलाई अस्पताल पुर्याउने भनेर बस्ने इच्छा गरिरहेका थिए । तर, कमान्डरले उनीहरूलाई बस्न दिएन,’ उनले भने, ‘घाइते भएकालाई उद्धार गरियो । घाइते नभएकाहरू युद्ध क्षेत्रमा तत्कालै पठाइयो ।’
युद्धस्थलबाट उद्धार गरेर बखमुतमै प्रारम्भिक उपचार भयो । त्यहाँबाट करिब सय किमि टाढा युक्रेनकै लुहान्स्कको अस्पतालमा ल्याइयो । उनी गम्भीर घाइते भएकाले त्यहाँ उपचार सम्भव भएन । त्यहाँ एकरात राखेपछि हेलिकोप्टर र जहाज उडानबाट उनलाई सेन्ट पिटर्सवर्ग ल्याइयो । तीन महिनादेखि अस्पतालमा उपचाररत जितबहादुरको खुट्टाको अप्रेसन भइसकेको छ । पेटबाट छर्रा निकालिएको छ । घाउ निको हुने क्रममा छ । तर भविष्य उनले अन्योलमा छ ।
उनले तालिममा नै धोका पाएको बताए । ‘रुसी सेनामा भर्ती भएपछि मर्न पनि सकिन्छ । बाँच्न पनि सकिन्छ । चोटपटक लाग्छ भन्ने जोखिम उठाएर आएको हो । कसैलाई दोष लगाउने ठाउँ छैन,’ उनले भने, ‘तर, मैले तालिम यति छोटो हुन्छ भन्ने सोचेको थिइनँ । यसमा धोका पाइयो । तालिम तीनदेखि चार महिनासम्म हुन्छ भनेको सुनेको थिएँ । दुई साता मात्रै तालिम दिएर युद्ध मैदानमा खटायो । यसले लडाइँमा हामी स्वतः कमजोर छौं ।’
जितबहादुर रुसी सेनामा भर्ती हुनुअघि २०२० देखि कतारको तालवात कम्पनीमा डेलिभरी बाइक राइडरको काम गर्थे । कतार जानुअघि मलेसियामा पनि तीन वर्ष काम गरेका थिए । ‘बाइक राइडरको काम अर्डरबमोजिम खाना पुर्याउने जिम्मेवारी थियो । निश्चित तलब थिएन । अर्डरअनुसार कमिसन पाइन्थ्यो । एउटा अर्डर पूरा गर्दा साढे चार रियाल (१५३ रुपैयाँ) पाइन्थ्यो । दैनिक ८ देखि १५ सम्म डेलिभरी हुन्थ्यो । मान्छे धेरै भएपछि काम बाँडियो । अर्डर आउन पनि छोड्यो,’ उनले भने ।
‘यो कामले केही भइरहेको थिएन । एक्कासि रुसी सेनामा नेपालीहरू भर्ती भइरहेको भिडियोहरू टिकटक फेसबुकमा छ्याप्छ्याप्ती छाउन थाले । मैले यो विषयमा तीन महिना सोचविचार गरेर भर्ती हुन जाने निर्णय लिएँ,’ उनले भने ।
पैसा र भविष्य सोचेर नै रुसी सेनामा भर्ती भएको उनले बताए । ‘एक वर्ष सेवा गरेपछि रुसी राहदानी पाउने र त्यसपछि परिवारसहित बस्न पाउने आश्वासनले मलाई तान्यो । महिनाको दुई लाखको तलब पनि हाम्रो लागि ठूलै हो,’ उनले भने, ‘आखिर बाँच्नु छ भने जहाँ गए पनि केही हुँदैन भनेर नै सोचियो । भाग्यमा विश्वास गर्दा जोखिम लिइँदो रहेछ ।’
रुसी सेनामा जाने निश्चय गरेपछि उनले भर्ती हुने बाटो खोज्न थाले । टिकटकमा भिडियो हाल्नेहरूसँग सम्पर्क बढाउन थाले । कतारमै रुसी सेनामा पठाउने एजेन्ट खोज्न थाले । दुबईबाट गएका एक जना साथीले बाटो देखाइदिए, ‘दलालबाट भर्ती हुन आउँदा ५–७ लाख रुपैयाँ सकिन्छ । आफैंले भिसा निकालेर आए भने टिकट र एक दिनको होटल खर्च मात्रै हो ।’ उनले कतारमा खुलेको ट्राभल एजेन्सी गएर रुसको भिजिट भिसालाई चाहिने कागजात तयार गरे । दोहास्थित रसियन दूतावासमा कागजात पेस गरेकै दिन राहदानीमा भिजिट भिसा लाग्यो ।
उनी भदौ ३१ मा कतारबाट दुबई ट्रान्जिट भई मस्को विमानस्थल पुगे, यसमा दुई लाख रुपैयाँ खर्च भयो । ‘रुसी सेनामा भर्ना हुन आएकोलाई विमानस्थलबाट नै फर्काउने हल्ला थिए । मलाई भने अध्यागनमा कुनै सोधपुछ गरेन । मैले राहदानीसँगै फिर्ती टिकट, होटल बुकिङ र ट्राभल बिमा पनि पेस गरेको थिएँ । मलाई एक शब्द पनि पनि नसोधी अध्यागमनले छिर्न दियो,’ उनले भने, ‘समूहमा आएकालाई ५ देखि १२ घण्टासम्म सोधपुछका लागि राख्ने गरेको रहेछ । कसैलाई फिर्ता पठाउँदो रहेछ । कसैलाई प्रवेश दिँदो रहेछ ।’
