मुख्य समाचार
भारत र कतारबीच ७८ अर्ब डलर बराबरको ग्याँस खरिदबिक्री सम्झौता
भारत र कतारबीच ७८ अर्ब डलर बराबरको ग्याँस खरिदबिक्री सम्झौता

। भारत र कतारबीच लिक्विफाइड नेचुरल ग्याँस (एलएनजी) खरिदबिक्री सम्झौता भएको छ । यो खरिदबिक्री सम्झौता ७८ अर्ब डलर बराबरको छ । सम्झौता अनुसार भारतले कतारबाट २० वर्षसम्म अर्थात् सन् २०४८ सम्म एलएनजी ग्याँस किन्ने छ ।

यो प्राकृतिक ग्याँस बिजुली बाल्न, मल बनाउन र कम्प्रेस्ड नेचुरल ग्याँस (सीएनजी)मा बदल्न उपयोग गरिन्छ । पेट्रोल र डिजेलको तुलनामा प्राकृतिक ग्याँसलाई अधिक स्वच्छ विकल्प मानिन्छ । यो कच्चा तेलको तुलनामा सस्तो पनि छ ।

भारतको गोवामा जारी इण्डिया इनर्जी विक २०२४ को पहिलो दिनमै भारतमा सबैभन्दा धेरै एलएनजी आयात गर्ने कम्पनी पेट्रोनेट एलएनजी लिमिटेड (पीएलएल) र कतारको सरकारी कम्पनी कतार इन्र्जीका प्रतिनिधिहरुले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका छन् । मंगलबार भएको यो सम्झौताअनुसार कतारले भारतमा हरेक वर्ष ७.५ मिलियन टन ग्याँस निर्यात गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पेट्रोनेटका अनुसार यसअघि उसले कतारसँग सन् १९९९ मा एलएनजी खरिद गर्ने सम्झौता गरेको थियो । त्यो सम्झौताको अवधि सन् २०२८ सम्म छ । तर चार वर्ष बाँकी छँदै त्यसलाई लम्ब्याएर सन् २०४८ सम्म कायम गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीसीका अनुसार कतारले विश्वमै सबैभन्दा धेरै एलएनजी ग्याँस निर्यात गर्दछ । उसले हालै अमेरिकालाई पनि पछि पारेको छ । कतारले हरेक वर्ष ७७ एमटीपीए ग्याँस निकाल्छ । कतारले सन् २०२७ सम्म १२६ एमटीपीए पुर्याउन चाहेको छ, ताकि अमेरिका घुस्न खोजेको एशिया र युरोपको बजारमा आफ्नो पकड मजबुत बनाउन सकियोस् । त्यसैले भारत र कतारबीच भएको यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ ।

भारतले सन् २०२२÷२३ मा १९.८५ मिलियन टन एलएनजी आयात गरेको थियो । त्यसमध्ये ५४ प्रतिशत अर्थात् १०.७४ मिलियन टन कतारबाट आयात भएको रेकर्ड छ ।

भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता देश हो । उसले सन् २०७० सम्म कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ, जसमा प्राकृतिक ग्याँसको अहम भूमिका छ ।

सोही लक्ष्य अन्तर्गत भारतले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौता समेत गरेको छ ।

२०७६ सालमा नेपाल सरकारले भारतको गोरखपुरदेखि रुपन्देहीसम्म एलएनजी ग्याँस आपूर्तिका लागि पाइपलाइन बिच्छ्याइदिन प्रस्ताव गरेको थियो । २०७६ पुस २७ र २८ गते भारतको राजधानी नयाँदिल्लीमा भएको पेट्रोलियम तथा प्राकृतिक ग्याँससम्बन्धी ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले उक्त प्रस्ताव गरेको थियो । भारतीय पक्षले त्यसको विस्तृत प्रस्ताव माग गरेको थियो । तर त्यसमा केही प्रगति नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...