— युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ । रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो । त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले रुस लचिलो हुँदै क्षतिपूर्ति रकम नेपाल पठाउन सहमत भएको कान्तिपुरलाई बताए । ‘नेपाल सरकारले रुसस्थित दूतावासमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराउन रुससँग प्रस्ताव राखेको थियो, जसमा रुसले सहमति जनाएको छ,’ उनले भने, ‘यसले कम्तीमा मृतकका परिवार नै क्षतिपूर्तिका लागि मस्को धाउनुपर्ने समस्या हटेको छ ।’ अब रुसले मस्कोस्थित दूतावासलाई क्षतिपूर्ति रकम दिने र उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारका सदस्यले पाउने बताए । गैरकानुनी रूपमा भर्ती भएका नेपालीलाई फर्काउनेबारे भने अझै कुरा अघि बढ्न नसकेको उल्लेख गर्दै प्रवक्ता राईले क्षतिपूर्ति रकम पठाउने सम्बन्धमा मात्र रुसले सहमति जनाएको बताए ।
नेपालले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन र युद्धमा मारिएका नेपालीका परिवारलाई उचित क्षतिपूर्ति दिन कूटनीतिक नोट पठाएको थियो ।
रुस–युक्रेन युद्धमा मारिएका नेपालीको यकिन तथ्यांक हालसम्म रुस वा नेपाल सरकारबाट सार्वजनिक गरिएको छैन । मंसिरयता रेडजोनमा धेरै नेपाली खटिएको जानकारी आइरहँदा उनीहरूको यकिन अवस्था खुल्न नसकेको छैन । आफन्तको मृत्युबारे परिवारले आधिकारिक निकायबाट हालसम्म खबर पाउन सकेका छैनन् । मृतकका परिवारले न शव पाएका छन् न त क्षतिपूर्ति कहिले र कति पाउने भन्ने जानकारी पाएका छन् । रुसी–युक्रेन युद्धमा ज्यान गुमाउनेमध्ये हालसम्म १२ जना नेपालीको मात्र औपचारिक पुष्टि भएको छ ।
युद्धमा परी सम्पर्कविहीन र घाइते हुनेको विवरण नेपाल र रुस दुवैले सार्वजनिक गरेका छैनन् । रुसले मृत्यु प्रमाणपत्र उपलब्ध गराएपछि मात्रै परराष्ट्रले त्यसबारे सार्वजनिक गर्दै आइरहेको छ । काठमाडौंस्थित कन्सुलर विभागमा सम्पर्कविहीनको खोजीनिती तथा उद्धार गरिदिन भन्दै निवेदन दिने पीडित परिवारको संख्या दिनहुँ बढिरहेको छ ।
विभागमा एक सय ४० जनाका पीडित परिवारले आवेदन दिइसकेका छन् । परराष्ट्र मन्त्रालयले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनीहरूका परिवार कसैले पनि रुसी सेनाको नियमअनुसार क्षतिपूर्ति पाएका छैनन् । कतिपयका परिवारले काजकिरियासमेत गरिसक्दा पनि रुसी सरकारले भने अझसम्म मृत्यु प्रमाणपत्र जारी गरेको छैन ।
साथै, आफ्नो नियन्त्रणमा रहेका नेपालीलाई छाड्न पनि नेपाल सरकारले युक्रेनलाई अनुरोध गरेको छ । युक्रेनले भने आफ्नो नियन्त्रणमा रहेका नेपालीलाई सिधै नेपाल नपठाउने बताएको परराष्ट्रका प्रवक्ता राईले उल्लेख गरे । युक्रेनले युद्धबन्दी आदानप्रदान हुने समयमा मात्रै रुसलाई हस्तान्तरण गर्ने जानकारी नेपाललाई दिएको छ । रुसी सेनामा भर्ती भई युक्रेनी सेनाको कब्जामा रहेका बर्दियाका विवेक खत्री, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनबारे युक्रेनले जिम्मा लिइसकेको छैन । उसले काभ्रेका सिद्धार्थ ढकाल मात्र आफ्नो नियन्त्रणमा रहेको औपचारिक जानकारी एक महिनाअघि नेपाल सरकारलाई पठाएको परराष्ट्रले जनायो ।
