। रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ ।
सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।
४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो आसपासले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए ।
बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको सातौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले तीन अंक जोडेको हो ।
जितपछि २५ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमै छ । सेल्टा २५ खेलबाट २० अंकसहित १७औं स्थानमा छ ।
अर्को खेलमा एट्लेटिको मड्रिडले लस पलमसलाई ५-० ले पराजित गरेको छ ।