— रुस–युक्रेन युद्धमा मारिएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको रुसी सैन्य सम्मानकासाथ रुसको राजधानी मस्कोमा बिहीबार (३ फागुन ) अत्येष्टि गरिएको छ । उनी गत कार्तिक १८ गते मारिएका थिए ।
रुसी सेनाले परिवारको सहमति लिई मस्कोस्थित बालाशिखामा सैन्य सम्मानसहित अत्येष्टि गरेको हो । रुसी सेनाले अन्तिम सलामी दिनुअघि नेपाली दूतावासका द्वितीय सचिव शशिल घिमिरे र गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
कोभिड अघि नै दक्षिण कोरियामा जान रोजगार अनुमति प्रणाली (इपिएस)को भाषा परीक्षामा पास भइ बसेका राई गत कार्तिकमा अध्ययनको लागि भन्दै कन्सल्टेन्सीमार्फत् रुस पुगेका थिए । रुस पुगेर सेनामा भर्ती भएपछि देवानको परिवारसमक्ष अन्तिम पटक कार्तिक १७ मा फोनमा कुराकानी भएको थियो । त्यसपछि उनी मारिएको खबर परिवारले मंसिर १ मा पाएको थियो ।
परिवारले नेपाली दूतावासमा मस्कोमा नै अत्येष्टि गर्न अनुमति दिएपछि रुसले सैन्य सम्मानको साथ अत्येष्टि गरेको हो ।
‘रुस–युक्रेन युद्धमा मारिएकाहरुको शव रोस्तोभ शहरमा संकलन भइरहेको छ । त्यहाँ ल्याएपछि शव पहिचान गर्न डिएनए परीक्षण हुन्छ,’ एनआरएन, रुसका अध्यक्ष तिमल्सिनाले कान्तिपुरलाई भने, ‘शवलाई रुसभित्र जुनसुकै ठाँउमा पनि पुर्याएदिन्छ । देवानको शव रोस्तोभबाट मस्कोमा ल्याइएको हो ।’
उनका अनुसार परिवारले रुसबाट शव नेपाल लैजान सकिनेछ । ‘रुसी सेनाले रुसको जुनसुकै ठाँउसम्म शव लगिदिन्छ । यदि परिवारले नेपालमा नै ल्याउन इच्छुक भए अनुमति छ । तर, रुसबाट आफ्नो घरसम्म लैजाने खर्च परिवार आफैले ब्यहोर्नुपर्छ,’ उनले भने,‘यहाँबाट अफगानिस्तानमा भने शव गइरहेको छ ।’
एक महिना अगाडि आत्महत्या गरेका एक नेपालीको शवलाई एनआरएनले रकम संकलन गरी नेपाल पठाइदिएको थियो । त्यसरी शव पठाउन झन्डै पाँच लाख रुपैयाँ लागेको थियो । रुस–युक्रेन युद्धमा मारिएको शव ल्याउन लाग्ने खर्च ब्यहोर्न नेपाल सरकार तयार भइसकेको छैन ।
परिवारले पनि आर्थिक अवस्था नाजुक भएको भन्दै सरकारले नै ब्यहोर्नुपर्ने बताउँदै आएका छन् । कतिपय परिवारले शव आउन अनिश्चित भएपछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिसकेका छन् । कार्तिक २९ गते मारिएका इलाम नगरपालिका–९ का गंगाराज मोक्तानको पुषको पहिलो सातानै दाहसंस्कार गरिएको थियो ।
मंसिर १८ मा परराष्ट्र मन्त्रालयले मोक्तानको मृत्यु भएको औपचारिक पुष्टि गरिदिएको थियो । ‘शव ल्याउन नगरपालिकालाई भन्यौँ । परराष्ट्रमा पनि धायौं । अरु नेता र संसादसँग पनि हारगुहार माग्यौँ । कतैबाट केही सीप लाग्ने अवस्था नदेखेपछि पुस पहिलो साता काजकिरिया गर्नुपर्यो,’ मृतककी भाउजू याङ्गिला शेर्पाले भनिन् ।
एनआरएन अध्यक्ष तिमल्सिनाले रुसी सरकारले शव पहिचान गरिसकेको अवस्थामा परिवारले शव नेपाल ल्याउन अनुमति रहेको बताए । ‘युद्धमा मारिएका धेरैको शव सग्लो छैन,’ उनले भने ।
रुसी सेनाको अग्र भागमा खटेर क्याम्पमा आएर बसेका नेपालीहरुका अनुसार रेड जोनमा मारिएकाहरुका शव संकलन गर्न निकै कठिन र चुनौती रहेको बताएका छन् । ‘युद्धमा मारिएका साथीहरुको तुरुन्तै शव उठाउने काम हुदैन । कुनै कुनै ठाँउमा त महिनौँ दिनसम्म पनि लाग्छ । हामी एकपटक शव उठाउने काम पाएका थियौं । कतिपय साथीहरुको कपडा र हड्डीमात्रै लिएर आयौं । यस्तो शव पहिचान गर्न निकै कठिन छ । कसको भनेर तुरुन्तै पहिचान हुदैन,’ ती नेपालीको भनाई थियो, ‘यो युद्धको सबैभन्दा कठिन काम हो ।’
परराष्ट्र मन्त्रालयले रुसी सेनामा मृत्यु हुनेको सख्या १२ जना मात्रै घोषणा गरेको छ । उनीहरुको परिवारले पनि शव पाएको छैन । १२ जनामध्ये देवान राई र गोरखाका सन्दिप थपोलियाको शवलाई औपचारिक रुपमा अत्येष्टि गरिएको खबर परिवारले पाएका छन् । परराष्ट्र मन्त्रालयले पुष ४ गतेपछि रुस–युक्रेनको युद्धमा मारिएका नेपालीको विवरण सार्वजनिक गरेको छैन । सेनामा भर्ती भइ सर्म्पकबिहीन र उद्धार गरि पाउ भन्दै निवेदन दिने परिवारको सख्या भने एकसय ५० नाघिसकेको छ ।
नेपाल सरकार भने रुसले आफ्नै खर्चमा शव पठाउनुपर्ने अडानमा छ ।