युद्धमा मर्ने र घाइते हुनेको अवस्था दर्दनाक रहेको युद्धमा नै परी घाइते भई रुसमा उपचाररत एक नेपालीले कान्तिपुरसँग बताएका छन् । ‘युद्धग्रस्त क्षेत्रमा कसले कसको शव लिन जाने ? घाइते हुनेको नै उद्धार गर्न कठिन छ, शव ल्याउने वा पहिचान गर्ने अवस्था नै छैन,’ युद्ध क्षेत्रमा नै रहेका ती नेपालीले कान्तिपुरसँग भने, ‘लडाकुले आफूलाई दिइएको लकेट हरायो भने पहिचान गर्नसमेत सम्भव हुँदैन ।’ उनले आफू नै घाइते हुँदा पनि ७ घण्टापछि मात्रै उद्धार गरिएको बताउँदै थपे, ‘सँगै गएको कोही साथी फर्केको छ भने मात्रै उसले मृत्यु वा घाइते भएको सूचना उसका घरपरिवारलाई दिएका छन् । नत्र कसैले दिँदैन । पछिल्लो समय नेपालीको सवाल उठेपछि रुसले पनि सकभर सूचना गोप्य राख्न खोजेको जस्तो देखिन्छ ।’
युक्रेनको जापरियामा मारिएका गंगाजमुना गाउँपालिका–३ धादिङका ३७ वर्षीय पूर्णबहादुर गुरुङको परिवारले न शव पाए न क्षतिपूर्ति पाउने कुनै टुंगो नै लागेको छ । रुसले भने पूर्णबहादुरको निधनको साढे दुई महिना बितिसक्दा पनि अझै आधिकारिक खबर दिएको छैन । गत मंसिर १८ मा नै पूर्णबहादुर बारुदी सुरुङ (ल्यान्ड माइन) मा परेको त्यहींबाट बाँचेर आएका एक साथीले पूर्णबहादुरका दाजु श्यामबहादुरलाई भनेका रहेछन् । ‘भाइ युक्रेनको माइनमा परेर ज्यान गुमाएको दर्दनाक भिडियो देखें । त्यसपछि दाहसंस्कार गर्यौं,’ उनले भने, ‘तर भाइको मृत्युको खबर अहिलेसम्म न रुसले दिएको छ न त नेपाल सरकार नै केही बोल्छ । क्षतिपूर्ति त अझ परको कुरा ।’
१२ वर्षका छोरा र ६ वर्षकी छोरीलाई छाडेर सुखद भविष्यका लागि रुस पुगेको ४५ औं दिनमा नै पूर्णबहादुरको युक्रेनमा निधन भएको थियो । ‘ऊ दुई वर्ष साउदी अरबमा काम गरेर फर्केको थियो । सुरक्षा निकायमा काम नगरेको सामान्य नागरिक हो । अष्टमीको भोलिपल्ट रुसी सेनामा भर्ती हुन गयो । कुन एजेन्टले पठायो, पत्ता लागेको छैन,’ श्यामबहादुरले भने, ‘यतिबेला परिवार नै बिचल्ली हुन पुगेको छ ।’ ८ लाख रुपैयाँ खर्चेर रुस पुगेका पूर्णबहादुरको निधनपछि क्षतिपूर्ति आउने वा नआउनेबारेमा परिवारलाई कसैले जानकारी दिएका छैनन् ।
परराष्ट्र मन्त्रालयमार्फत मंसिर १८ मा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो । मन्त्रालयका अनुसार उक्त कूटनीतिक नोटका सम्बन्धमा रुस सरकारबाट हालसम्म कुनै पनि जवाफ आएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता गरी दुई पटक बोलाएर उक्त नोटबारे जानकारी गराएका थिए ।
साथै, युगान्डाको राजधानी कम्पालामा माघको पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिइविचसँग पनि नेपाली नागरिकलाई गैरकानुनी रूपमा भर्ना नगर्न, भर्ना गरिएकालाई नेपाल फर्काउन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका थिए ।
साउदले परिस्थिति बुझ्नका लागि आफूलाई मस्को भ्रमणको बाटो खोलिदिन पनि आग्रह गरेका थिए । तर रुसले क्षतिपूर्ति उपलब्ध गराउनेबाहेक अन्य विषयमा नेपाली पक्षलाई जवाफ दिएको छैन । रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने हालसम्म कुनै पनि आँकडा छैन । नेपालीलाई भर्ना के–कस्तो सम्झौताअनुरूप गरिएको हो भन्नेबारेमा पनि रुसले सार्वजनिक गरेको छैन ।