विमानस्थलबाट मस्कोको एक होटलमा गएर बसे । असोज १ को बिहानै एक जना नेपाली होटलमा लिन आए । उनले नै सिधै भर्ना हुने क्याम्प देखाइदिए । ‘रसियनहरू अंग्रेजी नबोल्ने रहेछन् । मैले आई वान्ट टु ज्वाइन आर्मी भनेर भनेँ । उनीहरूले एक जना पाकिस्तानीलाई अनुवादकको रूपमा राखेको रहेछ । अनुवादकमार्फत पनि कुरा भयो । रगत परीक्षण र छातीको एक्सरे गराए । स्वास्थ्य परीक्षणमा पास भएँ,’ उनले भने, ‘४/५ घण्टाको प्रक्रियापछि मलाई होटल गएर बस्ने कि क्याम्पमा जाने भनेर सोधेको थियो । मैले क्याम्पमै प्रवेश गर्ने हो भनेपछि उनीहरूले लिएर गए । राहदानी पनि मलाई नै फिर्ता दियो । कसैकसै साथीहरूले वार जोनमा पठाउने बेला राहदानी थुत्छ भन्थे । हाम्रो त लिएन ।’
जितबहादुरलाई सेनामा भर्ती हुन, पैसा कमाउन र परिवारको भविष्य सुरक्षित गर्न हतारो थियो । त्यसैले करारपत्रमा लेखिएको सर्तहरू उनले ध्यानपूर्वक पढेनन् । बरु पहिलो दिन नै भर्ना हुने क्याम्पमा राखेकामा उनलाई सन्तोष लागेको थियो । ‘मस्कोबाट एक रातको बसको दूरीमा रहेको एभनगाइड तालिम केन्द्रमा पुर्यायो, त्यहाँ १० दिन जति राखियो । यहाँ सेवा सुविधा राम्रै थियो । खाना नै तीन पटक दिन्थ्यो,’ उनले भने, ‘कोठा पनि अरुले नै सफा गरिदिन्छ । लुगा धुनु पर्दैन । बिस्तारा मिलाइदिन्छ । सबथोक गरिदिने हुन्छ । क्याम्प पनि राम्रो छ । यो हेरेर नै धेरै नेपालीको रुसी सेनामा आकर्षण बढेको हो । तर, जति रमाइलो, यही मात्रै हो ।’
असोज १४ मा बन्दुक चलाउने तालिम दिन उनलाई अस्थायी क्याम्पमा लगियो, त्यहाँ ७ दिन हतियारको बारेमा सिकाइयो । ‘लोड अनलोड, जाम भए कसरी लिने, सेफ हुने, ग्रिनेड फ्याँक्ने र आफैं घाइते भए उपचार गर्ने क्लास पनि दियो’ जितबहादुरले भने, ‘कहिल्यै बन्दुक नछोएको मान्छे । पहिलो दिन त छुन नै डर लाग्यो । गोली भर्दै हान्न सिकेँ । किनकि साँच्चैको फायर नै गर्न दिन्थ्यो ।’
दुई साताको तालिमले मात्रै जहाँ भन्यो त्यही निसाना लगाउन नसकिने अनुभव उनलाई पछि मात्र भयो । तर कमान्डर भने जसोतसो युद्धमा पठाउने हतारमा थिए । त्यो तालिम केन्द्रमा मात्रै ९ जना नेपाली थिए । ‘अलग अलग लटमा आएकाले उनीहरूलाई पनि अलग अलग गरी फ्रन्टलाइनमा पठाइँदो रहेछ, तालिम दिँदै पठाउँदै,’ उनले भने । तालिम सकेपछि उनीहरूलाई युक्रेनको बखमुत लगेर राखिएको थियो । उनी भर्ती भएको एक महिना पुगे पनि रेडजोनमा पहिलो दिन थियो, जितबहादुर युक्रेनको मिसाइल हमलामा परे । अहिले उपचाररत छन् ।
रुस–युक्रेन युद्धमा नेपालीको मृत्यु भइरहेका घटना बाहिरिन थालेपछि जितबहादुरलाई परिवारले फर्कन दबाब दिइरहेको छ । तर, उनले अहिलेसम्म आफू घाइते भएको विषय परिवारलाई बताएका छैनन्, त्यसैले यो समाचारमा पनि उनको नाम परिवर्तन गरिएको हो । ‘घरमा फोनमा कुरा हुन्छ, फर्कन धेरै दबाब छ । आजै भाग । भोलि नै भाग भनिरहेका छन् । अब आफू भने यस्तो अवस्थामा छु । तीन महिनाभित्र फर्किन्छु भनिरहेको छु, डिस्चार्ज भएपछि घर फर्किन्छु,’ उनी भन्छन्, ‘आफूले दुःख पाइरहेको छु । परिवालाई थप दुःखी कसरी बनाउने ?’
अंगभंग नै भएकाले घर फर्कने पाइने विश्वासमा छन् जितबहादुर । भन्छन्, ‘भाग्यले अंगभंग भए फर्केर आउने हो । नत्र मर्ने नै हो । कति जनाले आफन्त हराएको भन्दै मलाई फोटो पठाइरहेको छन् । डेढ दुई महिनाभन्दा बढी सम्पर्कमा नआएका मान्छे सकुशल होलान् भनेर कति परिवारले आशा गरेका छन्, उनीहरूलाई हामीले भन्न सक्ने केही छैन ।’