। हलिउड अभिनेत्री जेन्डायाले आगामी फिल्म ‘ड्युन २’ को लण्डन प्रिमियरमा रोबोट सुट पहिरन लगाउँदै सबैको ध्यान आकृष्ट गरेकी छन् । थिएरी मुग्लरले डिजाइन गरेको यो मेटालिक पहिरन उनलाई सुहाएको पनि थियो ।
उनको यो रेडकार्पेट लुक्स यतिबेला इन्टरनेटमा भाइरल बनिरहेको छ । अभिनेताद्वय तिमोथी चालमेट र अस्टिन बट्लरले पनि रेडकार्पेटमा फेसन स्टेटमेन्ट प्रस्तुत गरे । लण्डनको लेसिस्टर स्क्वायरमा आयोजित यो भव्य प्रिमियरमा फिल्मको सबै कास्ट एण्ड क्रिउको सहभागिता थियो ।
मार्च १ मा नेपालसहित विश्वव्यापी प्रदर्शन तयारीमा रहेको यो फिल्मले अहिले विभिन्न मुलुकमा विश्व प्रिमियरको आयोजना गरिरहेको छ । फ्यान फिल्मको दोस्रो श्रृंखला हेर्न अधैर्य छन् ।
‘ड्युन’को पहिलो भाग बक्स अफिसमा हिट भएको थियो । यो साइन्स फिक्सन फिल्मले अर्कान्सिस नामक एक काल्पनिक बलौटे ग्रहको कथा पेश गर्छ । उक्त ग्रहमा प्रभुत्व कायम गर्न हुने शक्तिको लडाइँ यो फिल्ममा समावेश छ ।